गगन थापा भन्छन्- ८४ को निर्वाचनमा कांग्रेसले अरू दललाई भोट हाल्नु पर्दैन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गगन थापा भन्छन्- ८४ को निर्वाचनमा कांग्रेसले अरू दललाई भोट हाल्नु पर्दैन



काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ०८४ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने बताएका छन्।

पार्टीको क्षेत्रीय समितिले शनिबार भैरहवामा आयोजना गरेको अन्तर्क्रियामा महामन्त्री थापाले यस्तो बताएका हुन्।

‘अब कांग्रेसले २०८४ सालको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने हिम्मत गर्नुपर्दछ’ उनले भने–‘हामीले त्यसका लागि आजैदेखि तयारी गरेर अगाडि बढ्नुपर्नेछ।’

उनले नेपाली कांग्रेसलाई अरुसँग गठबन्धन गरेर चुनाव लड्नुपर्ने अवस्था कहिले पनि नभएको समेत बताए। तर, परिस्थितिले कहिलेकाहीँ त्यो बाध्यता आईलागेको भए पनि अब कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्नेमा उनको जोड थियो।

‘म आजै घोषणा गर्दछु की २०८४ सालमा जतिवटा मोर्चा बने पनि कांग्रेस एक्लै चुनाव लड्नुपर्छ’ थापाले भने, ‘यति धेरै पार्टी सदस्य भएको पार्टीले एक्लै चुनाव लड्ने हिम्मत नगर्ने हो भने पार्टी माथि जाँदैन।’

उनले कांग्रेसमा ८ लाख पार्टी सदस्य भएको र ३ सय स्थानीय सरकारको नेतृत्व गरिरहेको भन्दै यति ठूलो पार्टीले अर्को चुनावमा अन्य पार्टीलाई मत हाल्ने अवस्था आउन नदिन सबैलाई आग्रह गरे। तत्कालीन नेकपा विभाजन र संसद् विघटनले गठबन्धनको संस्कृति निर्माण गरेको उनको भनाइ थियो।

महामन्त्री थापाले केही दिनमा वर्तमान सरकारले मन्त्रीमण्डललाई पूर्णता दिनेसमेत बताए। पार्टीको बैठकभन्दा ३ गुना धेरै गठबन्धनको बैठकमा बस्नुपरेको कारण जनताको असन्तुष्टिलाई सम्बोधन हुने गरी सरकारले काम गर्न नसकेको पनि उनले बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई बोलाएर अर्थमन्त्री बन्न प्रस्ताव गरेको कुरामा सत्यता नरहेको भन्दै उनले आफ्नो प्राथमिकता अहिले कांग्रेसलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने मात्रै रहेको बताए ।