भाबी प्रधानमन्त्री: कांग्रेसभित्र गगनको माहोल बन्दै, ठूला नेता चिप्लिने संकेत - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भाबी प्रधानमन्त्री: कांग्रेसभित्र गगनको माहोल बन्दै, ठूला नेता चिप्लिने संकेत



काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले चौतर्फी चेपुवामा परेका छन् । पार्टीभित्र नयाँ पुस्ता हाबी हुन थालेपछि उनी थप दबाबमा परेका हुन् । गठवन्धनकै सहारामा पुनः प्रधानमन्त्री बन्ने लयमा रहेका उनलाई उनकै महामन्त्रीले चुनौती दिएका छन् । त्यतिमात्रै होइन आफ्नै समूहमा रहेका महामन्त्री विश्वप्रकाश शर्माले समेत पार्टी नेतृत्व र प्रधानमन्त्रीका लागि अलग अभ्यास गर्न थालेपछि माहोल परिवर्तन भएको छ ।

संसदीय निर्वाचनको मिति समेत घोषणा नभएको अहिलेको अवस्थामा आगामी प्रधानमन्त्रीको वहस चर्किएको छ । भावी प्रधानमन्त्रीको छोनोफानो चुनाव पछि आउने मत परिणामले देखाए पनि नयाँ पुस्ताले यसबारे बहस चर्काएका छन् ।

युवा पुस्ताले बहस चर्काए पनि प्रधानमन्त्रीको रहर चाहीँ ठूला नेताहरुमा पलाइसकेको छ । साम, दाम डण्ड, भेद प्रयोग गरेर भएपनि अबको सत्ता आफ्नो हातमा लिन देउवा, ओली र प्रचण्ड तम्सिएका छन् ।

जबकी निर्वाचनको मिति समेत घोषणा नहुँदै छिचोलिएको यो बहसलाई स्वतन्त्र रूपमा आएका युवाहरूले झनै बल प्रदान गरेका छन् ।

एमाले अध्यक्ष ओली पनि पुन मुल ढोकाबाट पसेर देशको वागडोर सम्हाल्ने सपना देखिरहदाँ माओवादी अध्यक्ष प्रचण्डको पनि प्रधानमनत्री बन्ने आकंक्षा बढ्दै गएको छ ।

शान्तीपूर्ण राजनीतीमा आएको रापतापकै वेला प्रधानमन्त्री भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्ड पछिल्लो समय केवल सत्ता परिवर्तनको सहायक नायकका रुपमै सिमित छन । तत्कालीन प्रधानसेनापती रुक्माङ्गत कटुवालका कारण ९ महिना मै सत्ताबाहिर पुगेका उनी त्यसपछि अरुका लागि सत्ता उक्लने भर्याङ मात्र बनिरहेका छन ।

कहिले कांग्रेस कहिले एमालेलाई प्रधानमन्त्री बनाउने साधन बनेका उनलाई अहिले आएर पुन सत्ताको वागडोर सम्हाल्ने रहर जागेको छ । एकातर्फ कांग्रेस सभापती शेरबहादुर देउवाले आगामी सत्तारोहणको अहिल्यै सुनिश्चितता खोजिरहँदा अर्कातर्फ प्रचण्डका रहरका अभिव्यक्तीले गठबन्धनमै खटपट हुनसक्ने देखिएको छ ।

गत निर्वाचनमा मत बटुल्नका लागि निर्वाचनमा आफू प्रधानमन्त्री हुने घोषणा गरेर सोहि अनुसार अघि बढेका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पनि मुल ढोकाबाटै सरकारमा जाने तयारीमा छन् ।सात पटक प्रधानमन्त्री बन्ने भविष्यवाणीमा हिडेका देउवा यसका स्वभाविक उम्मेद्धार हुन् । तर यो दौड्मा कांग्रेसकै गगन थापा र शेखर कोईराला पनि दाबीको तयारीमा छन् ।

राजनीतिमा कहिले पुस्तान्तरण हुन्छ, परिवर्तन कहिले देखिने भोगिनेगरी हुन्छ भन्ने जिज्ञासामा महामन्त्री गगन थापाले आगामी प्रधानमन्त्रीका रुपमा आफूलाई नै ‘एक्स्पोज’ गरेपछि सुरु भएको चर्चाले कांग्रेसकै पदाधिकारीहरु पनि बहसमा तानिएका छन् ।

वहसकै क्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन जनाउँदै भोलिका दिनमा प्रस्तावक नै बन्नसक्ने उदघोष गरेपछि के आगामी निर्वाचनमा कांग्रेसले गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दैछ भन्ने प्रश्न उठेको छ । पार्टीभित्रै पनि युवाको उपस्थिती जवरजस्त बनिरहेका वेला यो स्वभाविक भएको अन्य नेताहरुले समेत बताउन थालेका छन् ।

कांग्रेसकै केही नेताहरूले वर्तमान नेतृत्वको यथास्थितिवादी शैलीले नागरिकका आशा मर्दै गएको अवस्थामा दोश्रो तहका नेताहरुको दाबी स्वाभाविक हुने बताउँछन् ।

पछिल्लो समय राजनितिमा युवाहरूको चासो दिएका कारण पनि नयाँ पुस्तामा नेतृत्व दिन पार्टीहरूलाई दबाब परेको छ । पार्टीमा मात्र नभएर देशकै नेतृत्वमा पुस्तान्तरण नभए राजनितिमा नयाँ अनुहारले बाजि मार्ने अवस्था देखिएको छ ।

प्रधानमन्त्री भन्नासाथ पुराना नेताहरूलाई जनताले नपत्याउने अवस्था बनेको छ । समाज बदलिँदै गए पनि समाजको गतिअनुसार पार्टीहरूको नेतृत्व परिवर्तन हुन नसकेको कारण सोचमा भने परिवर्तन आउन सकेको छैन ।

तर पनि कांग्रेसमा गगन थापाको माहोल बन्दै गएको नेताहरू स्विकार्ने गरेका छन् । यदि निर्वाचन अगाडि नै गगनलाई भाबी प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिएको खन्डमा कांग्रेसको भव्य माहोल बन्ने नेताहरू बताउँछन् ।