प्रधानमन्त्री बन्न गगन थापाको हस्तक्षेपकारी तयारी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रधानमन्त्री बन्न गगन थापाको हस्तक्षेपकारी तयारी



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्कमल दाहालबीच निर्वाचनपछि आलोपालो प्रधानमन्त्री हुने अनौपचारिक सहमतिबारे चर्चा भइरहेका बेला कांग्रेस महामन्त्री गगनकुमार थापाले आफूलाई मतदातामाझ भावी प्रधनमन्त्रीका रूपमा उभ्याएका छन् । उनले प्रधानमन्त्रीका रूपमा गर्ने पाँच पाँचवर्षे कार्ययोजनासमेत अघि सारेका छन् ।

कांग्रेसमा संसदीय दलका नेता नै प्रधानमन्त्री हुने अभ्यास धेरै अघिदेखि छ । काठमाडौं–४ बाट उम्मेदवारी दिएका महामन्त्री थापाले निर्वाचनमा सफलता मिले संसदीय दलमा आफ्नै पार्टीका सभापति तथा सत्ता गठबन्धनकै कमाण्ड सम्हालेका देउवासँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

प्रधानमन्त्री हुन पार्टीमा संसदीय दलको नेता मुख्य द्वार भएकाले थापाले पार्टीभित्रको शक्ति सन्तुलनलाई भन्दा देउवासँगको प्रतिस्पर्धालाई अर्थपूर्ण ठानेका छन् ।

‘पार्टीभित्रको अंक गणित अनुकूल, प्रतिकूल कस्तो हुन्छ, त्यसको मतलब राखेको छैन । नभए पनि विस्तारै अनुकूल बन्दै जान्छ । म यसै पटक नेतृत्व बदल्न पर्याप्त हस्तक्षेप गर्ने गरी अघि बढ्छु । पछि हट्दिनँ,’ थापाले भने ।

अहिलेको नेतृत्वबाट सुशासन, समुन्नति र समृद्धिको आशा गर्न नसकिने भएकाले आफूले हस्तक्षेप गर्न चाहेको महामन्त्री थापा बताउँछन् ।

भावी प्रधानमन्त्रीमा थापालाई अघि सार्न अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन जनाइसकेका छन् ।

एमालेमा अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डको विकल्प खोज्ने अरू नेता देखिएका छैनन् । कांग्रेसमा सभापति एवं प्रधानमन्त्री देउवा निर्वाचनपछि छैटौं पटक प्रधानमन्त्री हुने कसरतमा छन् ।

महामन्त्री थापाले आगामी पाँच वर्षमा कार्यकारी प्रमुख बनेर गर्ने कामको खाकासमेत सार्वजनिक गरेका छन्, जसलाई उनले प्रोजेक्ट गभर्मेन्ट नाम दिएका छन्, आजको कान्तिपुर दैनिकमा खबर छ