फलानो बिक !! - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

फलानो बिक !!



-हेमन्त गिरी

फोटोग्राफरले
‘फ्यान्टास्टिक फोकस’ भेट्ने दृश्य हुँ म !
पत्रकारले
गतिलो ‘स्टोरी’ भेट्ने स्थान पनि मै हुँ !
कथाकारले
गज्जबको ‘प्लट’ भेट्ने प्रमाण हुँ म !
कविले
लजावाब विम्ब भेट्ने प्रतिमा पनि मै हुँ !

तपाईंलाई लाग्ला-
म कलात्मक मूर्ति हुँ कुनै मूर्तिकारको
म अलौकिक कृति हुँ कुनै कलाकरको
म सबसे सुन्दर सृजना हुँ प्रकृतिको
म अनन्त तिर्सना हुँ पारखीको
म….
आकाश हुँ-इन्द्रेणी हुँ
चरा हुँ-नदी हुँ
समय हुँ-पर्व हुँ
साथी हुँ-खुसी हुँ
फूल हुँ-प्रेम हुँ
आस्था हुँ-ईश्वर हुँ !
………….
तर पर्खिनूस्,
म केही हैन,
म कैलै केही हुनै सक्दिन !
तपाईंको सभ्य समाजमा
म मान्छे पनि हैन !
मेरो परिचय:
नाम- फलानो बिक
उमेर- आजन्म
ठेगाना- समाज बाहिर
कसुर- प्रेम/अधिकार
नियति- लाश


✍️हेमन्त गिरी,जापान