कथा : फस्ट लभर « Himal Post | Online News Revolution
Logo

कथा : फस्ट लभर



म धेरै दिनदेखि भाइरल ज्वरोको वानसाइडेड अफेयरमा थिए।यद्यपि म भाइरल ज्वरोसङ्गको सम्बन्ध टुटाउन अनेक थरी उपाय अपनाउदै थिए।ज्वारोले भने सम्बन्ध प्रगाढ बनाउन बलियो खम्बा गाड्ने प्रयास गर्दैथियो।ज्वरो सेन्चुरीको दुरीभन्दा अघि बढिसकेको थियो सायद!ज्यान नै निष्क्रिय बन्दै गएको थियो।केही दिनयता न फेसबुकमा चाहेजस्तो पोस्ट गर्न सके न जुलीसङ्ग कुरा गर्न नै।उनीसङ्गको प्रेम पनि एसएमएसकै भरमा चल्दै थियो।शरीरभरि ताप थियो फेरि ज्यान भने कामिरहेको थियो।त्यति नै बेला मेरो ज्यानजस्तै मोबाइल थरथर गरेर काम्न थाल्यो।

मैले बडो मुस्किलले मोबाइलतिर नजर पुर्याए।उसैले म्यासेज पठाएकी थिइन।

‘कस्तो छ अहिले हजुरलाई?’
‘बेहाल छु,तिमी साथमा जो छैनौ?’
सायद उसको मायामा भिटामिन,प्रोटिन,कार्बोहाइड्रेड सबै मिसिएको थियो,त्यसैले त बिरामी नै भए पनि जिस्किने तागत पाए मैले।

‘सधैको लागि आउने मन कहाँ नभएको हो र,आफूले कहिल्यै आट्न सक्ने होइन’ यतिखेर अँखामा दुइटा पानको धब्बा भएको इमोजीसहित उताबाट रिप्लाई आयो।

भाइरल ज्वारोले भन्दापनि उसको यो कुराले म पसिनै पसिना भए।मानौ उसले तिखो बाण मेरो मुटुलाई निशान बनाएर छाडिन।
उनी जहिल्यै यस्तै कुरा गरिरहन्छिन तर म आफ्नो शिरमा बेरोजगारको पगरी गुठाएर जहिल्यै पन्छिरहन्छु।आजसम्म पनि न ममा उसको हात माग्न जाने हैसियत छ,न उसलाई भगाएर लाने हिम्मत नै।म उसको यस्तो प्रश्नमा आफू मौन भएर बस्नु नै उचित सम्झिन्थे र सम्झिन्छु।
‘हजुर रिसाउनुभाको?खुरुक्क मेडिकल गएर औषधि गर्नुस त।हजुर दुखी हुनुभयो भने म पनि त दुखी हुन्छु नि।गेट बेल सुन,टेक केयर ल’ उसले तेस्रोपटक ब्लेसिङको सिम्बोल भएको इमोजी सहित रिप्लाई फर्काइन।

दुइटा मुटु एउटै भएपछि,एउटै ज्यान दुइटैको भएपछि एकलाई चोट लाग्दा अर्कोलाई दुख्दो रहेछ।सायद आफ्नो दुखहरु,पिडाहरु साट्नकै लागी त कसैले प्रेम अनि प्रेमीप्रेमिका भन्ने चिज बनाएको हुनुपर्छ!

फेरि प्रेम हुनलाई बर्षौदेखीको नाता जरुरी हुनुपर्छ भन्ने पनि छैन मात्र कसैको मन चिन्न सक्ने केहिपलको समय नै काफी हुन्छ।जुलीलाई मैले भेटेको धेरै समय भएको छैन तर हाम्रो मन सदियौ देखी परिचित थियो जस्तो लाग्छ।त्यसैले त हामी आज यति नजिक छौ।उ मलाई धेरै प्रेम गर्छे तर यसको मतलब यो होइन कि मेरो लागी मर्न सक्छे।उ त बाच्न चाहन्छिन मेरो लागी अनि म पनि बाच्न चाहन्छु उसको लागी।

उसको त्यो म्यासेजले मलाई सोच्न बाध्य पार्यो।उसको लागी भए पनि मैले मेडिकल जानुपर्ने भन्ने सोचे र मेडिकल गए। म जसोतसो मेडिकल पुग्न सके।मेडिकलमा आफ्नो ज्यान बिसाउन नभ्याउदै म झंक्रीत हुन पुगे।लाग्यो कसैले टमाटर जस्तो मेरो माष्तिष्कलाई आचार बनाउन पिसिरहेको छ।किनकि मेरोभन्दा अगाडिको लाइनमा सुस्मिता थिइन।

कलेज पढ्न सहर आएपछि नै सुस्मितालाई भेटेको थिए।एउटै कलेज,एउटै फ्याकल्टी अनि दुबैजना बस्ने कोठापनि मेहल्धाराको एउटै घरमा।हामी सङ्गै कलेज आउनेजाने गर्थ्यौ।बिस्तारै हामी धेरै नजिकिसकेका थियौ।यसरी कतिबेला उसको मनमा शरण लिन पुगे मैले पत्तै पाउन सकिन।

उसले पनि मलाई आफूलाई भन्दा बढी माया गर्छु भन्थी।हामीबिच सबै कुरा शेयर हुन्थ्यो।अब हाम्रो साझा लक्ष्य नै एकाअर्कालाई पाउने भैसकेको थियो।जब म बिरामी हुन्थे तब उसले नै मेरो ख्याल राख्थी।खाना पकाउने,भाडा माझ्ने,कपडा धुने,पानी तताएर औषधी खुवाउने सम्म मेरो सबै काम गर्थी।पछिपछि त उ म सङ्ग धेरै जिस्किन्थी अनि मलाई उत्तिकै माया पनि गर्थी।’ओहो!तपाइको त हातखुट्टाहरु पनि कति ठुलो के?’ उ मेरो हातमा आफ्नो हात दाजेर भन्थी।

‘हातखुट्टा मात्रै देखेकी छ्यौ ठुलो,अरू देखेकी छैनौ?’ म पनि जिस्किन्थे।खोइ उसले मेरा शब्दहरूलाई कसरी बुझ्थी।उ ठुस्स परेर बस्थी।
‘लाटी,मेरो मन पनि ठुलो छ नि,अझै देखेकी छैनौ र?’ म उसलाई फकाउथे।उ फकिएर मलाई आफ्नो आंगलोमा टास्थी। ‘त्यही मन हेरेर त हजुरलाई विश्वास गरेको छु नि।नत्र हजुरको यो कोदालोको पाता जत्रो दातले अरूलाई नै टोक्न के बेर?’ उ मेरो दात हेरेर भन्थी अनि आफै हास्थी।म पनि उनीसङ्गै हासिदिन्थे।

खासमा उसलाई मेरो लाइनमा बस्न नजानेका दातहरु एकदमै मनपर्छ भन्थी।मलाई पनि उसको चाउचाउजस्तो गुज्रिएको कपाल खुब मन पर्थो।सायद माया गर्नेहरूलाई आफ्नो मान्छेको हर चिज मन पर्दोरहेछ।नत्र मेरा कलेजका केटासाथीहरूले उसको कपालमाथी व्यंग्य गर्दा मेरो मन किन दुख्थ्यो होला ?

जे होस,सुस्मिता साच्चिकै मेरो पहिलो प्रेम थिई अनि म उसको।उसको प्रभावले म बिस्तारै बद्लिसकेको थिए।अब पहिलेको केशु र अहिलेको केशुमा आकाश जमिनको फरक आइसकेको थियो ,एक दिन उसले अप्त्यरिलो समाचार सुनाइन।म यति दुखी भए मानौ म आफ्नै मृत्युको समाचार सुन्दैछु।सत्यता यस्तो थियो,उसको परिवारले उसको बिहे अन्तै गरिदिने निर्णय गरेछन।उसले आफ्नो बुबाआमाको प्रेमलाई सम्झेर मेरो प्रेमबाट टाढा भाग्न खोजी।आफ्नो बुबाआमाको वचन खेर फल्न नसक्ने बताइन।

अनि मैले मेरो बुबाआमाको प्रेमलाई सम्झेर उसलाई टाढा भगाउन सकिन।मैले पनि त्यागलाई नै प्रेम सम्झे।जुन प्रेममा स्वार्थ हेरिन्छ,जति नै घनिष्ठ भए पनि त्यो प्रेम साचो हुन सक्दैन र टिक्दैन।हाम्रो प्रेम पनि झुटो थियो होला सायद तेसैले त धेरै समय टिक्न सकेन।सुस्मिताले त्यो घरबाट कोठा सारिन सङ्गसङ्गै मेरो मेरो मनको डेराबाट पनि।म फेरि एक्लै भए।मेरो मन रित्तो भयो।त्यसपछि उसलाई कहिल्यै भेट्ने हिम्मत गर्न सकिन र भेटिन पनि चाहिन।

आज अचानक मलाई देख्दा सुस्मिता पनि रनभुल्ल भएजस्तै देखे।।’खास के भयो हजुरलाई’ डाक्टरले प्रश्न गर्‍यो।’हेर्नुस न डाक्टर साप,बाइक एक्सिडेन्ट् भयो’ सायद जवाफ फर्काउनेवाला उसको श्रीमान् थियो।

‘अनि कसरी भयो त यो सब’ यति बेला डाक्टरको प्रश्न मैले पनि स्पष्टसङ्ग सुने।

‘गाउबाट आउँदै थिए,गाउको बाटो हिलो थियो।अनि त्यही हिलोमा चिप्लिएर लडे।’ उसको लोग्ने बोलिरह्यो।

सुस्मिताले पनि मेरो मनलाई हिलो बनाएर गएकी थिई।अनि म आफ्नै हिलो मनमा चिल्पिएर लडेको थिए।तर मैले आफ्नो दुखिरहेको घाउको मलम स्वरूप जुलीलाई त पाएको छु।चित्त बुझाउने कोसिस गरे।एकाएक अँखामा जुली नाच्न थाली।

मैले  एक्जामको बेला गार्डको अँखा छलेर चिट हेरेजस्तै उसलाई हेरिरहे।उसले भने मलाई हेर्न सकिनन,सायद लाजले होला या रिसले।म सोच्दै थिए ‘घृणाकै नजरले भए पनि उसले एक पटक मलाई हेरोस।’

‘अबदेखि जे गर्दा पनि आफ्नो केयर गर्नु।आफ्नो हेल्थभन्दा ठुलो कुरा अरू केही हुन सक्दैन’
यत्तिबेला सुस्मिता बोलिन।

‘मलाई भनेकी होली’ मनमनै सोचेर आत्तिए।उनी तिर पुलुक्क हेरे।उसको अँखाको डिल टम्म टम्म आशुले भरिएको देखे तर यी हातसङ्ग ती आशु पुछिदिने अधिकार नै कहाँ थियो र अब।अनुहारमा कुइरो छायो।यस पटक भने उसले म तिर नजर डुलाउदै आफ्नो श्रीमानलाई भनिरहिन’हजुरले कहिल्यै आफ्नो केयर गर्न सक्नुभएन है।अब देखि आफ्नो केयर राम्रोसङ्ग गर्नुस ल।”साच्चिकै उसले मलाइ नै भनेकी हुनुपर्छ।’ मनमनै सोचे।

कुनैबेला म बिरामी हुँदा म जीवनजल माग्थे,उनी आफ्नो जीवन नै दिन तयार हुन्थिन मलाई।अनि यसै गरी भन्थी
‘हजुरले अफ्नो केयर गर्न कहिल्यै सक्नुभएन है’उसको वाक्यसङ्गै मैले ज्वरो मेरो शरीरबाट ह्वात्तै घटेको महसुस गरे।उसको एकशब्दले आफू सन्चो भएको महसुस गरे।अनि अँखाबाट आशु को मूल फुटे।मेरो कम्जोर मांसपेशीबाट बनेको परेलीले आशुको वजन थाम्न सक्ने अवस्था पनि थिएन।

त्यसैले म बिना चेकअप मेडिकल बाट सन्चो भएर फर्के!बाटोभरि उनै सुस्मिताको यादले सताउन थाल्यो।त्यति नै बेला जुलीको म्यासेज आयो।म्यासेज हेर्नेबित्तिकै ओठमा केही थान मुस्कान आएर बसिसकेछ।जुन म्यासेजमा लेखिएको थियो ‘केशु,हजुरलाई छिटै सन्चो होस भनेर भागवनसङ्ग प्रार्थना गरिरहेकी छु।तपाईँलाई सधैँ माया गरिरहने सुस्मि’।

-केशु ‘असफल’ मगर