संसदभित्रै गगन थापामाथि महेश बस्नेतको काउन्टर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

संसदभित्रै गगन थापामाथि महेश बस्नेतको काउन्टर



काठमाडौँ– नेकपा एमालेका सांसद महेश बस्नेतले नेपाली कांग्रेसका सांसद गगन थापालाई कडा जवाफ फर्काएका छन् । एमाले सांसद महेश बस्नेतले थापालाई जवाफ दिँदै ओली सरकारले विकास निर्माणमा अभूतपूर्व काम गरेको दाबी गरे।

उनले २०७४ सालको चुनावमा एमालेलाई जनताले बहुमत दिएको र कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जितेर समानुपातिकबाट ६३ सिट ल्याएको उल्लेख गर्दै भने, ‘प्रधानमन्त्रीलाई चुनौती दिएर बालहठ गर्ने कांग्रेसका साथीहरुलाई म के भन्न चाहन्छु भने यो बोकाको शैलीले दाई गरिँदैन दाई गर्नका लागि गोरुकै शैली चाहिन्छ । अहिले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेले प्रतिनिधित्व गर्छ । प्रधानमन्त्रीले ल्याएका योजनाहरुलाई सके सहयोग गरौँ नसके वस्तुनिष्ठ ढंगले विश्लेषण गरौँ ।’

सांसद बस्नेतले विगतमा जाँचिएका असफल भएका नेताका चेलाहरूले संसदलाई प्रभावकारी ढंगले चल्न नदिएको आरोप समेत लगाए ।

उनले ओली नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कामय गर्न सफल भएको दाबी गरे। उनले सदनमै बहस गर्न प्रधानन्त्रीलाई चुनौती दिने थापालाई आफ्नो पार्टीको उपस्थित ख्याल गर्न सुझाए।

बस्नेतले भने, ‘सदनमा प्रधानमन्त्रीको अनुपस्थित भयो? बहस गर्ने ठाडो ठाडो कुरा यहाँ आयो। ६३ जना सांसद लिएर सदनबाट सरकार फेरिँदैन। आफ्नो उपस्थितिलाई ध्यान दिऔँ।’

बस्नेतले ओलीका कारण राजनीतिप्रति घृणा गर्ने युवापुस्ता समेत राजनीतिप्रति आकर्षित हुदै गएको दाबी गरे। ‘नेपालको राजनीतिमा आइ हेट पोलिटिक्स भन्ने युवाहरु आइ लभ केपी ओली भनिरहेका छन्,’ बस्नेतले भने।

थापालाई चुनौती दिँदै उनले भने, ‘मेरो क्षेत्रमा सडक चाहिँदैन भन्ने सांसद कोही छ? सडक विस्तार भएको छ, धरहरा बनेको, रानीपोखरी बनेको, युवाहरुलाई ध्यान दिएर योजना अघि ल्याइएको छ। मेलम्ची आएको छ। यो गर्न नहुने काम थियो?’