गण्डकी सरकारमा बबण्डर- मुख्यमन्त्रीको पोल खोल्ने वर्खास्त मन्त्रीको चेतावनी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गण्डकी सरकारमा बबण्डर- मुख्यमन्त्रीको पोल खोल्ने वर्खास्त मन्त्रीको चेतावनी



गण्डकी प्रदेश सरकारबाट हटाईएको भौतिक योजनामन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले राज्यकोष दुरुपयोग गर्न लागेको विषय उठाउँदा आफुलाई मन्त्रीबाट हटाईएको आरोप लगाएका छन् ।

मुख्यमन्त्री नेपालीले जाँदाजाँदै राज्यकोष दुरुपयोगको प्रयास गरेको आरोप लगाएका उनले त्यसको प्रमाण पनि आफुसँग भएको दावी गरेका छन् । ‘मुख्यमन्त्री नेपाली पछिल्लो समय गम्भीर आर्थिक र नैतिक विचलनमा संलग्न भएका छन्’ उनले भने–‘त्यसका प्रमाण मसँग अडिओ, भिडिओ समेत छन्।’

मुख्यमन्त्रीले आफुलाई चित्तवुझ्दो जवाफ नदिए ति प्रमाण आफुले सार्वजनिक गर्ने चेतावनी पनि खड्काले दिएका छन् । मुख्यमन्त्रीले नवलपुरमा १ अर्बको पुलको योजना अघि सारेको र त्यसमा पनि आफूले सहमति नजनाएको बताउँदै खड्काले त्यही आवेशमा आफुलाई मन्त्रीबाट हटाईएको दावी गरे।

‘एउटा प्रस्ताव आउँदै थियो। मसहित २ जना मन्त्रीले असहमति प्रकट ग¥यौं, अहिले मलाई हटाइयो’ खड्काले आज पत्रकार सम्मेलन गरेर भने–‘कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बेगर किन र कसरी हटाइयो?’

निवर्तमान मन्त्री खड्काले निर्वाचन आचारसंहिताको अवधि सकिएपछि पूर्वपदाधिकारीलाई सेवा दिने, डेढ करोडको गाडी किन्ने प्रक्रियाको फाइल क्याबिनेटमा आउने कुरा सुनिएको पनि बताए ।

खड्काले कास्की क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार हुन चाहेका थिए। तर, सो क्षेत्रमा कांग्रेसले अर्का मन्त्री विन्दुकुमार थापालाई टिकट दिएपछि उनी रुष्ट भएका थिए। विन्दुलाई असहयोग गरेको आरोपमा कुमारलाई मुख्यमन्त्रीले मन्त्री पदबाट हटाएको जनाईएको छ। तर, उनले कुनै प्रतिक्रिया जनाएका छैनन् ।