देशमा आर्थिक संकट हुँदा सांसदहरूले लकडाउनमै लिए लाखौँ फजुल भत्ता - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

देशमा आर्थिक संकट हुँदा सांसदहरूले लकडाउनमै लिए लाखौँ फजुल भत्ता



काठमाडौँ- अर्थमन्त्री डा. युवराज खतिवडाले बताएअनुसार देश आर्थिक रूपमा टाट पल्टिरहेका बेला संघीय सांसदहरुले भने राज्यबाट लाखौंको यातायात भत्ता र अन्य भत्ता लिएको खुलेको छ ।

लकडाउनको समयमा सवारीसाधन नचले पनि संघीय सांसदहरुले बैठकमा सहभागी हुँदा यातायात भत्ता लिएका छन् । सरकारले चैत ११ देखि मुलुकभर लकडाउन घोषणा गरेपछि यातायात ठप्प थियो । संसद्को छैटौं अधिवेशन वैशाख २६ मा सुरु भएको थियो । यो समयमा भाडाका सवारी साधन खुलेका थिएनन । त्यतिबेला हुने संसद अधिवेशनमा आउन जानको लागि संसद् सचिवालयले सांसदहरुका लागि गाडी व्यवस्था गरेको थियो ।

बैठकमा सहभागी भएबापत एक हजार र यातायात भत्ताबापत एक हजार रुपैयाँका दरले अरू बेलाकै जसरी सांसदले भत्ता लिएका छन् । लकडाउनका बेला संसद् बैठक चलिरहेकाले सचिवालयले सांसद ओसार्न चारवटा स्कारपियो गाडी व्यवस्था गरेको छ । सचिवालयका उच्च पदस्थ कर्मचारीले पनि बाटोमा पर्ने सांसदलाई संसद् भवनसम्म पुर्‍याउने गरेका छन् ।

संसद् सचिवालय सिंहरदबारबाट संसद् भवन बानेश्वरसम्म बससमेत सञ्चालन गरिएको छ । धेरैजसो सांसद आफ्नै गाडीमा र गाडी नहुने केही सांसद अरूको गाडीमा चढेरसमेत संसद् भवन पुगिरहेका छन् । तर संसद् सचिवालयले भने अनैतिक रूपमा यातायात खर्च दिइरहेको छ ।

कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामा स्रोत व्यवस्थापन गर्न सरकारी कर्मचारीको भत्ता कटौती भइसकेको छ । तर सांसदहरुले चैतमा बैठकसमेत नहुँदा पूरा तलबसँगै र अरू भत्ता पनि लिइसकेका छन् ।

सांसदले मासिक तलबबापत ६४ हजार रुपैयाँ पाउँछन् । हरेक बैठक (समितिको समेत) मा उपस्थित भएबापत गाडी भाडा र बैठक भत्ता दिइन्छ । सचिवालयका एक कर्मचारीले भने, ‘कारोनाकै कारण कर्मचारीले पाउने भत्ता काटिएको छ । सांसदहरुले भने गाडी नचल्दा पनि गाडी भाडा लिइरहेका छन् ।’

स्रोतका अनुसार वैशाखमा बैठक र यातायात भत्ताबापत करिब ५० लाख रुपैयाँ भुक्तानी भएको छ । यो रकम चैत, वैशाखको संसद् बैठक सहभागी सांसदको हो । संसद् बैठकमा सहभागी सांसदलाई गाडी भाडाबापत चैत र वैशाखको मात्रै करिब १५ लाख रुपैयाँ भुक्तानी गरिएको छ । राष्ट्रिय सभा बैठक चैत र वैशाखमा ४–४ दिन चलेको थियो । जसका लागि सांसदलाई ४ लाख रुपैयाँभन्दा बढी यातायात भत्ता दिइएको छ ।

प्रतिनिधिसभा बैठक वैशाखमा ५ दिन भएको थियो । प्रतिनिधिसभाका सांसदलाई यातायात भत्ता करिब ११ लाख रुपैयाँ बै‌ंक खातामा पठाइएको छ । भत्ता लिनेमा ३१ जना पदाधिकारीबाहेक सबैजसो सांसद छन् । सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष संसदीय समितिका सभापति, विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतकलगायत ३१ पदाधिकारीका लागि भने संसद् सचिवालयले गाडी सुविधा दिइएको छ ।