कांग्रेसकै नेता भन्छन्- केही दिनमा गगन प्रधानमन्त्री बने आश्चर्य नमाने हुन्छ - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कांग्रेसकै नेता भन्छन्- केही दिनमा गगन प्रधानमन्त्री बने आश्चर्य नमाने हुन्छ



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सकेसम्म नयाँ गठबन्धन बनाएर सरकार परिवर्तन गर्न अन्य विकल्पको खोजीमा लागेका छन् । आफैले समर्थन जुटाएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएका ओलीले नयाँ समीकरण बनाउने प्रयासमा पार्टीका नेताहरूलाई परिचालन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई फालेर नयाँ प्रधानमन्त्री बनाउन विकल्प खोजिरहेका ओलीले केहीदिन अगाडी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव समेत गरेका थिए । हालको गठबन्धनमा रहेका कतिपय दललाई नयाँ गठबन्धनमा समेटेर सरकार फेर्ने रणनीति ओलीको छ ।

रविलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि राष्ट्रिय राजनीति नै तरंगित बनेको थियो । ओलीले रविलाई मात्र होइन नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई समेत प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खुलेको छ । पार्टी सभापति शेरबहादुर देउवाको पेलानमा परेको इतर समूहको नेतृत्व गरिरहेका महामन्त्री थापालाई ओलीले पार्टीमा बहुमत जुटाए एमालेले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने बताएका छन् ।

एमाले अध्यक्ष ओली र गगनबीच लगातार संवाद भैरहेको कांग्रेसका एक नेताले बताए । स्थानीय निर्वाचनपछि थापा र ओलीबीच राम्रो सम्वन्ध स्थापित भएको पनि ती नेताले बताए ।

पछिल्लो साता गगन थापा र ओलीबीच भेटवार्ता भएको समेत खुलेको छ । अध्यक्ष ओलीले बोलएपछि महामन्त्री थापा उनलाई भेट्न पुगेका थिए । भेटमा ओलीले मतदाताको मन फरिएको र अब नयाँ तरिकाले सोच्नुपर्ने बताएका थिए । उनले प्रचण्डबाट यो देशले पार नपाउने बताएका थिए । “अब युवाहरूले नेतृत्व लिनुपर्ने समय आयो, तपाईंहरूले हिम्मत गर्नुहोस्, सहयोग गर्न एमाले पनि तयार छ ।” ओलीको भनाई उद्घृत गर्दै ती नेताले भने ।

भेटमा ओलीले थापालाई पार्टीमा बहुमत जुटाए आफूले प्रधानमन्त्रीमा समर्थन गर्ने बताएका थिए । “यो समयमा देउवाजीसँग धेरै रुष्ट छन्, अहिले माहोल पनि त्यस्तै छ, पार्टीमा बहुमत जुटाउन लाग्नुहोस, प्रधानमन्त्रीमा हामी समर्थन गर्छौँ, रास्वपालाई पनि सँगै लिएर जना सकिन्छ” ओलीले भनेका थिए ।

गगनसंगको भेटपछि ओलीले अन्य दलका युवा नेताहरूलाई समेत भेटिरहेका छन् । उनले रविलाई पनि प्रधानमन्त्रीमा समर्थन गर्ने प्रस्ताव गरिसकेका छन् । एमालेका केही नेताहरू कांग्रेको इतर समूहको सम्वादमै रहेको समेत खुलेको छ । ’’कांग्रेसका नेताहरूको बुद्धि फेरियो भने गगन थापा केहि दिनमै प्रधानमन्त्री बनेको हेर्न पाउनुहुन्छ, आश्चर्य नमाने हुन्छ ।’’ गगननिकट एक नेताले हिमालपोस्टसँग भने ।

कांग्रेसमा बहुमत पुगेको खण्डमा दलको नेता चुनिएर प्रधानमन्त्री बन्ने योजनामा थापा छन् ।