इन्द्र बानियाँले जित्दा गगन थापालाई ठूलो धक्का - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

इन्द्र बानियाँले जित्दा गगन थापालाई ठूलो धक्का



मकवानपुर- नेपाली कांग्रेस वाग्मती प्रदेश सभापतिमा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएपछि कांग्रेसका प्रभावशाली नेता गगन थापालाई धक्का लागेको छ । देउवा समूहका बानियाँले सभापति जितेपछि संस्थापनइतर समूह तनावमा परेको छ ।

भर्खरै मात्रै कांग्रेसमा बनेको प्रकाशमान सिंह र गगन थापा समूहले यो क्षेत्रलाई टार्गेट गरेर प्रभाव जमाउन खोजेका थिए । यी दुईको समूह मात्रै होइन वाग्मती प्रदेशलाई संस्थापन इतर समूहको भोट बैंकको रुपमा नाम्दै आएको छ । बानियाँले यस्तो क्षेत्रबाट राम्रो मतान्तरले जित्नु संस्थापनइतर समूहको लागि खतराको घन्टी मानिएको छ ।

यस्तो कठिन अवस्थामा पनि बानियाँले संस्थापन इतरका उम्मेदवार संस्थापन इतरका जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मतअन्तरले पराजित गर्दै कांग्रेस भावी सभापतिमा पुन: शेरबहादुर देउवा नै बलियो हो भन्ने सन्देश दिएका छन् । यसै प्रदेशबाट कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका प्रकाशमान सिंह र महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको युवा नेता गगनकुमार थापा हेटौंडामै डेरा जमाएर बानियाँको विपक्षमा मत मागिरहेका थिए ।

उनीहरुले हरेक गुटको भेलामा बानियाँको विरुद्धमा मत माग्दै सवल र सक्षम नेतृत्व चयन गर्न जरुरी रहेको औंल्याइरहेका थिए । बानियाँको विजयले ‘पार्टी शुद्धीकरण र प्रधानमन्त्री देउवा’विरुद्ध लामो समयदेखि अभियान सञ्चालन गरिरहेका सिंह र थापालाई सबैभन्दा बढी अप्ठेरोमा पारेको छ । संस्थापन इतरका केसीलाई १ सय ५८ मतअन्तरले पराजित गर्दै वाग्मती प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँ दोस्रो पटकमा प्रदेश सभापतिमा निर्वाचित भएका थिए ।

शनिबार भएको पहिलो चरणको निर्वाचनमा ४८ प्रतिशत मत प्राप्त गरे पनि कांग्रेसको विधान अनुसार ५० प्रतिशत मत कटाउनुपर्ने भएपछि आइतबार पुन: मतदान भएको थियो । पहिलो चरणमै बानियाँ बलियो देखिएपछि सिंह बिहानै हेलिकप्टरबाट हेटौंडा आएर गुटको बैठक सञ्चालन गरेका संस्थापन पक्षको आरोप लगाएका छन् ।

दोस्रो चरणको मतदानमा बानियाँले १ हजार ८५ मत प्राप्त गरेका थिए भने केसीले ९ सय २७ मत प्राप्त गरे । कुल २ हजार २५ मत खसेकोमा १३ मत बदर भएको थियो । कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाको विश्वास पात्र बानियाँलाई दोस्रो चरणको मतदानमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षधरका भीमसेन दास प्रधानले समर्थन गरेका थिए । प्रधान पहिलो चरणको मतदानमा तेस्रो स्थानमा रहँदै दोस्रो चरणको निर्वाचन प्रक्रियाबाट बाहिरिएका थिए । बानियाँ कांग्रेस मकवानपुरका सभापतिसमेत हुन् ।

पहिलो चरणको मतदानमा बानियाँले ९ सय ९२ मत ल्याएका थिए भने दोस्रो हुने केसीले ८ सय ७२ मत ल्याएका थिए । पहिलो चरणमा प्रधानले १ सय ९७ मत ल्याएका थिए । पहिलो चरणमा कुल २१ सय ५१ मतमध्ये २०८३ मत खसेको थियो ।

सभापतिमा निर्वाचित भएसँगै बानियाँले वाग्मती प्रदेशमा कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गर्न आगमी निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।