गगन थापा प्रधानमन्त्री बन्दा प्रचण्डलाई 'कम्फर्टेबल' - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गगन थापा प्रधानमन्त्री बन्दा प्रचण्डलाई ‘कम्फर्टेबल’



काठमाण्डौ- नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले निर्णय गरेको खण्डमा गगन थापालाई प्रधानमन्त्री स्वीकार गर्ने बताएका छन् ।

प्रचण्डले प्रधानमन्त्री जो भए पनि नेकपा माओवादीले गठबन्धन नछोड्ने बताए । एक टेलिभिजन अन्तरवार्तामा दाहालले कस्लाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा पहिले निर्णय कांग्रेसले गरेमा आफूहरूलाई सजिलो हुने बताए ।

कांग्रेसमा गगन थापाले आफुलाई यसअघि नै प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिसकेका छन्। उनले नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री समेत थापाले आफुलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा जनतासँग भोट मागेर भारी मतले जितेका थिए ।

१६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म अधिकांश स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। अब नयाँ सरकार बनाउने कसरत सुरु भएको छ ।

नेपाली कांग्रेसले सबभन्दा बढी स्थानमा जित निकालेको छ भने नेकपा एमालेले दोस्रो पार्टी बन्ने भएको छ । एमाले दोस्रो बन्ने भएपछि तेस्रो दल माओवादी बन्ने पक्का छ ।

पछिल्लो आँकडा हेर्दा सत्ता गठबन्धनले सरकार गठनको लागि चाहिने स्पष्ट बहुमत पुर्याउने देखिन्छ । करिव करिव गठबन्धनभित्रबाटै सरकार बन्ने देखिएपछि प्रधानमन्त्री कसलाई बनाउने भन्ने रणनीतिमा दलहरू छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा जानेबारे छलफल गरिरहेको छ । तर रास्वपाले पुरानै नेताहरूको नेतृत्वमा सरकारमा नजाने बताएको छ ।

एक दुई दिनमै चुनावको अन्तिम परिणाम आउने देखिन्छ । त्यसपछि दलहरूले सरकार बनाउनेबारे कसरत गर्नेछन् ।

यस्तैमा माओवादीका अध्यक्षले गगन थापालाई प्रधानमन्त्रीको रूपमा स्वीकार गर्न सकिने अभिव्यक्ति दिएपछि माहोल बन्ने देखिन्छ ।