फेसबुक चलाउने ड्राइभरको मनोरञ्जनात्मक कथा । - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

फेसबुक चलाउने ड्राइभरको मनोरञ्जनात्मक कथा ।



कृष्ण अर्याल 

(यस कथाका घटना र पात्रहरू काल्पनिक हुन्। कसैको वास्तविक जीवन सँग मेल खान गएमा खुच्चीङ्ग खुच्चीङ्ग !!)

आजको युग भनेको फेसबुकको युग हो। आजको जमानामा फेसबुक नहुने मान्छे भेटाउनु भनेको डाइनोसर भेटाए सरह नै होला। किनकि फेसबुक नचलाउने जन्तु भेटाउनु लगभग असम्भव नै भइसक्यो। यो फेसबुक भन्ने चीज पनि फेरी खतरै रैछ भन्या! चलाउनलाई लाइसेन्स पनि नचाइने। उमेर पनि नचाइने!! बच्चा-बच्चा देखि लिएर बुढा-बाङ्गा र भोका-नाङ्गा सम्म सबैले चलाउन मिल्ने!! जहाँ-जतिबेला मन लाग्यो त्यति बेला चलाउन सकिने!! जो सँग मन लाग्यो, त्यसै सँग बोल्न मिल्ने!! झगडा होस् या रमाइलो, सबै एकैठाउँ गर्न मिल्ने!! साँच्चै नै गजबको चीज रैछ है यो फेसबुक!!

आज फेसबुक नहुदो हो त कतिका लभ नै पर्थेनन् होला! कतिका girlfriend, boyfriend नै हुन्थेनन् होला!! कतिको त बिहे नै हुन्थेन होला! कति मान्छेहरू त बिरक्त भएर सन्यासी नै बनीसक्थे होलान्! जे होस् फेसबुककै कारणले आज प्रायको घरबार बसेको छ। तर कसै-कसैको भने फेसबुककै कारणले उठीबास पनि भएको छ।

मेरै आफ्नो अनुभव सुनाउनु पर्दा मलाई यो फेसबुक भन्ने जन्तुको बारेमा कलेज पढ्दै गर्दा बल्ल थाहा भएको हो। म कलेज पढ्ने विद्यार्थी हुँदा, मेरा साथीहरू भने फेसबुकका प्रोफेसर नै भइसकेका थिए। उनीहरूले फेसबुक चलाएको देखेर मलाई पनि मनमा फेसबुक चलाउने हुट्हुटी जागेर आउथ्यो! त्यसैले एउटा साथीलाई भनेर मैले फेसबुक बनाए। कहिल्यै book नखोल्ने मैले, Face-book भने खोलीछाडे! तर चलाउने ढङ्ग भने थिएन। मात्र मनमा रङ्ग थियो। त्यसैले साथीसँग बसेर फेसबुकको tution class समेत लिन थाले। मलाई फेसबुकमा Distinction ल्याउने बनाउन उ निकै कस्सीन्थ्यो र आखिर उसले मलाई फेसबुक चलाउन सक्ने ड्राइभर बनाएरै छाड्यो।

त्यति बेला फेसबुक चलाउनलाई अहिलेका जस्ता मसार्ने मोबाइल (मतलब android फोन) कहाँ पाइन्थे र? मात्र औंला धसार्ने मोबाइल पाइन्थे। त्यसैमा फेसबुक चलाउनु पर्थ्यो। त्यही पनि म सँग त अझ त्यति बेला एकदमै चलेको Nokia 3500 model को मोबाइल फोन थियो। त्यो पनि झुक्कीएर एस्.एल्.सी पास भएकोले बाउँले दिएका थिए। कलेज पढ्दै गर्दा मैले त्यसैमा फेसबुक चलाउथे। बिस्तारै बिस्तारै मलाई फेसबुकको लत लाग्यो र बाहिरी दुनियासँग मेरो दूरी बढ्न थाल्यो।

बाहिर भन्दा फेसबुकमा मेरा धेरै साथीहरू हुन थाले। तिनैसँग म घन्टौं chat मा झुन्डीएर बस्न थाले। यसैबिच एउटी परीसँग त मेरो फेसबुकमा माया-पिरती नै बस्यो। मैले उनलाई “i love u” भनेर message पठाउथे। उनले पनि मलाई “i love u 2” भनेर reply गर्थीन्। मैले अझ मस्कीदै “i love u 2, 3, 4, 5, 6…..” भनेर message पठाउथे। प्राय हामीहरू यसरी नै कुरा गरेर समय बिताउथ्यौं। उ जस्ता परीहरू त मेरो फेसबुकमा अनगिन्ती नै भेटीन्थे। उनीहरू सबैले मेरा हरेक post मा like र comments गरेकै हुन्थे। तर मलाई भने तिनीहरूको postमा comments गर्न आउदैनथ्यो। धन्न त्यही Like भए पनि गरीदिन्थे। र पनि उनीहरू खुसी नै हुन्थे।

यसरी नै फेसबुकमा मेरा दिनहरू बित्दै गए। म सँग बोल्नेहरू बिस्तारै बिस्तारै अरू सँग बढी बोल्न थाले। मेरा परीहरूलाई अरूकै परेवाहरू आएर उडाउन थाले। मेरा फेसबुक मित्रहरूको जनसङ्ख्या पनि NEPSE परीसूचक घटे जसरी घट्न थाल्यो। कसैले unfriend त, कसैले block हान्न थाले। हिजो-भर्खर फेसबुकमा मेरो फोटो देखेर Like गर्नेहरू, आज मलाई नै Like गर्न छाडे। यतिसम्मको हीनताबोध पछि त मलाई पनि फेसबुक देखि विरक्त लागिसकेको थियो र आखिर मैले Facebook को Face कहिल्यै नहेर्ने गरी deactivate गरीदिए र मात्र Book हेर्न थाले। सायद त्यसैले होला आज म त्यही ‘Book’ पढाउने मास्टर भएर विद्यार्थीहरूको नखरा माथि ‘Comments’ र प्रगति माथि ‘Like’ गर्ने भएको छु।..