जग्गाको व्यावसायिक प्रयोग गरी रुपन्देहीमा नमुना विद्यालय - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

जग्गाको व्यावसायिक प्रयोग गरी रुपन्देहीमा नमुना विद्यालय



तिलोत्तमा (रुपन्देही), चैत १२ गते ।

सरकारले प्रदान गरेको जग्गालाई व्यावसायिक प्रयोग गरेर यहाँका केही सामुदायिक विद्यालय नमुना विद्यालय बन्न सफल भएका छन् । बुटवलका कालिका मावि, कान्ति मावि, नवीन औद्योगिक कदरबहादुर मावि, शान्ति नमुना माविलगायत एक दर्जन विद्यालयले जग्गालाई व्यावसायिक प्रयोग गरेर आम्दानीको राम्रो स्रोत बनाएका छन् । जिल्ला शिक्षा कार्यालय रुपन्देहीका प्रमुख टेकबहादुर थापाले विद्यालयमा सरकारले प्रदान गरेको जग्गालाई पछिल्लो समय व्यावसायिक प्रयोग गरेर आम्दानीसँगै विद्यालयको गुणस्तरसमेत वृद्धि भएको बताउनुभयो ।

जिल्लाका एक दर्जनभन्दा धेरै विद्यालयका जग्गा विद्यालयका नाममा रहेको छ । सोमध्ये केही विद्यालयले भवन बनाएर बाँकी रहेको जग्गा भाडामा प्रदान गरेर आम्दानी गरेका छन् । केही विद्यालयले व्यावसायिक योजनासहित सटर निर्माण तथा जग्गालाई भाडामा लगाएका छन् ।

बुटवल–६ हाट बजारस्थित कान्ति विद्यालयको आयस्रोतका हकमा ३९ सटर हाट बजारलाइनमा स्थापना भएका छन् । त्यसबाट मासिक रु तीन लाख भाडाबाट विद्यालयले पाउने गरेको विद्यालयका प्राचार्य गोविन्द ज्ञवाली बताउनुभयो । उहाँले निजी स्रोतबाट शिक्षक राख्न धौ धौ भएका बेला सटरलाई व्यवस्थित गरेपछि तलब खुवाउन सहज भएको बताउनुभयो ।

विसं २०१० मा स्थापित कान्तिमा ८७ शिक्षक कर्मचारीमध्ये ३३ जना मात्र दरबन्दीमा छन् । सो विद्यालय विसं २०७१ को प्रवेश परीक्षामा पश्चिमाञ्चल क्षेत्रमा उत्कृष्ट देखाई प्रथम भएको थियो । त्यहाँ नर्सरीदेखि कक्षा १२ सम्म अङ्गे्रजी र नेपाली दुवै माध्यममा कक्षा सञ्चालन हुँदै आएको छ ।

यहाँ नाम चलेका सामुदायिक विद्यालयमध्ये कदरबहादुर माविले बुटवल– १३ देवीनगरमा भवन बनाएर भाडामा लगाउँदा मासिक रु एक लाख पाउने प्राचार्य प्रेमबहादुुर बस्नेतले बताउनुभयो ।

यस्तै कालिका माविले पनि सिद्धार्थ राजमार्गसँग जोडिएको कालिकानगरमा सटर भाडा लगाएर आम्दानीको मुख्य स्रोत बनाएको छ । विद्यालयका प्राचार्य घनश्याम पाठकले स्रोत वृद्धिसँगै विद्यालयले शैक्षिक गुणस्तरमा पनि निकै सफलता हासिल गरेको बताउनुभयो ।

तिलोत्तमा नगरपालिका, मणिग्रामस्थित शान्ति नमुना विद्यालयले ४० बिघा जग्गा भाडामा प्रदान गरी वार्षिक रु ५० लाख आम्दानी गरेको छ । विद्यालयका प्राचार्य कुलप्रसाद लामिछाने त्यसबाट शिक्षकको तलब तथा अन्य कार्यका लागि राम्रो सहयोग भएको बताउनुहुन्छ । रासस