स्टिभ जब्स : एप्पल, म्याकबुक र आइफोन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

स्टिभ जब्स : एप्पल, म्याकबुक र आइफोन



~कुमुद अधिकारी~

स्टिभन पल जब्स (फेब्रुअरी २४, १९५५ – अक्टोबर ५,२०११) एक जना अमेरिकी बिजिनेस म्याग्नेट र लगानीकर्ता थिए। उनी एप्पल इन्कर्पोरेटेडका अध्यक्ष, प्रमुख कार्यकारी र सह-संस्थापक; पिक्सरका अध्यक्ष तथा प्रमुख सेयरहोल्डर; वाल्ट डिस्ने कम्पनीको निर्देशक बोर्डका सदस्य; नेक्स्टका संस्थापक, अध्यक्ष र प्रमुख कार्यकारी समेत थिए। जबलाई धेरैजसो १९७० र १९८० को दशकमा माइक्रोकम्प्युटर क्रान्तिका लागि सम्झिइन्छ जसमा एप्पलका सह-संस्थापक स्टिभ उज्नियाक पनि सँगै थिए।

जब्स क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा जन्मिएका थिए र उनलाई धर्मपुत्र ग्रहणका लागि राखिएको थियो।

जैविक मातापिता र धर्म मातापिता

जब्सको जन्म फेब्रुअरी २४, १९५५ का दिन माता जोअन सिबलको कोखबाट भएको थियो। जोनका पिताको नाम अब्दुलफतह जन्दाली थियो। उनी अरब मूलका मुस्लिम थिए। जोअन क्याथोलिक थिइन् र विस्कन्सिनको एउटा फार्ममा हुर्केकी थिइन्। विस्कन्सिन विश्विद्यालयमा जोअनले पिएचडी गराउँदा जन्दाली टिचिङ असिस्टेन्टका रूपमा काम गर्थे। समवय भएका कारण उनीहरूको प्रेम टुसायो र जब्स गर्भमा आए। तर जोअनका परिवारले कसैगरी जन्दालीसँग उनको बिहे गर्दिन मानेनन्। जोअनले अन्त्यमा जब्सलाई धर्मपुत्र ग्रहणका लागि राखिन् र धर्मपुत्र लिने परिवार “क्याथोलिक, शिक्षित र धनी” भएको हुनुपर्छ भन्ने सर्त राखिन्। पल र क्लारा जब्सले ती बालकलाई धर्मपुत्र राख्‍न चाहे। उनीहरू दुवैले कलेज शिक्षा पाएका थिएनन् र जोअनले धर्मपुत्र ग्रहण सम्बन्धी कागजमा हस्ताक्षर गर्न मानिनन्। यो मुद्दा अदालत पुग्यो र जब्स दम्पत्तिले जब्सलाई कलेज शिक्षा दिलाउने वाचा गरेपछि मात्र उनले हस्ताक्षर गरिन्। यसरी स्टिब जब्स पल र क्लारा  जब्सको काखमा पुगे। जब्स हाई स्कुलमा पढ्दा उनकी आमा क्लाराले जब्सकी १७ वर्षीय केटी-साथी क्रिसान ब्रेननलाई भनेकी थिइन्, – “सुरुका छ महिना स्टिभलाई प्रेम गर्न म साह्रै डराएँ… उनीहरूले उसलाई मबाट खोसेर लान्छन् जस्तो लाग्यो। हामीले मुद्दा जितिसकेपछि पनि स्टिभ मेरा लागि कठिन बच्चा थियो, र मलाई कतै गलती पो गरिएछ कि जस्तो लागेको थियो। मैले उसलाई फर्काउन चाहेकी थिएँ।” क्रिसानले यो कुरा स्टिभलाई    सुनाउँदा आफूलाई पहिलेदेखि नै थाहा भएको कुरा गरेका थिए। उनी पल र क्लारालाई अन्त्यन्त प्रेम गर्थे। उनीहरूलाई कसैले उनका धर्मपिता-माता भन्दा उनी उदास हुन्थे र भन्थे, “उहाँहरू मेरा मातापिता हुनुहुन्छ, १००% होइन १०००%। आफ्ना जैविक मातापितालाई जब्सले कहिल्यै मन पराएनन् । उनी भन्थे “तिनीहरू मेरालागि शुक्राणु र डिम्बका बैङ्क हुन्। सुन्दा साह्रै खस्रो सुनिन्छ तर वास्तविकता त्यही हो, अरू केही हैन।”

बाल्यावस्था

पल र क्लाराले जब्सकी बहिनी प्याट्रिसियालाई पनि धर्मपुत्रि ग्रहण गरे। त्यसपछि परिवार १९६१ मा माउन्टेन भ्यू क्यालिफोर्नियाँमा सऱ्यो। यसैताका पलले आफ्नो छोरा जब्सको मेसिनप्रतिको प्रेम पोखियोस् भन्नका लागि ग्यारेजमा एउटा वर्कबेन्च बनाइदिए। जब्स आफ्ना पिताको शिल्पबाट अत्यन्तै प्रभावित थिए। उनी भन्थे, “उहाँलाई जे पनि बनाउन आउँथ्यो। हामीलाई क्याबिनेट चाहिए, उहाँले बनाउनुहुन्थ्यो। टेबल चाहिए टेबल बनाउनुहुन्थ्यो। बारीमा बार लगाउँदा उहाँले मलाई मार्तोल दिनुभएको थियो, सँगै काम गरोस् भनेर। मैले कार बनाउन त जानिनँ तर उहाँसँग काममा भिड्ने मौका म खोजिरहन्थेँ।”

जब्स दस वर्षको हुँदा उनी इलेक्ट्रोनिक्समा डुबिसकेका थिए छिमेकमा बस्ने थुप्रै इन्जिनियरहरू उनका साथी बनिसकेका थिए।  उनका बाबुले कहिल्यै उनलाई हकारेनन् र आफ्नो छोरासामु पर्याप्त चुनौती नराखिदिएकामा स्कुललाई दोष दिइरहे। उनका बाबु बाल्यकालमा दुर्व्यवहारबाट पीडित थिए।

आफूलाई सिकाइतिर फनक्कै फर्काउने श्रेय जब्स चौथो ग्रेडकी शिक्षिका इमोजीन ‘टेड्डी’ हिललाई दिन्छन्। उनले जब्सलाई पढोस् र सिकोस् भनेर घुस दिन्थिन्। उनी भन्थिन्, “यो पढिसक्यौ भने म तिमीलाई पाँच डलर दिन्छु।” त्यसले उनमा अभूतपूर्व सिक्ने अनुराग जगायो। उनले पाँचौँ ग्रेड पढेनन् र सोझै छैठौँ ग्रेडमा क्रिन्टेन्डेन मिडल स्कुलमा भर्ना भए। जब्सको अनौठो स्वभावका कारण त्यहाँ उनी एक्लिए। उनी प्राय: हेपिन्थे पनि। वाक्क भएर उनले पल र क्लारालाई अल्टिमेटम दिए – “स्कुल फेर्नुहोस् नत्र छोड्छु।”

जब्सको परिवार धनी थिएन, उनीहरूले आफ्नो जम्मै सञ्चित रकम १९६७ मा नयाँ घर किन्दा खर्च गरिसकेका थिए। क्युपरटिनो स्कुल डिस्ट्रिक्ट अन्तर्गत क्युपर्टिनोमा भएको यो नयाँ घर माउन्टेन होमको घरभन्दा राम्रो थियो र त्यस क्षेत्रमा इन्जिनियरिङका परिवारहरू पहिलेको स्थानभन्दा बढी थिए। यस स्थानलाई ऐतिहासिक स्थल भनी २०१३ मा घोषणा गरिसकिएको छ किनकि त्यो स्थान एप्पल कम्प्युटरको जन्मिएको स्थान हो।

१९६८ मा तेह्र वर्षको हुँदा, जब्सले एउटा इलेक्ट्रोनिक प्रोजेक्टका लागि पार्ट्सहरू माग्दा बिल ह्युलेट(ह्युलेट-पाकार्ड कम्पनी)ले उनलाई ग्रीष्मकालीन जागीर दिए। उनलाई आवृत्ति गणक(फ्रिक्वेन्सी काउन्टर) एसेम्बल गर्ने काम दिइको थियो। जब्सले त्यो प्राप्तिलाई स्वर्ग प्राप्तिसँग तुलना गर्छन्।

१९६७ मा नयाँ घरमा सरेपछि उनको मित्रता बिल फर्नान्डेजसँग भयो। बिल पनि इलेक्ट्रोनिक्स भनेपछि मरिमेट्थे। फर्नान्डेजले पछि भने अनुसार कुनै कारणले आठौँ ग्रेडका विद्यार्थीहरूले जब्सलाई मन पराउँदैनथे। म उनको थोरैमध्येको एउटा साथी थिएँ।

उनको नयाँ घरबाट उनी होमस्टेट हाइ स्कुल जान सक्थे। जब्स र फर्नान्डेज दुवैका पिताहरू इन्जिनियरिङ पृष्ठभूमिका थिएनन् र त्यसैले उनीहरूलाई जोन म्याककोलमको “इलेक्ट्रोनिक्स १” कक्षामा दुई जनालाई भर्ना गरिदिए। पछि म्याककोलम र विद्रोही जब्सको द्वन्द्व बढ्यो र जब्सको सो कक्षामा रुचि घट्न थाल्यो। उनी खेलकूदमा पनि पटक्कै रुचि राख्दैनथे, लामो कपाल पाल्थे र आफ्नै पारामा हिँड्थे।

१९७० मा उनको रुचि साहित्यतर्फ पनि ढल्कियो। प्लाटो, सेक्सपियर, डाइलन थोमस आदिबाट उनी प्रभावित भए। पछि जब्सले आधिकारिक जीवनी लेखकलाई भने अनुसार त्यसबेला उनको रुचि सङ्गीत सुन्नतिर पनि ढल्किएको थियो। यसले गर्दा जब्सका साथीहरूको दुईवटा समूह बन्यो। इलेक्ट्रोनिक्स मन पराउनेहरूको एउटा र साहित्य मन पराउनेको अर्को। यही रुचि उनका कलेजका सिनियर वर्षहरूमा पनि झल्कियो, उज्नियाक र उनकी पहिली गर्लफ्रेन्ड क्रिसान ब्रेनन उनका घनिष्ट मित्र बने।

१९७२ को अन्त्यतिर जब्स ओरेगनको पोर्टल्यान्डस्थित रिड कलेजमा भर्ना भए। रिड अत्यन्त महङ्गो कलेज थियो। जब्सका मातापिता पल र क्लारा जब्सले आफ्नो जीवनभरिको बचतको ठूलो भाग आफ्नो छोराको उच्च शिक्षाका लागि खर्च गरिरहेका थिए। ब्रेनन त्यसबेला होमस्टेडमा सिनियर थिइन् र उनको कलेज पढ्ने कुनै योजना पनि थिएन। जब्सले मातापिताको त्यत्रो पैसा शिक्षामा खर्च गर्न नचाहेकाले रिड छोड्ने कुरा गर्दा ब्रेननले समर्थन गरेकी थिइन्। (ब्रेनका र जब्सका मातापिता कसैले पनि कलेज पढेका थिएनन्)।

जब्स कक्षाहरू छनोट गरेर मात्र कक्षामा बस्थे। त्यस्तो एउटा कक्षामा रोबर्ट पलाडिनोले पढाउने क्यालिग्राफीको कक्षा थियो। जब्स नियमित विद्यार्थी थिएनन् र ब्रेननले पनि उनको साथ छोड्दै गएकी थिइन्। पछि जब्सले रिड क्याम्पसको छेउमा घर भाडा लिएर बसौँ भन्ने प्रस्ताव गर्दा ब्रेननले मानिनन्। जब्सले अर्की केटी साथी खोजे र ब्रेननले आफ्नै कक्षामा भएको अर्को केटासँग हिमचिम बढाइन्। २००५ मा स्टानफोर्ड युनिभर्सिटीमा दिएको प्रवचनमा उनले केही कुरा खुलाएका छन् – उनी त्यसबेला साथीहरूको डर्मिटरीको भुइँमा सुत्थे, थोरै पैसा हात पार्नका लागि कोकका बोतल फिर्ता गर्थे, र स्थानीय हरे कृष्ण मन्दिरमा साप्ताहिक निशुल्क खाना खान्थे। “यदि म त्यो कलेजको क्यालीग्राफी कोर्समा नगएको भए, म्याकसँग त्यति धेरै टाइफेसहरू वा समानुपातिक स्पेस(रिक्त स्थान) भएका फन्टहरू हुने थिएनन्।

एप्पल-अघि(१९७२-१९७५)

१९७३ को मध्यतिर जब्स सानफ्रान्सिस्को बे एरियामा गए र अपार्टमेन्ट भाडामा लिएर बसे। ब्रेननले भने अनुसार त्यसबेला उनीहरूको सम्बन्ध धेरै जटिल थियो। उनीहरूले एकअर्कालाई छोड्न पनि सकिरहेका थिएनन् र एकअर्काप्रति समर्पित हुन पनि सकिरहेका थिएनन्। त्यसैले अन्यसित सम्बन्ध बनाउँदा बनाउँदै पनि उनीहरूले एकअर्कालाई भेट्न भने छाडेनन्।

१९७३ मा स्टिभ उज्नियाकले परम्परागत भिडियो गेम ‘पोङ’को आफ्नो संस्करण निर्माण गरे। सकेपछि त्यसको बोर्ड उज्नियाकले जब्सलाई दिए र जब्सले सो गेम लोस गाटोस क्यालिफोर्नियाको अटारी इन्कर्पोरेटेडमा लिएर गए। अटारीले सो गेम जब्सले बनाएको भन्ने सोचेर उनलाई प्राविधिकको जागिर दियो। अटारीका सहसंस्थापक नोलन बुसेलले पछि जब्सलाई “कठिन तर मूल्यवान” भनी व्याख्या गरेका छन्।

१९७४ को प्रारम्भतिर जब्स ब्रेननको भनाइ अनुसार साधारण जीवन बाँचिरहेका थिए र भारतको यात्रा गर्नका लागि रकम जम्मा गरिरहेका थिए। उनी त्यसबेला दक्षिण भारतीय सङ्गीत सुन्थे र ध्यान गर्नका लागि जापानी ध्यान सिरानी प्रयोग गर्थे। ब्रेननले भने अनुसार जब्सले भारत जानुअघि आफूले अटारीमा कमाएको सय डलरको नोट दिन चाहेका थिए। ब्रेननले एकछिन आनाकानी गरेर स्वीकार गरेकी थिइन्।

१९७४ को मध्यतिर जब्स रिडका साथी डानियल कोट्किसँग भारत यात्रामा निस्किए। उनको यस यात्राको उद्देश्य कान्ची आश्रमका नीम करोली बाबालाई आध्यात्मिक शिक्षाका लागि भेट्नु थियो। लामो समयको दुःखदायी यात्रापछि उनीहरू आश्रममा पुग्दा आश्रम विरान थियो किनकि नीम करोली बाबाको मृत्यु सेप्टेम्बर १९७४ मै भैसकेको थियो।

सात महिना भारत बसेर डानियलभन्दा अघि नै उनी अमेरिका फर्किए। जब्सले आफ्नो रूप परिवर्तन गरेका थिए – टाउको मुडेका थिए र परम्परागत भारतीय पोसाक लगाउन थालेका थिए। यसै बेला जब्स र ब्रेनन जेन बौद्ध परम्पराका साधक बनेका थिए। उनी ध्यान गर्न भनेर लामो अवधिका लागि गुम्बातिर हिँड्थे र हप्तौँ गायब रहन्थे।

त्यसपछि जब्स अटारीमा फर्किए र उनलाई आर्केड भिडियो गेम ब्रेकआउटका लागि सर्किट बोर्ड निर्माण गर्ने जिम्मा लगाइयो। बुसनेलका अनुसार मेसिनबाट एउटा चिप हटाएबापत उनलाई सय डलर दिने भनिएको थियो। जब्ससँग सर्किट बोर्ड निर्माणको ज्ञान थोरै मात्र थियो। त्यसैले उनले उज्नियाकसँग एउटा सम्झौता गरे। उज्नियाकले चिपको सङ्ख्या घटाएमा आएको पैसा आधाआधा बाँड्ने। उज्नियाकले टिटिएल चिपको सङ्ख्या घटाएर ४६ मा झारे।  अटारीका इन्जिनियरहरू यो संरचना देखेर तीनछक्क परेका थिए। यो संरचना यति धेरै खाँदिएको थियो कि, एसेम्ब्ली लाइनमा पुनर्उत्पादन गर्न असम्भव थियो। उज्नियाकले भने अनुसार अटारीले त्यस कामका लागि जब्सलाई ७००डलर (जबकि त्यसका लागि ५,००० डलर तिरिएको थियो) दिएको थियो र उनको भागमा ३५० डलर परेको थियो। उज्नियाकले यस कामको वास्तविक बोनस दस वर्ष पछि मात्र चाल पाए। त्यसबेला उनको भनाई थियो, – “जब्सले यसबारे मलाई भनेको भए र पैसा चाहिएको कुरा जनाएको भए, म उनलाई दिइहाल्थेँ नि।”

उज्नियाकले न्यून-खर्चमा डिजिटल “ब्लु बक्स” डिजाइन गरेका थिए। यसले टेलिफोन सञ्जाललाई हेरफेर गर्न आवश्यक टोनहरू उत्पन्न गर्थ्यो र यसको प्रयोगले लामो दूरीमा निशुल्क फोन गर्न मिल्थ्यो। यो बेचेर पैसा कमाउन सकिन्छ भन्ने जब्सलाई लाग्यो। गैरकानुनी “ब्लु बक्स” को गोपनीय बिक्री राम्ररी चल्यो र यसैले जब्सका दिमागमा इलेक्ट्रोनिक्स रमाइलो र लाभदायक दुवै हुने कुराको बीजारोपण गऱ्यो। पछि १९९४ को अन्तर्वार्तामा उनले खुलासा गरे अनुसार उनीहरूलाई त्योस ब्लु बक्स कसरी बनाउने भन्ने कुरा पत्ता लगाउन छ महिना लागेको थियो। “ब्लु बक्स नभएको भए एप्पल जन्मिने थिएन।” जब्सको भनाइ थियो।

१९७५ मा जब्स र उज्नियाक होमब्र्यु कम्प्युटर क्लबका बैठकहरूमा जान्थे। यिनै  बैठकहरू पहिलो एप्पल कम्युटरको विकास र बजारीकरणका पहिला खुड्किला बने।

एप्पल (१९७६-१९८५)

१९७६ मा उज्नियाकले एप्पल १ कम्प्युटर डिजाइन गरे र जब्सलाई देखाए। जब्सले बेच्ने सल्लाह दिए। जब्स उज्नियाक, र रोनाल्ड वाइने मिलेर एप्पल कम्युटर (अहिले एप्पल इनकर्पोरेटेड) स्थापना गरे। यो स्थापना जब्सको घरको ग्यारेजमा गरिएको थियो। वाइने केही समयपछि निस्किए र जब्स तथा उज्नियाक नै कम्पनीका प्राथमिक संस्थापक बने। जब्स ओरेगनमा अल वान फार्म कम्युनको स्याउको बगैँचामा गएर फर्किएपछि, त्यहाँ बिताएको समय सम्झिँदै आफ्नो कम्पनीको नाम एप्पल राख्‍ने निधो गरे।

ब्रेनन आफ्नो भारत भ्रमण सकेर फर्किएपछि जब्सको घरमा गइन् जहाँ जब्सका मातापिता पनि बस्थे। दुई जना बीच फेरि प्रेम अङ्कुरित भयो।

१९७७ मा वेस्ट कोस्ट कम्प्युटर मेलामा जब्स र उज्नियाकले एप्पल दुई प्रवेश गराए। यो एप्पल कम्युटरले बिक्री गरेको पहिलो उपभोक्ता-उत्पादन थियो र सफलतापूर्वक बृहत्-उत्पादन गरिने पहिलो माइक्रोकम्प्युटर थियो। यसको डिजाइन प्राथमिक रूपमा उज्नियाकले गरेका थिए। जब्सले एप्पल दुईको असाधारण खोलको विकास निरीक्षण गरे भने रड होल्टले विशिष्ट पावर सप्लाई बनाएका थिए।

जब्स आफ्नो कम्पनीमा सफल हुँदै जाँदा ब्रेननसँगको उनको सम्बन्ध भने झन जटिल हुँदै गयो। १९७७ मा एप्पलको सफलता उनीहरूको सम्बन्धको एउटा अङ्ग बन्यो। ब्रेनन, डानियल र जब्स एप्पल कार्यालय छेउको घरमा सरे। ब्रेननले एप्पलको ढुवानी विभाग सम्हालिन्। एप्पलमा जब्सको स्थित सुदृढ हुँदै जाँदा ब्रेननसँगको सम्बन्ध भने बिग्रिँदै गयो र उनले सम्बन्ध अन्त्य गर्ने निधो गरिन्। यसै उतारचढाव बीच ब्रेनन गर्भवती बनिन् र पेटमा जब्सको बच्चा आयो। ब्रेननले यो कुरा सुनाउँदा जब्सले मुख नराम्रो पारेको कुरा ब्रेननले भनेकी थिइन्।गर्भावस्थाको तेस्रो महिनामा हुँदा ब्रेनननको मनस्थिति दोधारे थियो। जब्स भने केही कुरै गर्दैनथे। यसै अलमलबीच उनले यो कुरा कोबुनसँग छलफल गरिन् जसले उनलाई गर्भपतन नगराउन सल्लाह दिइन्। होल्टले एप्पलको एउटा विभागमा उनलाई इन्टर्नसिप गर्ने प्रस्ताव गरेका थिए र उनको निर्णय पर्खिरहेका थिए।

ब्रेननले सो प्रस्ताव अस्वीकार गरी एप्पल छोड्ने निर्णय गरिन्। जब्सले भनेका थिए, “यदि यो बच्चा धर्मपुत्र ग्रहणका लागि दियौ भने तिमीले दुःखी हुनुपर्नेछ। म कहिल्यै तिम्रो सहयोग गर्नेछैन।” एक्लै भएपछि ब्रेननले पैसा कमाउनका लागि वेलफेयर र घर सफा गर्ने काममा भर पर्नु पऱ्यो। कहिलेकाहीँ उनी जब्ससँग पैसा माग्थिन् तर जब्स कहिल्यै दिँदैनथे। ब्रेननले आफ्नो गर्भावस्था सकुन्जेल लुकाइन्। ब्रेननले भने अनुसार जब्सले त्यसबेला आफू नपुंसक भएको र ब्रेननको पेटमा भएको बच्चा आफ्नो नभएको हल्ला चलाउन थालेका थिए। बच्चा जन्माउन केही दिन बाँकी रहँदा ब्रेननलाई अल वान फार्ममा बच्चा जन्माउने प्रस्ताव गरियो र उनले स्वीकार गरिन् पनि। मे १७, १९७८ का दिन ब्रेननकी छोरी लिसा ब्रेननको जन्म भयो।

जब्सले पितृत्व अस्वीकार गरेपछि डिएनए परीक्षण गरियो र जब्सलाई लिसाको पिता स्थापित गरियो। जब्सले ब्रेननलाई महिनाको ३८५ डलर तिर्नु पर्ने भयो र उनले वेलफेयरबाट लिएको सबै पैसा फिर्ता गर्नुपर्ने भयो। एप्पल सार्वजानिक भएर जब्स मिलियनेयर भएपछि उनले ब्रेननलाई ५०० डलर प्रतिमहिना दिए। पछि एउटा कम्युटर मोडलको नाम एप्पल लिसा राखियो र यो पक्कै जब्सले आफ्नी छोरीको नाममा राखेका थिए।

१९७८ मा जब्स २३ वर्षको हुँदा १ मिलियन डलरका मालिक भैसकेका थिए। उनी २५ वर्षको हुँदासम्म यो २५० मिलियन डलरभन्दा बढी भैसकेको थियो।

१९७८ मा एप्पलले नेसनल सेमिकन्डक्टरका माइक स्कटलाई सिइओका रूपमा भित्र्यायो। पछि जब्सले पेप्सीकोलाका जोन स्कलीलाई एप्पलको सिइओ हुनका लागि फकाए, “जिन्दगीभरि चिनी पानी बेच्छौ कि, संसार बदल्ने मौका हातमा लिन्छौ ?”

एप्पलले १९८४ मा म्याकिन्टोस सुरु गऱ्यो जुन एप्पल लिसामा आधारित थियो। फ्यानफेयरमा स्वीकृत गरिएर र राम्ररी बजारीकरण गरिएता पनि महङ्गो म्याकिन्टोस बेच्‍न गाह्रो भयो। त्यसै ताका माइक्रोसफ्ट सफ्टवेयरमा चल्ने सस्ता आइबिएम पर्सनल कम्प्युटरहरू निस्किन थालिसकेका थिए। अस्सीको दशकको अन्त्यतिर विन्डोजको इन्टरफेस राम्रो हुँदै गयो बजारमा म्याकिन्टोसको भाग पनि खोस्तै गयो।

उता स्कली र जब्सबीचमा पनि कम्पनीको भविष्य र उद्देश्यलाई लिएर मतभेद बढ्न थाल्यो। १९८५ को वार्षिक बैठक पछि धेरैले एप्पल छोडे र त्यसमा उज्नियाक पनि एक थिए। उनले आफू गत पाँच वर्षमा गलत दिशातर्फ हिँडिरहेको कुरा गरे र आफ्ना धेरैजसो स्टक बेचे।

मे १९८५ मा आर्थर रकद्वारा प्रोत्साहित भएर स्कलीले जब्सलाई म्याकिन्टोस समूहबाट हटाउने र “न्यु प्रोडक्ट डेभलपमेन्ट”को इन्चार्ज बनाउने प्रस्ताव अघि सारे। यसले जब्सलाई एप्पलभित्र शक्तिहीन बनाउँथ्यो। यसको प्रतिक्रियास्वरूप जब्सले स्कलीलाई निकालेर एप्पल कब्जा गर्ने योजना बनाए। यद्यपि, उनको योजना चुहावट भएपछि, जब्सले एप्पल छोड्न चाहे। बोर्डले उनको राजीनामा स्वीकार नगरी पुनर्विचार गर्नका लागि भन्यो। अन्त्यमा सेप्टेम्बर १७, १९८५ का दिन एप्पल बोर्डमा राजीनामा दिए र उनीसँगै वरिष्ठ पाँच जना अधिकारीहरूले पनि राजीनामा दिए।

नेक्स्ट कम्प्युटर (NeXT Computer)

एप्पलबाट राजीनामा दिएपछि जब्सले ७ मिलियन डलरले नेक्स्ट आइएनसि. खोले। एक वर्षपछि रकम रित्तिँदै गयो र उनले लगानीकर्ताहरू खोज्‍न थाले। त्यसै ताका बिलियनेयर रोस पेरोलाई भेटे जसले सो कम्पनीमा ठूलो लगानी गरे। नेक्स्ट कम्प्युटरले गति लिँदै गयो र पछि कम्प्युटर साइन्टिस्ट टिम बर्नर्स लीले स्विट्जरल्यान्डको सर्न(CERN) मा वर्ल्डवाइडवेब(www) आविष्कार गरे। यो आजको इन्टरनेटको सुरुवात थियो।

परिवार

लिसा ठूली हुँदै गर्दा जब्स छोरी लिसा नजिक हुँदै गए र पछि लिसाले आफ्नो नाम लिसा ब्रनेन बाट लिसा ब्रनेन-जब्स राखिन्। ब्रेननले भने अनुसार जब्सले ब्रेननप्रति पहिले गरेको आफ्नो पहिलेको व्यवहार प्रति दुःखी भएर माफी समेत मागेका थिए।

१९८९ मा जब्सको भेट लरेन पावेलसँग भयो र उनी जब्सकी पत्नी भइन्। उनको र पावेलको भेट स्टानफोर्ड ग्राजुएट स्कुल अफ बिजिनेसमा प्रवचन दिँदा भएको थियो जहाँ पावेल विद्यार्थी थिइन्। यो भेटदेखि, केही साना अपवादलाई छाडेर जब्स र पावेल जीवनपर्यन्त सँगै बसे। सेप्टेम्बर १९९१ मा जब्स र पावेलको पहिलो बच्चा रिडको जन्म भयो। जब्सका पिता पलको मृत्यु त्यसको एक वर्षपछि भयो। जब्स र पावेलका अरू दुईवटा सन्तानहरू भए – एरिन र इभ।

एप्पलमा फिर्ती

१९९६ मा एप्पलले ४२७ मिलियन डलरमा नेक्स्ट किन्ने घोषणा गऱ्यो। १९९७ मा सम्झौतामा हस्ताक्षर भयो र स्टिभ जब्स आफू सह-संस्थापक भएको कम्पनीमा फर्किए। १९९७ मा सिइओ गिल एमेलियोलाई निकालेपछि आफू प्रमुख बने। जब्सले न्युटन, साइबरडग जस्ता केही प्रोजेक्टहरूको अन्त्य गरे र त्यसपछि जब्सकै निर्देशनमा कम्पनीले म्याक अपरेटिङ सिस्टम विकसित गऱ्यो। विकास र वृद्धिको सिलसिला आइम्याक, आइपोड, आइप्याड, आइफोनको विकास सँगै अघि बढ्यो। जुन २००७ मा एप्पलले आइफोन सुरु गऱ्यो जुन मल्टिटच डिस्प्ले सेल फोन थियो।

स्वास्थ्यमा समस्या

अक्टोबर २००३ मा जब्सलाई क्यान्सर लागेको पत्तो लाग्यो। निदान हुँदाहुँदै पनि चिकित्सा सुरु गर्ने डाक्टरको आदेश उनले नौ महिनासम्म मानेनन् र रोग भगाउनका लागि वैकल्पिक उपचारतिर लागे। उनलाई विरल किसिमको प्यानक्रियाजको क्यान्सर भएको थियो। उनको जीवनी लेखक वाल्टर आइज्याकसनका अनुसार, नौ महिनासम्म डाक्टरले अपरेसनका लागि गरेको आग्रह नमान्दा उनले पछुताउनुपऱ्यो। उनको स्वास्थ्य बिग्रिँदै गर्दा आफूले डाक्टरले भनेको नमानेर ठूलो गलती गरेको महसुस उनलाई भएको थियो। जुलाई २००४ मा उनको अपरेसन भयो र ट्युमर निकालियो। उनलाई केमोथेरापी वा रेडिएसन थेरापी दिइएन।

उनको स्वास्थ्य भने विस्तारै बिग्रिँदै गयो। उनको अनुपस्थितिमा एप्पलमा अरूले उनको काम सम्हालिरहे।

पछि अप्रिल २००९ मा टिम कूकले दिएको कलेजो को अंश जब्सले लिए। अर्थात् उनीमाथि कलेजो प्रत्यारोपण गरियो।

जनवरी १७, २०११ मा कलेजो प्रत्यारोपणपछि काममा फर्किएको डेढ वर्षपछि एप्पलले उनको विदा स्वीकृत गरिएको घोषणा गऱ्यो। यो विदा उनले आफ्नो स्वास्थ्यमा ध्यान दिऊन् भनेर दिइएको थियो। तर उनले काम गर्न सकेनन् र अगस्ट २४, २०११ मा एप्पलको सिइओको पदबाट राजीनामा दिए। राजीनामा दिएपछि उनी बोर्डको अध्यक्ष बने र टिम कूकलाई सिइयो बनाइयो।

मृत्यु

स्टिभ जब्सको मृत्यु पालो अल्टो क्यालिफोर्नियाँको उनको घरमा अक्टोबर ५, २०११ का दिन दिउसो करिब ३ बजे भएको थियो। उनको पहिलेको क्यान्सर नै फैलिएर उनको मृत्युको कारक बनेको थियो।

क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले अक्टोबर १६, २०११ लाई “स्टिभ जब्स दिवस” घोषणा गरे। त्यस दिन स्टानफोर्ड विश्वविद्यालय परिसरमा श्रद्धाञ्जली सभाको आयोजना गरियो जसमा आमन्त्रितहरूमात्र उपस्थित थिए। आमन्त्रितहरूमा एप्पल र अन्य प्रविधि कम्पनीका कार्यकारीहरू, मेडियाका सदस्यहरू, सेलेब्रिटीहरू, जब्सका नजिकका साथीहरू, राजनीतिज्ञहरू र जब्सका परिवार थिए। जब्सका तर्फबाट सबै आमन्त्रित सदस्यहरूलाई “विदाईको उपहार” भएको एउटा सानो बाकस दिइयो। त्यस बाकसमा परमहंस योगानन्दको पुस्तक ‘अटोबायोग्राफी अफ अ योगी’ थियो।

स्टिभ जब्सको सनक र सपना साकार पार्ने त्यो अथक परिश्रमले नै आज हामी आइफोन, म्याकबुक, आइप्याड जस्ता उपकरणहरू चलाउन पाइरहेका छौँ।

स्टिभ जब्सका केही भनाइहरू

  • “म ब्रह्माण्डमा एउटा चिन्ह(डेन्ट) लगाउन चाहन्छु।”
  • “कहिलेकाहीँ जीवनले तपाईँलाई टाउकामा इँटाले हिर्काउँछ। आस्था नत्याग्‍नुहोस्।”
  • “सबैभन्दा धनी भएर चिहानमा जानुको कुनै अर्थ मेरा लागि छैन। राति सुत्‍न जाँदा, हामीले केही चमत्कारिक काम गऱ्यौँ भन्ने कुरा मेरा लागि महत्त्वपूर्ण छ।”
  • “जिन्दगीमा मेरा सबैभन्दा प्रिय वस्तुका लागि पैसा खर्च गर्नु पर्दैन। त्यसैले हाम्रो सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति भनेको समय हो।”
  • “आस्था प्रविधिमा होइन, आस्था मानिसहरूमा हो।”
  • “डिजाइन भनेको कस्तो देखिन्छ वा कस्तो अनुभव हुन्छ मात्र होइन। डिजाइन कस्तो काम गर्छ भन्ने हो।”
  • “हाम्रो लक्ष्य भनेको विश्वमै उत्कृष्ठ उपकरण बनाउनु हो। विश्वमै ठूलो हुनु होइन।”