आरएसएसदेखि सुप्रिमोसम्म : नरेन्द्र मोदी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आरएसएसदेखि सुप्रिमोसम्म : नरेन्द्र मोदी



– कुमुद अधिकारी

प्रारम्भिक जीवन

नरेन्द्र दामोदरदास मोदी उर्फ नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा गुजरात राज्यको वडनगरको एउटा तेली परिवारमा भएको थियो। उनी दामोदरदास मूलचन्द मोदीका छ छोरामध्ये साहिँला छोरा थिए। बालापनमा मोदीले आफ्नो बुबालाई वडनगर रेलवे स्टेसनमा चियापसलमा काम सघाए र पछि बस स्टेसनका छेउमा दाजुसँग मिलेर आफ्नै चिया पसल चलाए। हाइ स्कुलको शिक्षा पूरा गरेपछि उनको बिहे जसोदाबेन चिमनलालसँग भयो। जसोदाबेनलाई उनले त्यागे र दसकौँ पछि मात्र यस कुराको सार्वजानिक स्वीकारोक्ति गरे। जसोदाबेनलाई छोडेपछि मोदीले दुई वर्षसम्म भारतका विभिन्न स्थानहरूको भ्रमण गरे र गुजरात फर्किए। आठ वर्षको उमेरमा उनी आरएसएस(राष्ट्रिय स्वयम्‌सेवक सङ्घ) भर्ना भएका थिए। पछि गएर १९७१ मा आरएसएसको पूर्णकालीन कारिन्दा बने। १९७५ भारतमा सङ्कटकाल लागू हुँदा उनले भूमिगत हुनुपऱ्यो। आरएसएसले उनलाई बीजेपीमा १९८५ मा ल्यायो। उनी सो पार्टीका विभिन्न पद हुँदै २००१ मा महासचिव(जनरल सेक्रेटरी)को पदमा पुगे।

शिक्षा

जसोदाबेनलाई छोडेपछि दुई वर्षसम्म मोदीले घुमन्ते भएर जीवन बिताए। यस अवधिमा उनले उत्तर र उत्तरपूर्वी भारतको भ्रमण गरे। यद्यपि उनी कहाँकहाँ गए भन्ने कुराको यथार्थ विवरण भने छैन। उनले कोलकाता बेलुर मठस्थित स्वामी विवेकानन्दको आश्रममा गएको त्यसपछि अलमोडास्थित अद्वैत आश्रम गएको र राजकोटको रामकृष्ण मिसनमा गएको उल्लेख गरेका छन्। आफ्नो जीवनमा विवेकानन्दको ठूलो प्रभाव परेको उनको भनाइ छ।  १९६८ को सुरुमा उनी बेलुर मठ गएका थिए तर उनलाई त्यहाँ अस्वीकार गरियो त्यसपछि उनी सिलिगुडी हुँदै आसामतिर लागे। उनी अलमोडाको रामकृष्ण आश्रममा पुग्दा उनलाई त्यहाँ पनि अस्वीकार गरियो र अन्तत उनी दिल्ली र राजस्थान हुँदै १९६८-६९ मा गुजरात फर्किए।  १९६० को अन्त्यमा र १९७० को सुरुमा मोदी केही समयका लागि वडनगर गए र त्यसपछि अहमदावादतर्फ गए। त्यहाँ गुजरात राज्य परिवहन निगमको क्यान्टिनमा बसे जुन उनको काकाले चलाएका थिए।

१९७१ को भारत पाकिस्तान युद्धपछि, उनले काकासँग काम गर्न छोडे र आरएसएसका पूर्णकालीन प्रचारक भए। आरएसएसमा उनका वरिष्ठ इनामदार थिए जस अन्तर्गत रहेर मोदीले काम गर्नु पर्थ्यो र जससँगको उनको सम्बन्ध नवीकरण भएको थियो।  युद्ध हुनुभन्दा केही अघि दिल्लीको केन्द्रीय सरकारविरूद्ध हिंसात्मक आन्दोलनमा उनी उत्रिएका थिए, जसका लागि उनलाई गिरफ्तार गरियो। मोदीले इमानदारलाई आफ्नो मेन्टर बनाउनुको मुख्य कारण यही कारण मानिन्छ। धेरै वर्षपछि २००१ मा प्रकाशित भएको इमानदारको जीवनीका उनी सहलेखक बने।

१९७८ मा मोदीले दिल्ली विश्वविद्यालयको स्कुल अफ ओपन लर्निङबाट राजनीतिशास्त्रमा स्नातकको उपाधि हासिल गरे।  उनी तेस्रो श्रेणीमा पास भएका थिए। पाँच वर्षपछि १९८३ मा उनले राजनीतिशास्त्र मै स्नातकोत्तर गरे तर गुजरात विश्वविद्यालयको दूरशिक्षामार्फत।

प्रारम्भिक राजनीतिक जीवन

१९७५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा सङ्कटकाल लागू गरिन्। यस अवधिमा उनका विरोधी नेताहरूलाई जेलमा कोचियो र कैयन् प्रतिपक्षी दलहरूमाथि प्रतिबन्ध लगाइयो। यस बेला मोदीलाई “गुजरात लोक सङ्घर्ष समिति” को महासचिव नियुक्त गरियो। यो समितिले गुजरातमा सङ्कटकालको विरोध संयोजन गर्थ्यो। त्यसको केही दिनपछि आरएसएसमाथि प्रतिबन्ध लगाइयो। मोदीले भूमिगत हुनुपऱ्यो। पक्राउ पर्नबाट बच्‍नका लागि भेष बदलेर विभिन्न स्थानमा घुमिरहे। सरकारविरोधी पर्चा छाप्‍ने काममा पनि उनी संलग्न रहे। ती पर्चाहरूलाई दिल्ली पठाएर प्रदर्शनहरूमा बाँडिन्थ्यो। सरकारले खोजी गरिरहेका मानिसहरूका लागि सुरक्षित आवासको निर्माण र कोष सङ्कलनमा पनि मोदीको सक्रियता थियो। यही बेला मोदीले गुजरातीमा एउटा पुस्तक लेखे “सङ्घर्ष मा गुजरात”। यसमा सङ्कटकालका बेला भएका घटनाहरूको वर्णन गरिएको थियो। यस भूमिकामा उनको भेट ट्रेड युनियनवादी र सामाजिक कार्यकर्ता जर्ज फर्नान्डेस र अन्य कैयन् राष्ट्रिय नेतृत्ववर्गसँग भेट भयो।  सङ्कटकालका बेला मोदीले यात्रा गर्दा एक पटक सिख र अर्को पटक बौद्धमार्गी लामाको भेष धारण गर्नुपरेको थियो।

१९७८ मा मोदी आरएसएसका सम्भाग(क्षेत्रीय) प्रचारक  बने र सूरत र वडोदरामा आरएसएसका क्रियाकलापहरूमाथि निरीक्षण गर्न थाले। १९७९ मा उनी दिल्लीमा आरएसएसमा काम गर्न खटिए, जहाँ उनलाई सङ्कटकालको आरएसएसको संस्करण अनुसन्धान गर्न र लेख्‍न लगाइयो। केही पछि उनी गुजरात फर्किए र आरएसएसले उनलाई बीजेपीमा नियुक्त गऱ्यो। १९८७ मा मोदीले अहमदावाद नगरपालिकाको चुनावमा बीजेपीको प्रचारप्रसार गरे र बीजेपीले सहज जित हासिल गऱ्यो। विभिन्न जीवनीलेखकहरूले यो जितको श्रेय मोदीलाई दिएका छन्।  १९८७ मा लालकृष्ण आडवानी बीजेपीका अध्यक्ष बने र आरएसएसले आफ्ना सदस्यहरूलाई पार्टीका महत्त्वपूर्ण पदहरूमा राख्‍ने निर्णय गऱ्यो। सो चुनावमा मोदीको कामले उनलाई बीजेपी गुजरातको सङ्गठन सचिवको पदमा पुऱ्यायो।

मोदीले पार्टीमा उच्च पदहरू पाउँदै गए र १९९० मा बीजेपीको राष्ट्रिय निर्वाचन समिति सदस्य बने। उनले लालकृष्ण आडवानीको १९९० को राम रथ यात्रा र १९९१-९२ को मुरली मनोहर जोसीको एकता यात्रा सञ्चालनमा पनि सहयोग गरेका थिए। उनले छोटो समयका लागि राजनीतिबाट विश्राम लिए र अहमदावादमा एउटा स्कुल स्थापना गरे। उनको यस निर्णयमा गुजरातका तत्कालीन बीजेपीका संसद सदस्य शङ्करसिंह बघेलाको पनि योगदान थियो। मोदी लालकृष्ण आडवानीको निरन्तर आग्रहमा पुन राजनीतिमा १९९४ मा फर्किए र पार्टी सचिव नियुक्त भए। मोदीको चुनावी रणनीति १९९५ को राज्य विधानसभा निर्वाचनमा पार्टीको विजयका लागि प्रमुख कारक रहेको थियो।  त्यही वर्षको डिसेम्बर महिनामा मोदीलाई बीजेपीको राष्ट्रिय सचिव बनाइयो र दिल्ली स्थानान्तरण गरियो। यहाँ उनको जिम्मामा हरियाणा र हिमाचल प्रदेश पार्टीका क्रियाकलापहरूको सुपरिवेक्षण गर्ने काम पऱ्यो। त्यसको अर्को वर्ष शङ्करसिंह बघेलाले लोकसभा चुनावमा हारेपछि बीजेपी परित्याग गरी भारतीय राष्ट्रिय काङ्ग्रेसमा प्रवेश गरे। १९९८ को गुजरातको संसदीय चुनावमा उनले केसुभाइ पटेललाई समर्थन गरे र उनको रणनीतिलाई १९९८ को चुनावी विजयको मुक्य कारक मानियो। त्यही वर्ष मे महिनामा उनली बीजेपीको महासचिवमा बढुवा गरियो।

गुजरातका मुख्यमन्त्री

२००१ मा केसुभाइ पटेलको स्वास्थ्य गिर्दो अवस्थामा थियो र बीजेपीले संसदीय उपचुनावमा केही सिटहरू गुमायो। पटेलको सरकारमाथि शक्तिको दुरुपयोग, भ्रष्टाचार र कमजोर प्रशासनको आरोप लाग्यो। गुजरातको भुजमा गएको भूकम्पपछि प्रशासनको कमजोर काम पनि एउटा कारक बन्यो। बीजेपीको नेतृत्वले पटेलको प्रतिस्थापन मोदीद्वारा गराउन खोज्यो। बीजेपीका नेताद्वय लालकृष्ण आडवानी र अटल बिहारी बाजपेयीले पटेललाई निकाल्न चाहेका थिएनन् र मोदीको अनुभव प्रति पनि उनीहरू सशङ्कित थिए। यति हुँदा पनि मोदीले उपमुख्यमन्त्री बनाउने प्रस्ताव ठाडै अस्वीकार गरे, “गुजरातको पूर्ण जिम्मेवारी लिन्छु, कि लिँदै लिन्नँ।” ३ अक्टोबर २००१ का दिन उनलाई पटेलका स्थानमा गुजरातको मुख्यमन्त्री बनाइयो  र उनको प्रमुख जिम्मेवारी २००२ को निर्वाचनका लागि बीजेपीलाई तयार गराउनु थियो। मोदीको गुजरात राज्य विधानसभामा २४ फेब्रुअरी २००२ मा निर्वाचित प्रधानन्त्रीका रूपमा भयो।  उनले भारतीय राष्ट्रिय काङ्ग्रेसका आश्विन मेहतालाई १३,७२८ मतले राजकोट-२ संसदीय क्षेत्रमा हराएका थिए।

२००२ का गुजरातका साम्प्रदायिक दङ्गाहरू

२७ फेब्रुअरी २००२ का दिन गोधरा रेल स्टेसन नजिक सैयौँ यात्रुहरू चढेको रेलमा आगो झोसियो र यसमा ५९ हिन्दु तीर्थयात्रीहरूको ज्यान गयो। यी तीर्थयात्रीहरू अयोध्यामा ध्वस्त बाबरी मस्जिदमा भएको धार्मिक कार्यक्रम सकेर घर फर्रिरहेका थिए। यस घटनापछि सार्वजानिक वक्तव्य जारी गर्दै मोदीले यो घटना स्थानीय मुसलमानहरूले गरेको आतङ्ककारी हमला भएको घोषणा गरे। दोस्रो दिन विश्व हिन्दु परिषद्ले राज्यब्यापी बन्द घोषणा गऱ्यो। यही बन्दमा दङ्गाहरू सुरु भए र मुस्लिम-विरोधी हिंसा गुजरातभरि फैलियो। रेल दुर्घटनामा ज्यान गुमाउनेहरूको शरीर गोधराबाट अहमदावाद लैजाने सरकारको घोषणाले आगामा घ्यू थप्यो। पछि राज्य सरकारले जारी गरेको वक्तव्यमा ७९० मुस्लिमहरू र २५४ हिन्दुहरू साम्प्रदायिक दङ्गाको क्रममा मारिएको कुरा उल्लेख थियो। तर स्वतन्त्र रिपोर्टहरूले २००० भन्दा बढीको ज्यान गएको उल्लेख गरे। करिब १,५०,००० मानिसहरू विस्थापित भई शरणार्थी शिविरहरूमा बस्न बाध्य भए। पीडितहरूमध्ये धेरै बालबालिका र महिलाहरू थिए। हिंसाका घटनामा सामुहिक बलात्कार र महिलाहरूको अङ्गच्छेदन पनि गरिएको थियो।

परिस्थितिलाई राम्ररी नियन्त्रणमा लिन नसकेकामा गुजरात सरकारको ठूलो आलोचना भयो। कैयन् अध्येताहरूले यस हिंसालाई “नरसंहार” भनेका छन् भने कैयन्‌ले यसलाई ‘राज्य प्रायोजित आतङ्कवाद’ भनेका छन्। मार्था नुस्बउमको भनाइ अनुसार, गुजरातको यो हिंसा जातिसंहारको एउटा रूप भएको, धेरै तरिकामा यो पूर्व नियोजित भएको, र यसलाई राज्य सरकार र कानुनका अधिकारीहरूको स्वीकृतिमा गरिएको कुरामा ठूलो जनमत तयार भएको थियो। मोदी सरकारले २६ प्रमुख सहरहरूमा कर्फ्यु लगाएको थियो, देख्तै गोली हान्ने आदेश दिएको थियो र सेनालाई गस्तीमा उतारेको थियो। यति गर्दा पनि दङ्गा नियन्त्रण हुन सकेको थिएन। राज्यका अधिकारीहरूले शरणार्थीहरूलाई शिविरबाट बाहिर निस्कन दिएनन् र शिविरहरू चल्नै धौधौ मुस्लिम पीडितहरूको राहत हिन्दुको भन्दा आधा हुने सरकारी घोषणाले विभेदको घाउमा नुन छर्किने काम गऱ्यो। यद्यपि पछि यो मुद्दा अदालतमा पुगेपछि सरकारले यसलाई उल्ट्यायो। दङ्गाका बेला नियन्त्रण गर्न सक्षम हुँदाहुँदै पनि पुलिस अधिकारीहरूले दङ्गा नियन्त्रण गरेनन्। २००७ देखि २००९ को मोदी सरकारको कार्यकालमा मन्त्री रहेका माया कोदनानीलाई तल्लो अदालतले २००२ को दङ्गाको अवधिमा भएको नरोदा पाटिया हत्याकाण्डमा सहभागी भएको अभियोग लगायो। मोदी सरकारले कोदनानीका लागि मृत्यु दण्डको माग गर्ने कुरा राखेको थियो तर पछि २०१३ मा सो निर्णय फिर्ता लियो। २१ अप्रिल २०१८ मा गुजरात उच्च न्यायालयले अनुसन्धानमा धेरै कमीहरू रहेको भन्दै कोदनानीलाई मुक्त गरिदियो।

२००२ का घटनाहरूमा मोदीको संलग्नताको निरन्तर चर्चा भैरह्यो। दङ्गा भएका बेला मोदीले भनेका थिए, “जे भैरहेको छ, त्यो क्रिया र प्रतिक्रियाको साङ्लो हो।” दिल्ली स्थित सर्वोच्च अदालतले पनि विभिन्न आयोगहरू गठन गरी २००२ का दङ्गाका घटनाहरूको छानबिन गरायो। कुनै आयोगले मोदी दोषी भएको ठहर गरे भने कुनैले निर्दोष। अन्त्यमा मुख्यमन्त्री विरूद्ध अभियोग लाग्ने पर्याप्त प्रमाण नभएको ठहर गऱ्यो।

दङ्गापछि चौतर्फी दबाब आएपछि मोदीले राजीनामा दिए। धेरै मतदाताहरू विस्थापित भएको हुनाले चुनाव गराउन सम्भव हुँदैन भनेर निर्वाचन आयुक्तको विरोध हुँदाहुँदै पनि मोदीले २००२ को चुनाव गराए। यस चुनावमा बीजेपीले १८२ सदस्यीय विधान सभामा १२७ सिट ल्यायो। मोदीले निर्वाचन प्रचारका बेला पर्याप्त मुस्लिमविरोधी नाराहरू प्रयोग गरेका थिए, तर पछि उनले सो कुरा अस्वीकार गरे। २२ डिसेम्बर २००२ का दिन मोदीले गुजरातको मुख्यमन्त्रीको दोस्रो कार्यकाल सम्हाले।

मोदीको मुख्यमन्त्रीको दोस्रो कार्यकालमा गुजरातको आर्थिक विकासबाट उनको नारा हिन्दुत्वतिर सऱ्यो। मोदीको मुस्लिमहरूसँगको सम्बन्धले विवाद निम्त्याइरह्यो। प्रधानमन्त्री अटल बिहारी बाजपेयीले मोदीसँग दूरी कायम गरे र २००४ को लोकसभा चुनावमा उत्तर भारतीय मुस्लिम समुदायमा आफ्नो पहुँच बढाए। उनले २००२ को दुर्घटनापछि मोदीलाई सहिष्णुता कायम गर्न अनुरोध गरेका थिए र मुख्यमन्त्रीको पदबाट उनको राजीनामाको प्रशंसा गरेका थिए। सो निर्वाचनपछि बाजपेयीले गुजरातको हिंसा बीजेपीको हारको कारण रहेको र मोदीलाई प्रधानमन्त्रीको कुर्सीमा रहिरहन दिनु गलती भएको कुरा व्यक्त गरेका थिए।

मोदीको मुस्लिमहरूसँगको सम्बन्धबारे उनको मुख्यमन्त्रित्वकालमा पश्चिमा राष्ट्रहरूले पनि प्रश्नहरू उठाइरहे। अमेरिकी विदेश विभागले उनलाई अमेरिका प्रवेशमा रोक लगायो। अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता अधिनियम अन्तर्गत अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगको सिफारिसमा सो अधिनिमय अन्तर्गत अमेरिकी भिसा अस्वीकृत गरिने मोदी एक्ला व्यक्ति हुन्।  बेलायत र युरोपेली युनियनले दङ्गामा उनको संलग्नता भएका कारण प्रवेश निषेध गरे। भारतमा मोदी प्रतिष्ठित हुँदै गएपछि बेलायत र युरोपेली युनियनले आफ्नो प्रतिबन्ध २०१२ र २०१३ मा फुकुवा गरे। उनी प्रधानमन्त्री भएपछि उनलाई वासिङ्टन निम्ता पनि गरियो।

२०१४ लोकसभा निर्वाचन

सेप्टेम्बर २०१३ मा मोदीलाई २०१४ को निर्वाचनका लागि बीजेपीको प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरियो। मोदीको उम्मेद्वारीप्रति लालकृष्ण आडवानीसहित थुप्रै वरिष्ठ बीजेपी नेताहरूले असहमति जनाएका थिए। मोदीले निर्वाचन प्रचार-प्रसारमा प्रभावशाली भूमिका खेले। बीजेपीलाई भोट दिने कैयन् मानिसहरूले मोदी प्रधानमन्त्रीको उम्मेद्वार नभएको भए, अन्य कुनै पार्टीलाई भोट दिने कुरा बताएका थिए। बीजेपीको चुनाव प्रचारमा एक जना व्यक्तिका रूपमा मोदीमाथिको आकर्षण असाधारण थियो। यस चुनावलाई नरेन्द्र मोदीमाथिको जनमतसङ्ग्रह भनी नामाकरण गरिएको थियो। चुनावी प्रचारका बेला मोदीले काङ्ग्रेसको सरकाका भ्रष्टाचारका काण्डहरूमा र आफूलाई गुजरातमा विकासको लहर ल्याउने नेताका रूपमा प्रक्षेपण गरे। उनले यावत् प्रचारप्रसारका साधन त प्रयोग गरे नै सामाजिक सञ्चालको पनि अत्यधिक उपयोग गरे।

मोदी आफैँ दुई निर्वाचन क्षेत्रबाट लोकसभाको उम्मेद्वार थिए: वाराणसी र वडोदरा। उनले दुवै ठाउँ विजय हासिल गरे। वाराणसीमा उनले आम आदमी पार्टीका अरविन्द केजरीवाललाई जितेका थिए भने वडोदरामा काङ्ग्रेसका मधुसूदन मिस्त्रीलाई।

प्रधानमन्त्री – २०१४

मोदीले २६ मे २०१४ मा भारतको प्रधानमन्त्रीका रूपमा सपथ लिए। उनी बेलायती शासनपछि जन्मिएका प्रथम भारतीय प्रधानमन्त्री पनि थिए।  प्रधानमन्त्री भएपछि केन्द्रीकरणका थुप्रै प्रयास हरू गरे र त्यसका लागि अनेकन् विधेयकहरू ल्याए। मोदीले डिसेम्बर २०१४ मा योजना आयोग खारेज गरी नेसनल इन्स्टिच्युसन फर ट्रान्सफर्मिङ इन्डिया वा एनआइटीआइ आयोग बनाए। यसले प्रधानमन्त्रीलाई योजनासम्बन्धी निर्णयमा ठूलो शक्ति प्रदान गऱ्यो। मोदीले प्रथम प्रधानमन्त्रित्वकालमा सुरु गरेका केही आयोजनाहरू:

  • पहिलो तीन वर्षमा १२०० अप्रयुक्त कानुनहरूलाई रद्द गरे। त्यस अघि ६४ वर्षको अवधिमा विभिन्न सरकारहरूले १३०१ वटा कानुन मात्र रद्द गरेका थिए।
  • “मन की बात” रेडियो कार्यक्रम
  • डिजिटल इन्डिया कार्यक्रम
  • उज्ज्वला योजना – यस अन्तर्गत ग्रामीण क्षेत्रमा निशुल्क एलपी ग्यास उपलब्ध गराउनु थियो। यस योजनाले २०१४ को तुलनामा २०१९ मा एलपी ग्यासको खपत ५६% ले बढायो।
  • नोटबन्दी – यस अभियान अन्तर्गत कालो धन, भ्रष्टाचार, नक्कली नोट र आतङ्कवादलाई निरुत्साहित गर्न मोदीले ५०० र १००० का बैङ्क नोटहरूलाई अमान्य गरिदिए।
  • स्वच्छ भारत अभियान – यस योजना अन्तर्गत पाँच वर्षभित्र खुला स्थानमा दिसापिसाब गर्ने काम र मानिसले मलमूत्र सफा गर्ने काम निर्मूल पार्नु थियो। यस अभियान अन्तर्गत भारत सरकारले लाखौँ शौचालय बनायो।
  • आयुष्मान भारत योजना – यो करिब ५० लाख नागरिकलाई बीमा प्रदान गर्ने योजना थियो।

२०१९ लोकसभा निर्वाचन

हालै सम्पन्न लोकसभा निर्वाचनमा बीजेपीले ३०३ सिट ल्याएको छ र बीजेपीले नेतृत्व गरेको नेसनल डेमोक्र्याटिक अलायन्सले ३५५ सिटमा विजय हासिल गरेको छ। लोकसभाको ५४५ सिटमध्ये बहुमतका लागि २७२ सिटको आवश्यकता पर्दछ। निर्वाचनको यस नतिजाले नरेन्द्र मोदी पुन: प्रधानमन्त्री बन्ने निश्चित भैसकेको छ। यस चुनावमा मोदीले राष्ट्रवादको मुद्दा प्रखर रूपमा उठाएका थिए।

(विवादहरूका बीच नरेन्द्र मोदीको उदयबारे २०१० मा इन्भेस्टिगेटिभ जर्नलिस्ट राना अयुबले गरेको स्टिङ  अपरेसनका बारेमा उनको पुस्तक ‘गुजरात फाइल्स-एनाटमी अफ अ कभर अप’ माथि लेखकको यो आलेख सान्दर्भिक छ। यो आलेख अन्नपूर्ण पोस्ट दैनिकमा गतवर्ष प्रकाशित भएको थियो)

गुजरात फाइल्स – एनाटोमी अफ अ कभर अप – सत्तालिप्तहरूको कालो करतूत

“अनुसन्धानात्मक पत्रकारिताको यो सर्वश्रेष्ठ पुस्तक हो। राना अय्यूबले जुन काम गर्न असाधारण जोखिम उठाइन, त्यसका लागि उनलाई सलाम गर्नैपर्छ। यो पुस्तकको लोकार्पण हुँदा, भारतका कुनै पनि प्रकाशकले प्रकाशकले प्रकाशन गर्न अनिच्छा देखाएका कारण, उनले आफैँ प्रकाशित गर्ने निधो गरिन्। यदि समुद्रपारी साहसिक पत्रकारिताका लागि पुलिट्जर पुरस्कार दिइन्थ्यो भने, उनले पक्कै त्यो पुरस्कार पाउने थिइन्।”

– बिजिनेस स्ट्यान्डर्डमा प्रकाशित आइएएनएस समीक्षा

“दोषीको नकाब उतार्ने र शक्तिशालीहरूलाई हत्याराहरूसँग जोड्ने ती अदृश्य रेखाहरू उधिन्ने अनवरत आकाङ्क्षामा अय्यूब स्पष्ट र उन्मत्त छिन्।”

– हिन्दुस्तान टाइम्स

“राना अय्यूबको पुस्तक पत्रकारिताका कलेजहरूमा अनिवार्य गराइनु पर्छ, विशेषगरि महिला पत्रकारहरूका लागि, जसले  उनको यस पुस्तक गुजरात फाइल्स र उनको पेसामा देखाइए अनुसार साहसको पत्रकारिता र अनुकरणीय इमानदारितामा नोटहरू लिन सक्छन्।”

– रविश कुमार, एनडिटिभी

“शक्तिको उच्चतम ओहदामा रहनेहरूका लागि असहज रहस्योद्घाटनलाई बाहिर ल्याउने किताब लेख्‍न र स्थापित प्रकाशन गृहहरूले प्रकाशित गर्न नचाहँदा, आफैँ प्रकाशित गर्न असाधारण साहस र सङ्कल्प चाहिन्छ। राना अय्यूबसँग यी प्रशस्तै छन् ……. संस्थाहरूको इमानदारिता र न्यायको प्रणालीमा विश्वास गर्नेहरूका लागि, गुजरात फाइल्स एउटा चेतावनी हो।”

– आउटलुक पत्रिका

यी राना अय्यूबको पुस्तक “गुजरात फाइल्स – एनाटोमी अफ अ कभर अप”को प्रशंसामा गरिएका केही उद्गार मात्र हुन्।

२७ फेब्रुअरी २००२ को दिन पनि संसारको सबैभन्दा ठूलो गणतन्त्रको इतिहासमा जडित रक्तरञ्जित घटनाहरूको कालो दिन मध्येको एउटा थियो। यो घटना बर्बरताको एउटा  पराकाष्ठा थियो। त्यस दिन बिहान साबरमति एक्स्प्रेस ट्रेनको एस-६ नम्बरको कोचमा गोधरा नजिक आगो झोसियो। अयोध्याको विवादित बाबरी मस्जिद/राम जन्मभूमिको तीर्थयात्राबाट घर फिरिरहेका ५९ जना कार सेवक हिन्दु तीर्थयात्रीहरूले ज्यान गुमाउनु पऱ्यो। गुजरात सरकारले नियुक्त गरेको छानबिन आयोगले यो आगलागी १००० देखि २००० जनाको जनसमूहले गराएको भनी रिपोर्ट पेस गऱ्यो। केन्द्र सरकारले नियुक्त गरेको आयोग(जसलाई पछि असंवैधानिक ठहर गरियो)ले यस घटनालाई दुर्घटनाको संज्ञा दियो।

त्यसपछि गुजरातको विभिन्न स्थानमा भएको साम्प्रदायिक दङ्गामा, अफिसियल रिपोर्ट अनुसार, १०४४ जनाको मृत्यु, २२३ जना बेपत्ता र २५०० जना घाइते भएका थिए। मर्नेहरूमध्ये ७९० जना मुसलमानहरू र २५४ जना हिन्दुहरू थिए। अन्य स्रोतहरूले मारिने मानिसहरूको सङ्ख्या २,००० भन्दा बढी बताएको छ। यस दङ्गामा आगजनी र लुटपाट बाहेक धेरै क्रूर हत्याहरू र पासविक बलात्कार गरिए। त्यस बेला गुजरातको मुख्यमन्त्रीको को कुर्सीमा, नरेन्द्र मोदी विराजमान थिए। मुसलमानहरूलाई पाठ सिकाउन उनले यो दङ्गा गर्न उक्साएको आरोप लागेको छ, जसको खण्डन उनले बारम्बार गरेका छन्।

इन्भेस्टिगेटिभ जर्नलिस्ट राना अय्यूबले यही सेरोफेरोमा रहेर २०१० मा गरेको स्टिङ अपरेसनको इतिवृत्तान्त हो यो पुस्तक। राना अय्यूब मुसलमान महिला हुन् र उनले यो अपरेसन अमेरिकन फिल्म इन्स्टिच्युट की विद्यार्थी र फिल्म निर्माता बनेर गरेकी हुन्।  राष्ट्रिय स्वयम्सेवक सङ्घको सिद्धान्त पछ्याउने समर्पित महिला ‘मैथिली त्यागी’को अवतारमा उनले आफ्ना कपडा, नोटबुक र घडीमा लुकाइएका क्यामेराका सहयोगले मन्त्रीहरू, नेताहरू, सरकारी कर्मचारीहरू र पुलिस अधिकारीहरूलाई भेटेर उनीहरूसँगका वार्तालापहरू रेकर्ड गरिन्। आफ्नो अमेरिकी विद्यार्थी र फिल्म निर्माताको अवतारलाई बढी आधिकारिक(अथेन्टिक) देखाउनका लागि उनले एक जना फ्रेन्च युवक ‘माइक’को सहयोग लिएकी छन्। माइक उनीसँगै बस्छन् र धेरैजसो भेटघाटहरूमा सामेल हुन्छन् । तर कतिपय भेटघाटहरूमा विषयको संवेदनशीलतालाई हेरेर ‘मैथिली त्यागी’ उनलाई सँगै लान्नन्। गुजरातका सफल महिलाहरू र पुरुषहरूमाथि फिल्म बनाउने भन्दै उनले २०१०-२०११ मा रेकर्ड गरिएका यिनै वार्तालापहरूमा यो किताबमा  आधारित छ।

किताब पढ्दै जाँदा सत्तालोलुप नेताहरूले गरेका कृत्यहरू, राजनीतिले गाँजेको कर्मचारीतन्त्र, भ्रस्ट पुलिसका ‘कारनामा’हरूले आङ सिरिङ्ग पार्छन्। इमानदार कर्मचारीहरू, दलित पुलिस अधिकारीहरू र समर्पित मानिसहरूको रोदन पनि पुस्तकमा देख्न पाइन्छ। दलित भएकैले बढुवा नभएका, सरुवा गरिएका र सताइएका राष्ट्रसेवकहरूले आर्तनाद गरेका छन्। उनीहरूलाई कथित ‘उच्च’ जातिकाहरू बस्ने ठाउँहरूमा जमिन किनेर घर बनाउन समेत नदिई उनीहरूलाई असफल पारिएको छ र पनि उनीहरू झुकेका छैनन्।

सत्तासिनहरूको आदेशमा र लोभलालचमा परी गरिएका धेरै नक्कली भिडन्त(फेक एनकाउन्टर)हरू बारे पुस्तकले पोल खोलेको छ। सामान्य चोर ‘सोह्राबुद्धिन’लाई आतङ्कबादी भन्दै मारिएको छ। सोह्राबुद्दिन आतङ्कवादी नभएको प्रमाणित भैसकेपछि, रानाले मोदीलाई त्यसबारे प्रश्न गर्दा, भाषणमा ‘सोह्राबुद्दिन’ जस्तो आतङ्कवादी मारेकामा फुलेल हुने मोदी निरूत्तर हुन्छन्। १९ वर्षकी अर्की एकजना निर्दोष मुसलमान महिला ‘इसरात जहाँ’लाई अन्य तीन पुरुषहरूसहित पुलिसकर्मीहरूको एउटा समूहले त्यसै गरी मार्छ। उनीहरूलाई पाकिस्तानको प्रतिबन्धित उग्रवादी सङ्गठन ‘लस्करे तोइबा’का सदस्यहरू भनी गोलीले उडाइन्छ। स्थानीय पुलिसले उनीहरू मुख्यमन्त्री नरेन्द्र मोदीको हत्या गर्न गुजरात आएको आरोप लगाउँदै मारेको छ।

साम्प्रदायिक दङ्गामा मानिसहरूको ज्यान जोगाउन निस्वार्थ खट्ने सहृदयी  मुसलमानहरूलाई नामै तोकेर पक्राऊ गर्न सत्ताले दिएको आदेश नमान्ने पुलिसकर्मीको साहसलाई पनि नमन गर्न मन लाग्छ। गुजरात राज्यका तात्कालिन गृहमन्त्री अमित शाह(अहिलेका बिजेपीका अध्यक्ष)का करतूतहरू छताछुल्ल छन्। मोदी र आफू अनुकूलहरूलाई छेउ पार्दै, सत्य र इमानदारितामा अडिग रहनेहरूलाई पाखा लगाउने किसिमका प्रपन्च रच्ने अमित शाह पक्राउ परेको कुरा पनि किताबले उल्लेख गर्छ। सत्ताका प्यादाहरूलाई बढुवा दिँदै राजनैतिक अभीष्ट पूरा गर्ने खेल खेलिएको कुरा पुस्तकले गरेको छ। मोदी र अमित शाहको दिल्लीको सत्तारोहण-यात्राको लुकाइएको ‘करतूत’ उधिन्न यो पुस्तक सफल छ। पुस्तकमा गिरिश सिङ्घल, राजन प्रियदर्शी,  असोक नारायण, जि.सि. राइगर, पि.सि. पान्डे, चक्रवर्ती,  माया कोदनानी, गीता जोहरी आदिसँगको विस्तारित वार्तालाप समेटिएको छ।

बिजेपीकै अर्का नेता हरेन पान्ड्याको २००३ मा गरिएको रहस्यमय हत्याबारे पनि पुस्तक बोलेको छ। नरेन्द्र मोदीले आफ्नो निवासमा उच्च पदस्थ सरकारी कर्मचारीहरू र पुलिस अधिकारीहरूको बैठक बोलाएर ‘मानिसहरूलाई आफ्नो पराजयको बदला लिन दिन र हिन्दुहरूको प्रतिकारको मार्गमा नउभिन’ दिएको निर्देशनबारे हरेन पान्ड्याले बोलेका थिए। हरेन पान्ड्याकी पत्नी जागृति पान्ड्याले आफ्नो पतिको हत्यालाई ‘राजनैतिक हत्या’ भनेकी छिन्।

राना अय्यूब तहल्कामा हुँदा तहल्काको तर्फबाट यो अपरेसन गरेकी थिइन्। तर तहल्काले अप्रिल २०११ मा यो अपरेसन बन्द गर्ने निर्णय गऱ्यो। त्यसपछि राना अय्यूबले आफ्नो परिश्रमलाई खेर जान नदिन, यसलाई पुस्तकको आकार दिइन्। नाम चलेका पुस्तक प्रकाशकहरूले यो किताब छाप्न त मानेनन् नै, मुम्बई र गुजरातका कतिपय पुस्तक पसलहरूले किताब बेच्न पनि आनाकानी गरे।

त्यसपछि राना अय्यूबले आफैँ प्रकाशन गरेको पुस्तक ३२,००० प्रतिभन्दा बढी बिक्री भएर बेस्ट सेलर भैसकेको छ। पछिल्लो समयमा भारतको सबैभन्दा ठूलो अङ्ग्रेजी पुस्तकहरूको वितरक इन्डिया बुक डिस्ट्र्रिब्यूटर्स(आइबिडि)ले पुस्तक वितरणको जिम्मा लिइसकेपछि पनि ८,००० भन्दा बढी प्रतिहरू बिक्री भैसकेका छन्।

अनुसन्धानात्मक पत्रकारितामा रुचि हुनेहरूका लागि यो छोड्नै नहुने पुस्तक हो।