फुट्यो नयाँ शक्ति पार्टी ,आज घोषणा हुदै छ अर्को नयाँ शक्ति नेपाल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

फुट्यो नयाँ शक्ति पार्टी ,आज घोषणा हुदै छ अर्को नयाँ शक्ति नेपाल



भक्तपुर, चैत १६ गते । 

नयाँ शक्ति पार्टी नेपालबाट बाहिरएका नेताहरूले बुधवार भक्तपुरमा राष्ट्रिय भेला आयोजना गरी नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।  भेला आयोजक समितिका संयोजक निर्मल भट्टराईले भेलामा नयाँ शक्ति परित्याग गरेका ५२ जिल्लाका करिब सात सय नेता र कार्यकर्ता सहभागी हुने दाबी गर्नुभयो ।  पार्टीबाट बाहिरिएका नेताहरूले मङ्गलबार पत्रकार सम्मेलन गरी भेलाबाट नयाँ शक्ति नेपाल नामक पार्टीको घोषणा गर्ने जानकारी दिनुभयो ।

पार्टीबाट निष्कासनमा पर्नुभएका भट्टराईले नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मधेसी मोर्चाको एजेण्डा बोकेर उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँग पार्टी एकीकरण गर्न लागेकाले आफूहरूले नयाँ शक्ति नेपाल नामक पार्टी खोल्न लागेको बताउनुभयो ।  नयाँ शक्ति पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा पराजय हुने डरले निर्वाचनको विरोध गरी पार्टीलाई मधेसी मोर्चाको लाइनमा लगेको आरोप उहाँले लगाउनुभयो ।

डा. भट्टराईले मधेसी मोर्चाको एजेन्डा बोकेको, जातीय क्षेत्रीय राज्यलाई पहिलो प्राथमिकता दिँदै भारतसँग नझुकी नेपालमा केही गर्न नसक्ने जस्ता कार्यशैली देखाएकाले आफूहरूले नै पार्टी परित्याग गरेको दाबी उहाँले गर्नुभयो ।  आफूहरूलाई नयाँ शक्ति पार्टी नेपालले निष्कासन नगरी आफूहरू नै पार्टीबाट निस्केकोसमेत उहाँले स्पष्ट गर्नुभयो ।

उहाँले आगामी २०७४ वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आफूहरूले भाग लिने जानकारीसमेत गराउनुभयो ।
सो सम्मेलनमा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद्का सदस्यहरू सहदेव न्यौपाने, अशोक ढुंगेल, मुनिन्द्र बस्नेत र रामराज मङ्रातीले अब घोषणा हुने नयाँ शक्ति नेपाल नामक पार्टीले नेपाली जनताको भावना र आवश्यकताअनुसार अगाडि बढ्ने दाबी गर्नुभयो ।