आज बुवाको मुख हेर्ने दिन ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आज बुवाको मुख हेर्ने दिन !



काठमाडौँ,  भदौ ५ गते ।

जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले सोमबार बाबुको मुख हेरी भाद्र कृष्ण औँसी मनाउँदैछन् । स्वास्थ अनुकूलको मिठाइ, फलाहार, वस्त्र तथा सक्नेले मणि माणिक्य प्रदान गरेर बाबुको अनुहार हेर्ने गरिन्छ । दिवङ्गत पिताप्रति पनि यसै दिन उत्तरवाहिनी गोकर्णेश्वरमा श्राद्ध तर्पण दान आदि गरेर बाबुको योगदानको स्मृति गर्ने प्रचलन छ ।

देवघाट, स्वर्गद्धारी, विन्ध्यवासिनी, रुरु क्षेत्र लगायतका तीर्थस्थल जान सक्नेले यसै स्थानमा र नसक्नेले आफूलाई पायक पर्ने देवस्थल, त्रिवेणी, दोभान र पवित्र घाटमा पितृप्रति पिण्डदान गर्ने प्रचलन छ । यसै सिलसिलामा बाबु हुने र नहुने दुवैले आइतबार बिहानै स्नान गरी चोखो रहेर एकछाके रहे । यसै दिन पशुपतिस्थित राजराजेश्वरीघाटमा रहेको बिराटेश्वरमा दर्शन गर्ने चलन छ ।

यस दिनमा घरघरमा कुश भित्र्याएर कुशको अर्चना गर्ने गरिन्छ । कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिएको छ । भगवान् इन्द्रले स्वर्गबाट कुश, तुलसी र शालिग्राम पठाएको भन्ने कथन छ ।

वर्षका सबै औँसी पितृको रहे पनि सबै औँशीमा पितृको कार्य गर्न नसक्नेले यो कुशे औँसीका दिन भने टुटाउन नहुने ज्योतिषीय मान्यता रहेको ज्योतिष डा. सुनिल सिटौलाले बताउनुभयो । पितृ देवो भवः भनेर पितृलाई देवता समान मानिएको बताउँदै देवताले दिए पनि पितृ अप्रशन्न हुँदा ती खोसिन्छन् भन्ने मान्तयता रहेको उहाँले बताउनुभयो ।