आज गाईजात्रा मनाइँदैछ - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

आज गाईजात्रा मनाइँदैछ



काठमाडौँ, साउन २४ गते ।

दिवङ्गत भएकाको स्मृतिमा साउन शुक्ल प्रतिपदाका दिन मङ्गलबार गाईजात्रा मनाइँदैछ ।  काठमाडौँका मल्लकालीन राजा प्रताप मल्लका नाबालक छोरा चक्रवर्तेन्द्रको अकल्पनीय मृत्युपछि शोकाकुल रानीलाई सान्त्वना दिँदै हाम्रामात्र होइन, दुनियाँका सन्तानको पनि मृत्यु हुने गर्छ भन्ने सन्देश दिन राजाले वर्ष दिनको आशौच बारिरहेकालाई गाईसहित दरबार परिसरमा आउन उर्दी दिएपछि यसै उर्दीले कालान्तरमा जात्राको स्वरूप धारण गरेको हो भन्ने मान्यता छ ।

विशेषगरी काठमाडौँ मध्य सहरका नेवार समुदायले मृतकको स्मृतिमा विभिन्न झाँकीसहित जात्रा निकाल्दै आएका छन् ।  काठमाडौँमा मृतकको तस्बिरसहित गाईको झाँकी हनुमानढोका दरबार परिक्रमा गर्ने चलन अद्यपि जीवन्त छ ।  नेवारी समुदायमा यो जात्रालाई सापारु (सा भन्नाले गाई र पारु भन्नाले पूर्णिमा) भनिन्छ ।  दिवङ्गत भएकाको स्मृतिमा पुण्यको कामना गर्दै गाईको झाँकीमा आएकालाई चोखो खानेकुरा र भेटी दान गर्दा पितृ मोक्ष हुन्छ भन्ने मान्यता छ ।

भक्तपुरमा यसै दिन ताहामचा भनिने बाँसमा मृतकको तस्बिर गाईको प्रतीक चिह्न टाँसेर नगर परिक्रमा गराई लठ्ठी जुधाएर नाचिने घिन्ताङ्घिसी नाच प्रस्तुत गरेर गाईजात्रा मनाइन्छ ।  पाटनमा पनि बौद्ध धर्मावलम्बीले विहार वा बहाल वही परिक्रमा गरेर यो जात्रा मनाउने चलन छ ।
गौतम बुद्धको ध्यान भङ्ग गर्न आएका मार्को पराजयपछि यो जात्रा गर्न थालिएको हो भनिन्छ ।  यस दिन बौद्ध विहार बहाल वा वही बन्द गर्ने चलन छ ।  मार्माथि विजय पाएको उत्सवमा जात्राको भोलिपल्ट मतःया भनि दीपसहित नगर परिक्रमा गरिने चलन छ ।  कीर्तिपुरमा पनि आफ्नै प्रकारले गाईजात्रा मनाउने गरिएको छ ।  कीर्तिपुरको पाँगामा उत्सवका साथ यो जात्रा मनाइन्छ ।  गाईजात्रामा अभिव्यक्तिको स्वतन्त्रता नभएको पञ्चायत व्यवस्थाकालीन एक समय व्यङ्ग्यात्मक प्रहसन वा लेख रचना प्रकाशन गरेर आफ्ना भाव व्यक्त गर्ने चलन भए पनि यो पातलिँदै गएको छ ।
नेवार समुदाय बसाइँसराइ गरी गएको मुलुकका विभिन्न स्थानमा र यो समुदायको देखासिकी गर्दै अन्य जातजातिले पनि अचेल यो जात्रा मनाउन थालेका छन् ।  पशुपति क्षेत्रमा यसै दिन लाखेनाच प्रस्तुत गरेर जात्रा मनाइँदैछ ।