सैनामैना मेयरका आगामी पाँच वर्ष: यस्ता छन् मुख्य पाँच योजना - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

सैनामैना मेयरका आगामी पाँच वर्ष: यस्ता छन् मुख्य पाँच योजना



रुपन्देहीको सैनामैना नगरपालिकाका नवनिर्वाचित मेयर फणेन्द्र शर्मा वाग्ले अहिले बिहानै घरबाट निस्किन्छन्, ढिला घर फर्किन्छन् । सकेसम्म स्थानीयको घरमै पुगेर समस्या बुझ्ने र छिटो समाधान खोज्ने अहिले उनको साँझ बिहानको रुटिन बनेको छ । सैनामैनाको मेयरमा निर्वाचित भएपछि उनले पहिलो निर्णय नै अचम्मको गरे । जनताले सहज सेवा पाउने भन्दै तीन तलामाथि भएको सुबिधासम्पन्न मेयरको कार्यकक्ष छोडेर भुइँतलामा मेयरको कार्यकक्ष बनाउने निर्णय गरे ।

अहिले मेयर शर्मा भुइँतलाको एउटा कोठामा कार्यकक्ष बनाएर बसेका छन् । सेवाग्राहीले सहज भेट्न पाउने र मज्जाले कुरा गर्न मिल्ने वातावरण उनले बनाएका छन् । लामो समय नेपाली कांग्रेसको राजनीति गरेका वाग्ले स्थानीयका वास्तविक समस्याबारे जानकार पनि छन् ।

उनकै कार्यकक्षमा भएको भेटमा शर्माले नगरपालिकाको पाँच वर्षे योजनामा निम्न आय भएका स्थानीयको जीवनस्तर सुधार्ने आफ्नो मुख्य मुद्दा हुने भन्दै पाँच वर्षे योजना सुनाए । स्थानीय तहको महत्व बुझेपछि जनताले आफूलाई निर्वाचित गराएको उनले बताए । उनले अहिले जनताले आफ्नो जनप्रतिनिधि समस्या बुझ्नेखालको होस् भन्ने जनताको चाहना रहेको बताए ।

जनताले जिताएको प्रतिनिधि शासक बन्न नहुने मेयर शर्माको तर्क छ । स्थानीय तहमा जनताका खास समस्या समाधान हुन नसकेको उनको दाबी छ । शिक्षा, स्वास्थ्यकै गुणस्तर सुधार नभएकाले जनताले आधारभूत कुरामै सास्ती पाएको उनले बताए ।

उनले बताएअनुसार आगामी पाँच वर्षका लागि जनतालाई प्रत्यक्ष प्रभाव पार्ने र दीर्घकालका लागि समाजलाई फाइदा पुग्ने कामलाई आफूले प्रार्थमिकतामा राख्ने बताए । ‘शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पर्यटन जस्ता आधारभूत कुराहरूमै जनताले सास्ती भोग्नुपरेको छ । सबैभन्दा पहिला हामीले जनताका आधारभूत कुराहरूको गुणस्तरीय विकाश गर्नुपर्ने हुन्छ, त्यससँगसँगै पूर्वाधार विकाश र दिर्घकालिन योजनामा काम गर्नुपर्ने हुन्छ । जनताले राम्रो शिक्षा र राम्रो उपचारमै दुख पाएभने पालिकाले ठूलाठूला कुरा गरेको सुहाउन्न ।’

के छन् पाँच वर्षे मुख्य योजना ?

आफू निर्वाचित भएपछि उनले रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलगायतका क्षेत्रमा ठूलो परिवर्तन र गुणस्तर सुधारको आवस्यकता रहेको भन्दै त्यसमाथि अध्ययन र परामर्श गरिरहेको बताएका छन् । रोजगारी र स्वरोजगारीको सवालमा स्थानीय तहले ल्याउन सक्ने योजना बनाइरहेको उनले बताएका छन् ।

‘अहिलेको परिस्थितिमा हामीले ब्यापक रोजगारी सिर्जना कसरी गर्न सकिन्छ भन्ने विषयमा सोच्न जरुरी छ । सिर्जनशील बनेर यसका समाधान खोज्नुपर्ने समय आइसकेको छ । हाम्रा स्रोत साधनले के गर्न सम्भव हुन्छ त्यसको अध्ययन गर्नुपर्ने छ ।’ उनले भने । त्यतिमात्रै होइन उनले अब हरेक स्थानीय तहले रोजगारीको विषयमा सोच्नुपर्ने र त्यस्ता क्षेत्रमा अध्ययन गर्नुपर्ने बताए ।

रोजगारी सिर्जनाको काममा स्थानीय तह आफै र निजि क्षेत्रसंगको सहकार्यमा ठूलो परिवर्तन गर्न सकिने उनी बताउँछन् । उनले स्वरोजगार निर्माणको क्षेत्रमा पनि आफू लागि पर्ने बताए । त्यसका लागि योजना बनिरहेको उनले बताए ।

त्यस्तै कृषिको क्षेत्रमा पनि यहाँ ठूलो सम्भावना रहेको उनको दाबी छ । सैनामैनामा उत्पादन हुने बाली र कृषि उपजमा पालिका आत्मनिर्भर बन्नुपर्ने र किसानले उत्पादन गरेका उपज बिक्रि गर्न नगरपालिकाले सहयोग गर्नुपर्ने उनको तर्क छ । उनले आफ्नो कार्यकालमा कृषकका लागि राम्रै योजना ल्याउने बताए । वाग्लेका अनुसार उनले कृषकका लागि अनुदानमै नयाँपन ल्याउने तयारी थालेका छन् । कृषि र किसानको प्रवर्दन र प्रोत्साहनका लागि उत्पादनको आधारमा अनुदान दिने उनको तयारी छ ।

उनले योजना सुनाउँदै भने, ‘कृषिमा आधुनिकीकरण र उत्पादनपछि अनुदान हाम्रो मुख्य प्रार्थमिकतामा छ । यसका लागि हामी अध्ययनमा छौँ । यो कृषिमा एउटा क्रान्ति नै हुनेछ । खासमा उत्पदानका आधारमा अनुदान दिने हो भने कृषकका लागि त्यसभन्दा उत्तम प्रोत्साहन अरू केहि हुँदैन ।‘

शिक्षित समाज निर्माणका लागि शिक्षा गुणस्तरीय बनाउन जरुरी रहेको भन्दै वाग्लेले शिक्षामा पनि केहि नयाँ प्रयोग र सार्वजनिक र सामुदायीक विद्यालयमा परिवर्तन गर्न आवस्यक रहेको बताए । संसारका कैयौँ मुलुकमा शिक्षामा ठूलो परिवर्तन भएको भन्दै उनले त्यसमा आफू लागिपर्ने बताए । ‘हामीले पनि अब नयाँ प्राक्टिसमा जानुपर्छ, नयाँ तरिकाले नसोच्ने हो भने शिक्षाको स्तर सुध्रिन सक्दैन’, उनले भने ।

पर्यटनको क्षेत्रमा पनि सैनामैनामा धेरै ठुलाठुला सम्भावना रहेकाले आफ्नो कार्यकालमा पर्यटनको राम्रो विकाश गर्ने उनको योजना सुनाए । ‘यो आफैमा पनि धार्मिक, सांस्कृतिक र पुरातात्विक स्थल हो, हाम्रो नगरसँग बुद्धदेखि मन्जुश्रीसम्म जोडिएका छन्, त्यसमाथि लुम्बिनीसँग निकै नजिकको दुरीमा भएकाले धार्मिक, सांस्कृतिक र पुरातात्विक स्थलको संरक्षण गर्दै पर्यटकलाई आकर्षण गर सकिन्छ । लुम्बिनीमा आउने पर्यटकलाई यहाँ ल्याएर घुमाउने वातावरण बनाउन जरुरी भएकाले मेरो कार्यकालमा पर्यटन प्रवर्दनका क्षेत्रमा काम गर्ने योजना बनेका छन् ।‘, उनले भने ।

आफ्नो कार्यकालमा सैनामैनामा स्वास्थ्यको क्षेत्रमा पनि आमूल परिवर्तन आउने योजना वाग्लेले सुनाए । ट्रमा सेन्टर निर्माणदेखि प्राकृतिक उपचार र सर्वसुलभ स्वास्थ्य सेवासम्मका योजना सुनाउँदै वाग्लेले भने,’जनताको स्वास्थ्य सबैभन्दा ठुलो कुरा हो, हाम्रो नगर कति समृद्ध बन्ने भन्ने कुरा जनताको स्वास्थ्यसँग पनि जोडिएको हुनाले सर्वसुलभ स्वास्थ्य सेवा जनताका लागि अत्यावस्यक कुरा हो ।‘ कतिपय महामारीको तयारीसँगै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकाश र सर्वसुलभ स्वास्थ्य सेवा आफ्नो मुख्य काम हुने उनले बताए ।

यसका अलावा पूर्वाधार निर्माण र दिर्घकालिन योजनामा पनि संगसंगै काम हुने उनले बताए । खेलकुद, सडक, खानेपानी लागायत विज्ञान प्रविधिको क्षेत्रमा पनि लगातार काम हुने वाग्लेले बताए ।

मेयर वाग्लेले आफू नगरका समस्या समाधानका लागि ‘डे वान’ देखिनै लागिपरेको हुनाले आफू शासक नबन्ने प्रण गरेका छन् ।