विवादित एसपीपीबारे किन बोल्दैनन् गगन थापा, के हो रहस्य ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

विवादित एसपीपीबारे किन बोल्दैनन् गगन थापा, के हो रहस्य ?



हालै अमेरिकी उच्च सैनिक कमाण्डरले नेपाल भ्रमण गरेपछि स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी चर्चामा छ । अमेरिकाले धेरै वर्ष अगाडी प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीले अहिले भने नेपालको राजनीतिक क्षेत्र तताएको छ । यसकै कारण सत्ता गठबन्धन नै धरमरमा आउने देखिएको छ ।

यहि विवादका कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणमा स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा तत्काल सम्झौता नहुने संकेत गरेका छन् । ७/८ वर्षदेखि नै चर्चामा रहेको यस विषयलाई देउवा आफ्नो अमेरिका भ्रमणको मुख्य एजेन्डा बनाएर सम्झौता गर्ने तयारीमा थिए । तर सत्ता सहयात्री वामपन्थी दलहरूबाटै चर्को विरोध भएपछि देउवा हच्केका छन् ।

प्रतिनिधिसभा बैठकमा मंगलबार परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी हिन्द–प्रशान्त रणनीतिको हिस्सा नभएको भन्दै सम्झौता हुन सक्ने संकेत गरेका थिए । संसद्मा खड्काले दिएको अभिव्यक्तिबाट सत्ता गठबन्धनभित्रै अविश्वास बढेपछि प्रधानमन्त्रीका तर्फबाट मन्त्रीहरूले बुधबार जवाफ दिने तयारी गरेको स्रोतको भनाइ छ । त्यसमाथि एसपीपीकै कारण एमाले र माओवादी नजिकिएको देउवाले छाल पाएपछि उनी हच्किएको बताइएको छ ।

एमसीसीपछि एसपीपीले चर्चा पाएपछि राजनीतिक वृत्त अहिले ध्रुवीकृत भएको छ । केहि बेताहरू भने यसमा मौन बसेका छन् । अमेरिकाको नजिक रहेका भनिएका कांग्रेस महामन्त्री गगन थापा पनि यस विषयमा बोल्न चाहेका छैनन् । केहि सञ्चारकर्मीले उनलाई यसबारे बोल्न आग्रह गर्दा अहिले बोले विवादमा परिने उनले बताउने गरेका छन् । संसदबाट एमसीसी अनुमोदन गर्ने बेला एमसीसीको चर्को वकालत गरेका गगन थापा एसपीपीमा भने रहस्यमय मौनता साँधेका छन् ।

आफूलाई चित्त नबुझेको वा बुझेको कुरामा संसद्मै विशेष समय मागेर कडा प्रतिक्रिया दिने गरेका गगन यस विषयमा मौन भएकोमा सामाजिक सञ्जालमा पनि चर्चा भएको छ । त्यतिमात्र होइन हरेक जसो विषयबस्तुमा उनले सामाजिक सञ्जालमा पनि प्रतिक्रिया दिने गरेका छन्, तर यासबारे भने उनी मौन छन् ।

अहिले एसपीपीबारे कडा विवाद भैरहेको छ तर चर्चित भनिएका कांग्रेस नेताहरूले यसलाई मौन समर्थन गरेको देखिन्छ । गगन थापालाई इंगित गर्दै सामाजिक सञ्जालमा अमेरिकी सेनालाई जोडेर समेत चर्चा भैरहेको छ ।