गगन थापा भन्छन: बास्कोटाको नियतमै खोट छ, सबैलाई हेप्छन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गगन थापा भन्छन: बास्कोटाको नियतमै खोट छ, सबैलाई हेप्छन



काठमाडौँ– पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले सञ्चारमन्त्री गोकुल बास्कोटालाई खरो जवाफ दिएका छन् ।

बास्कोटाले विधेयकको बारेमा बोल्दै गगन थापालाई लक्षित गरेर अध्ययन नगरी बोलेको आरोप लगाईरहेका बेला थापाले उनलाई कसा जवाफ फर्काएका हुन् ।

थापाले सरकारले ल्याएको सूचना प्रविधि विधेयकको दफा–दफामा छलफल गर्न तयार रहेकाे बताउँदै बास्कोटाको नियतमै खोट भएको बताएका थिए ।

सरकारले ल्याएको सूचना प्रविधि विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले बिहीबार माइतिघर मण्डलामा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन्।

थापाले सञ्चारमन्त्री बास्कोटासँग विधेयककाे विषयमा छलफल गर्न आफू तयार रहेको बताए। ‘विधेयकमा छलफल कहाँ गर्ने? संसदमा गर्ने हो की माइतिघर मण्डलामा गर्ने हो?’, थापाले भने, ‘प्रत्येक दफा–दफामा, शब्द–शब्दमा छलफल गर्न तयार छौँ।’

केही दिनअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गगन थापाले विधेयक नपढेरै बोलेको आरोप लगाएको थिए। त्यसको जवाफमा थापाले भने, ‘नढिकन आएको होइन। पढेर बुझेर आएको हो। हेप्नी हामीलाई। नपढिकन आयो भन्ने? हामीले बुझेर आएको हो। पढेर आएको हो।’

सरकारले आफ्नाे विराेध गर्नेहरुलाई तह लगाउन विधेयक ल्याउन खाेजेकाे थापाकाे आराेप छ। उनले भने , ‘याद गर्नुहोला, श्री ६ बडामहारानी विद्या भण्डारीकी जय ! श्री ५ महाराजधिराज केपी ओलीकी जय ! श्री ३ महाराजधिराज प्रचण्ड की जय ! भन्ने मान्छे बाँच्यो, बाँकी मान्छे गयो’

प्रस्तावित सूचना प्रविधि विधेयक संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथककीकरणको सिद्धान्त र समग्रमा लोकतन्त्रको मर्म प्रतिकूल रहेको भन्दै नेविसंघले प्रदर्शन गरेके हाे।

विधेयकले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर दण्डित गर्ने व्यवस्था गरेको भन्दै विरोध भएको हो। विधेयकमार्फत सरकारले समाजिक सञ्जालमा पनि अंकुश लगाउन खोजेको भन्दै विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ।