"काठमाडौंमा १४ जनाको मृत्यु भएको हल्ला के हो ?" - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

“काठमाडौंमा १४ जनाको मृत्यु भएको हल्ला के हो ?”



एकाबिहानै आएको एउटा फोन कलले मथिङ्गल हल्लिएको छ । यस्तो समाचार कसले फैलायो होला भनेर मनमा सामान्य पराकम्प पनि आएकै छ ।

बिहानै गाउँबाट फोन आयो । कल्पना नै नगरेको प्रश्नले निन्द्रा नै खलबलाउने गरी झट्का हान्यो । “काठमाडौंमा कोरोनाको सङ्क्रमणले १४ जनाको मृत्यु भएको कुरा के हो ?” उनले सोधे । उनको प्रश्न सिद्धिने बित्तिकै मैले प्रतिप्रश्न गरें कहाँ ? कहिले ? कसरी ?

हतास भएर सुस्केरा हाल्दै मैले उनैलाई प्रतिप्रश्न गरेपछि उनले फोन काटे, सायद अर्कै व्यक्तिलाई सोध्न उनलाई हतार भएर पनि हुनसक्छ । केहि समय पश्चात उनलाई फोन गर्दा निकैबेर उनको फोन ब्यस्त थियो । मैले जानकारी हुनसक्ने सबैतिर फोन घुमाएँ कसैले यसको उत्तर भने दिन सकेनन ।

करिव १ घण्टा केहि व्यक्तिहरूलाई फोनमा सोध्दै बित्यो । सबैले जानकारी नभएको बताएपनि मलाई उनले सोधेको प्रश्नको झट्काले हान्न भने छाडेको थिएन । एकैछिन पनि मन सान्त हुन नसकेपछि मैले हल्ला कहाँबाट फैलियो भन्ने कुरा खोज्न गाउँबाट फोन गर्ने व्यक्तिलाई नै फोन गरें । यो पटक भने फोन लाग्यो, उनले फोन उठाए निकै बेर उनीसंग कुरा गर्दा हल्लाको कुनै स्रोत भने भेटिएन । तर, काठमाडौं उपत्यका बाहिर यो हल्ला निकै फैलिएको उनले बुझियो ।

गाउँभरी हल्ला फ़ैलिएपछि छुट्टै सन्त्रास फैलिएको उनले बताए । एकातिर विदेशमा छोराछोरी हुनेहरूको गाउँमा चिन्ताले बेहाल छ । अर्कातिर नेपालकै सहरमा आफन्त हुनेहरू यस्तो हल्लाले आक्रान्त बनेको उनले सुनाए ।

उनि गाउँको चल्ताफुर्ता भएकाले उनलाई सबैले यस्तो भयो रे भन्दै सुनाएको उनले बताए । गाउँमा सबैले यो हल्ला सुनेपछि आफ्ना आफन्त र सन्तानलाई काठमाडौंमा १४ जनाको मृत्यु भएको भन्दै गाउँ फर्कन आग्रह गरिरहेको पनि उनले बताए ।

उनि निकै हतास थिए, मैले यो हल्ला मिथ्या भएको भनेर उनलाई निकै सम्झाउने प्रयास पनि गरें । अन्य देशहरूमा जस्तो हाम्रो देशमा सुचना नलुक्ने हुँदा यो सबैलाई अत्याउन फैलाइएको हल्ला भएको उनलाई बताएँ । त्यतिमात्र होइन शहरका मान्छेलाई गाउँमा आउन नदिन पनि यस्तो हल्ला फैलाएको हुनसक्ने उनलाई बताएँ ।

उनीसंग निकैबेर फोनमा भलाकुसारी गरेपछि मलाई भने यस्तो हल्ला फैलाउनेप्रति मनमा निकै घृणा पलायो ।

गाउँमा युवाहरू छैनन्, बुढा आमाबुवाहरूलाई यस्तो हल्ला फैलाएर आतंकित बनाउने त्यो व्यक्तिको नियत के होला ? कि सरकारले केहि सुचना लुकाएकै होला ?

फाइल तस्बिर