पोखरामा कोरोनाका बिरामी कहाँ जाने: यस्तो छ गण्डकी सरकारको तयारी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पोखरामा कोरोनाका बिरामी कहाँ जाने: यस्तो छ गण्डकी सरकारको तयारी



पोखरा- विश्वभर महामारी बनेको कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारले विभिन्न तयारी गरिरहेको छ ।

यस्तै गण्डकी प्रदेश सरकारले भैपरी आउने समस्यालाई समाधान गर्न पोखराका विभिन्न अस्पतालमा ६० वटा बेड तयारी अवस्थामा राखेको छ।

पोखरामा चिनियाँसहित विभिन्न देशका पर्यटकको बाक्लो उपस्थिति हुने हुनाले यस्तो तयारी गरिएको बताइएको छ ।

आन्तरिक र बाह्य पर्यटकको आवागमन धेरै हुने भएकै कारण उच्च सतर्कता अपनाइएको सरकारले जनाएको छ।

पोखराको चरक अस्पतालमा २७, गण्डकी मेडिकल कलेजमा १५, मनिपाल अस्पतालमा १५ र पोखरा एकेडेमीमा ३ गरी ६० वटा वेड तयारी अवस्थामा राखिएको हो।

यसका अलावा आइएनएफको प्राङ्गणमा टेण्ट राखेरै ५० बेड तयार गर्न लागिएको बताइएको छ। हालः प्रदेश सरकारको सहयोगमा पोखरा विमानस्थलमा विगत एक महिनादेखि हेल्थ डेस्क स्थापना गरी विमानस्थलबाट पोखरा भित्रिने यात्रुहरुलाई ज्वरो, रुघाखोकी जाँच गरिएको छ।

हालसम्म कसैमाथि पनि यो समस्या नदेखिएको हेल्प डेस्कले जनाएको छ।

जोखिमलाई मध्यनजर गरी थप ४ सय ७५ वटा पर्सनल प्रोटेक्ट इक्युपमेन्ट किन्ने तयारी प्रदेश सरकारले गरेको छ।

बेड छुट्याएको अस्पतालहरुका स्टाफलाई अस्पतालमै पुगेर तालिम दिन लागिएको छ। प्रदेश सरकारले उत्तरी नाका कोराला नजिकै मुस्ताङको लोमन्थाङमा समेत हेल्थ डेस्क स्थापना गरी ८ जना कर्मचारीलाई खटाएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सचेतना अपनाउन नागरिकलाई आग्रह गरेको छ।