भ्रष्टाचारी नेता उम्मेदवार बन्न पाउँदैनन् : गगन थापा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भ्रष्टाचारी नेता उम्मेदवार बन्न पाउँदैनन् : गगन थापा



चितवन

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले भ्रष्टाचारीलाई उम्मेदवार बन्न दिनेगरी विधेयक संशोधन हुन नदिने बताएका छन् ।

सोमबार चितवनमा आयोजित गौरीदेवी प्रधानको ८३औं जन्मोत्सवका अवसरमा ज्येष्ठ अभिनन्दन तथा गौरीदेवी प्रधानको व्यक्तित्व र संस्कृति ग्रन्थको विमोचन कार्यक्रममा बोल्दै उनले अदालतले तोकेको समय भुक्तान गरिसकेका भ्रष्टाचारीले उम्मेदवार बन्न पाउनुपर्छ भन्ने पार्टीको कुनै धारणा नरहेको बताए ।

संसदमा कुनैपनि विधेयक प्रस्तुत हुँदै गर्दा त्यो विधेयकमाथि संशोधन हाल्ने सांसदको वैयक्तिक अधिकार रहेको भन्दै उनले भने–‘जतिपनि सांसदले संशोधन हाल्नुभएको छ, त्यो नितान्त उहाँहरुको व्यक्तिगत कुरा हो ।’ उनले चाँडोभन्दा चाँडो विधेयक पारित गर्नुपर्ने बताए ।

विधेयकको दफा १३ (ङ) मा भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौज्दारी कसुरमा सजाय पाइ वा कुनै कसुरमा २० वर्षभन्दा बढीको सजाय पाइ त्यस्तो फैसला भएको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिने व्यवस्था छ ।

कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले गौरीदेवी प्रधानको व्यक्तित्व र संस्कृति ग्रन्थको विमोचन गरेका थिए ।

ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालले आयोजना गरेको सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. केदारभक्त माथेमा, नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठलगायतले नेपाली राजनीतिक आन्दोलनमा प्रधानले खेलेको भूमिकाको चर्चा गरेका थिए । रासस