अब दलहरूले युवालाई नउठाए जनताले स्वतन्त्रलाई भोट हाल्छन: गगन थापा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अब दलहरूले युवालाई नउठाए जनताले स्वतन्त्रलाई भोट हाल्छन: गगन थापा



काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिमा आकांक्षा बोकेका युवाहरुलाई पार्टीले अवसर दिन नसक्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जनताले रोजेको बताएका छन् । उनले आगामी दिनमा पार्टीहरुले उम्मेदवार छान्ने तरिका र नयाँ मान्छेहरुलाई पार्टीमा लिएर आउने कुरामा उदार नभए जनताले नया व्यक्ति छान्ने बताएका छन् ।

उनले गठबन्धनमा रहेका दलहरुको मत कम आउनुमा दल स्वयम्को संगठन कमजोर हुनुको परिणाम भएको स्वीकार्नुपर्ने बताए । ‘८० प्रतिशत शक्ति भएको दललाई २० प्रतिशत मत सहयोग हुन सक्छ । तर, २० प्रतिशत शक्तिमात्रै भएको दलले ८० प्रतिशत मत अर्को दलबाट पाएर चुनाव जित्छु भन्नु उपयुक्त हुदैन,’ उनले भने ।

सत्ता गठबन्धन दलले कांग्रेसले भोट नहालेर चुनाव हार्‍यौँ भन्न नमिल्ने स्पष्ट पारेका छन् । उनले गठबन्धन दलबीच चुनावी तालमेल हुँदा कतिपय ठाउँमा एकले अर्कालाई मतदान नगरेको जस्तो देखिएपनि त्यो स्वभाविक भएको टिप्पणी गरे । महामन्त्री थापाले काठमाडौँ, ललितपुरसहित केही ठाउँमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले कांग्रेसले भोट हालेन भनेर गरेको गुनासोप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

शुक्रवार प्रतिनिधिसभाको बैठकको संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दे महामन्त्री थापाले कांग्रेसले आफ्ना मतदातालाई अर्को चुनाव चिन्हमा भोट हाल्न आग्रह गरेपनि सबै मतदाताले त्यसरी मतदान नगर्नु स्वभाविक भएको बताए ।

‘अहिले झट्ट हेर्दा कांग्रेसलाई गठबन्धनमा गर्दा खेरि अन्य पार्टीले भोट हालेको जस्तो, तर कांग्रेसले चाँहि अन्य पार्टीलाई भोट नहालेको जस्तो देखिएको छ, तर यो स्वभाविक हो,’ उनले भने, ‘मलाई लाग्छ यो त हुने नै थियो । किनकि हाम्रो मतदाता भनेको कम्युनिष्ट पार्टीको जस्तो कार्यकर्तामा आधारित होइन । गठबन्धन गर्दा जित्नका लागि आवश्यक मतलाई १०० प्रतिशत मान्ने हो भने हामीले गठबन्धन गरेका दलको शक्ति २० प्रतिशत भएको ठाउँमा हामीले ८० प्रतिशत खन्याइदिनुपर्ने हुन्छ, त्यसरी खन्याउन हामीले आग्रह गर्‍यौँ, तर हाम्रा मतदाताले हामीलाई मत हाल्न नपाएपछि स्वच्छिकरुपमा मत हालेको देखियो ।’

उनले कांग्रेसले आफ्ना मतदातालाई अर्को चुनाव चिन्हमा मत हाल्न लगाउने कुरा नै जटिल रहेको बताए । ‘कांग्रेसको मतदाताहरु अन्य पार्टीको जस्तो संगठित मतदाता होइनन् । कसैले धोका दिन्छ, र धोका दिन्नँ भन्ने कुरा होइन । मैले बुझेसम्म नेपाली कांग्रेसको पार्टी उम्मेदवार, पार्टी कार्यकर्ताहरु गठबन्धनमा इमान्दारीपूर्वक खटिएर लागेका थिए, आफुसँग तालमेलमा भएका दलहरुलाई पनि सँगै मत हालौँ भनेरै लागेका थिए,’ महामन्त्री थापाले भने, ‘जस्तो कि काठमाडौंमा म आफैँ काठमाडौंको मेयरमा रुख, उपमेयरमा कलम चिन्ह भनेर मत माग्दै हिडेको हुँ । तर, हामीले मतदातालाई आव्हान ग-यौँ । हाम्रो मतदाताले हामीले आदेश गर्ने, अनि उनीहरुले पालना गर्ने कुरा होइन ।’

महामन्त्री थापाले राजनीतिमा आकांक्षा बोकेका युवाहरुलाई पार्टीले अवसर दिन नसक्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले मत पाएको बताए । आगामी दिनमा पार्टीहरुले उम्मेदवार छान्ने तरिका र नयाँ मान्छेहरुलाई पार्टीमा लिएर आउने कुराहरुमा उदार भएमा पार्टीहरुका लागि यस्तो परिणाम नआउने उनको भनाइ छ । उनले प्राप्त मत परिणामबाट पार्टीहरुसँग काठमाडौं महानगरपालिकाका मतदाता सन्तुष्ट नभएको सन्देश आएको बताए ।