महात्मा गान्धीको दसैँ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

महात्मा गान्धीको दसैँ



डा. गोबिन्द शरण उपाध्याय

संयोग नै भन्नुपर्छ – एस पटक दसैँको मुखमा विश्वअहिंसा दिवस परेको छ । आज अर्थात् अङ्ग्रेजी महिनाको दोस्रो तारिख – महात्मा गान्धीको जन्म दिन । अहिंसा दर्शनलाई महात्मा गान्धीले जीवनशैली बनाएका थिए । यो पनि संयोग नै भन्नुपर्छ गान्धीको अहिंसा मन पराएर “अहिंसा दिवस”को प्रस्ताव गर्ने एक जना मुस्लिम थिए । मुस्लिममा “शाकाहर” भन्ने हुँदैन । अक्टोबर दुई अर्थात् गान्धी जन्मेको दिन परेर इरानी नोबेल पुरस्कार विजेता सिरिन इडावीले राष्ट्रसङ्घमा “महात्मा गान्धी जन्मेको दिनलाई “अहिंसा दिवस” मनाउन प्रस्ताव गरेका थिए । सन् २००४ देखि विश्वभरि यो मनाइन्छ ।

अक्टोबर महिनाको २ तारिकमा उनी जन्मेका थिए – भारतको गुजरातमा । पछि, दक्षिण अफ्रिकामा वकालत गर्थे । तेहा अङ्ग्रेजहरूले हिंसा गरे । रेलको सिटबाट समान बाहिर फालिदिए । उनीलाई पनि बाहिर निकालिदिए । नेपालीमा भनाई छ – विष नभएको सर्प र इख नभएको मान्छे काम लाग्दैन । गान्धीको मनले इख लियो । उनी भारत फर्के । अहिंसक र हिंसक योद्धाहरू मिलेर सन् १९४७ मा भारत स्वतन्त्र भयो । सन् १९४७ मै अहिंसाका पूजारी गान्धी आफै हिंसाको बलिवेदीमा चढे ।

अष्टमी र नवमीका दिन नेपालीहरूले “पशुवली” दिंदै गर्दा अहिंसा दिवस मनाएको केवल चार दिन बित्ने छन् । मंचमा उभिएर अहिंसा दिवसको बखान गर्नेहरू मध्ये धेरैजसोले “मासुको परिकारमा” रमाइलो गर्ने छन् । कसैले परम्पराका लागि त कसैले “खानका लागि” ठूलो सङ्ख्यामा पशुहरूको हत्या गर्ने छन् । दसैँको पशुहत्या भन्दा लाखौंगुणा बढी पशु बकरिदमा मुस्लिमले मार्छन् । पशुवादीहरूले बकरिदको होइन दसैँ-हिंसाको विरोध गर्छन् । यो देखेर महात्मा गान्धीले के भन्थे ?

नेपालमा वि.स. २०५३ देखि २०६३ सम्म हिंसाको खुवै रजाई भयो । यो अहिंसाको स्रोत जर्मन, भनेजुयेला र चाइना थिए । १८ हजार मान्छेहरू हिंसाको शिखार बने । सन् १९१३ देखि सन् १९४७ सम्म गान्धीले युद्धले निम्त्याएको उन्माद देखेका र भोगेका थिए । स्वतन्त्रता, अधिकार, समानताका लागि गरिएका राजकीय हिंसा अर्थात् युद्धहरूले पीडा बाहेक केही दिएको थिएन । पूँजीवाद र साम्यवादको हिंसामा “मान्छे मात्र होइन, समग्र पृथ्वीनै हिंसामा परेकी थिइन् । मलाई थाहा छैन, नेपालको शान्ति स्थापनामा “अहिंसा दर्शन”को भूमिका छ कि छैन तर यहाँको नेतृत्वले गान्धीको “अहिंसा-मन्त्र” त सम्झेकै हुनुपर्छ ।

महात्मा गान्धीका लागि अहिंसा पहिलो र अन्तिम मूल्य थियो भन्ने कुरा उनले २३ मार्च १९२२ मा छापिएको योंग-इण्डियामा बोलेका छन् । उनका लागि अहिंसा नै युद्ध रोक्ने सबैभन्दा भरपर्दो हतियार हो । असहयोग, वहिष्कार, सत्य निष्ठा, तत्परताआदि यसका सहयोगी हुन् । असलमा, महात्मा गान्धीको अहिंसा दर्शन पूँजीवाद र साम्यवादी हिंसा प्रतिको असहयोग हो । असलमा, महात्मा गान्धी राजनैतिक हिंसाका घोर विरोधी थिए । चाहे तेस्तो हिंसा राज्यसत्ता टिकाउन होस् वा अधिकार खोस्न वा पराधीन बनाउन नै किन नहोस् ।

महाभारत भन्छ – अहिंसा परमो धर्म: अहिंसा नै सबैभन्दा उत्तम धर्म हो । अहिंसाको अर्थ सजिलो छ । सबैले बुझिने प्रकारको छ । तर ब्याख्या आआफ्ना छन् । तर्क आ-आफ्ना छन् । आ-आफ्नो सुविधा विचार्छन् । तेसै अनुसार ब्याख्या गर्छन् । को हिंसक को अहिंसक ? छुट्याउन सजिलो छैन । विवाद यहीं छ । कसैले भन्छन् – अहिंसा असम्भव छ । कसैले भन्छन् – अहिंसा सम्भव छ । केहीले भन्छन् – अहिंसा सापेक्ष छ । हिंसा पनि छ । अहिंसा पनि छ । अहिंसामा हिंसा र हिंसामा अहिंसा मिसिएको छ ।

भारतवर्षमा हिंसा र अहिंसा मासुसंग पनि जोडिएको छ । मासु खानेहरू हिंसक र नखानेहरू अहिंसक बुझ्ने धेरै छन् । वैष्णवहरू मासुको विपक्षमा छन् । शाक्त, शैव र स्मार्तहरू मासुको पक्ष र विपक्ष दुबैतिर छन् । केहीले “वैदिकी हिंसा हिंसा न भवति अर्थात् वेदले तोकेको बलिदान हिंसा हुदैन” भन्छन् । केहीले यो कथन लाक्षणिक हो भन्ने मान्छन् । मासु खानेहरूले यही बाक्यका आधारमा पशुबली दिन्छन् ।

मासु खाने र खाने वीच अनन्त विवाद छन् । विवाद मिलेको छैन । तेसैले हाम्रो नेपाली समाजमा मासु खाने नखाने दूवै वर्गको उपस्थिति छ । न खानेले खाँदैनन् । खानेले छोड्दैन् । एकाध घरमा पनि खाने र नखाने मिलेर वसेका छन् । अनि, काहीं नखानेहरूले मासु खानेहरूको निन्दा गर्छन् । काहीं खानेहरूले नखानेहरूको निन्दा गर्छन् । नेपाली समाज एसैगरी संगै हिंडिरहेको छ । खाने र नखाने वीच युद्ध भएको इतिहास छैन ।

धेरै नेपालीले मासु खान्छन् । पहिलेपहिले बाहुनहरूले खसी-वोका मात्र खान्थे । कुलानी पूजा गर्दा बोकोको वलिदान हुन्थ्यो । नौ दुर्गाको अष्टमीमा बाहुनहरूले बोको बलिदान गर्थे । अहिले पनि गर्छन् । बँदेल, मृग, घोरल, बोकाको मासु पवित्र मानिन्थ्यो । बाहुनले मासु खान्थे त तर कुखुरा वर्जित थियो । आज पनि एस्तो चलन कहिँकहीं जीवन्त नै छ । आधुनिकता र बढ्दो क्रयशक्तिले पवित्र मासु र अपवित्र मासु लगभग विलिन भएको छ ।

महात्मा गान्धी आफैमा शाकाहारी थिए तर उनी मांसहारका विरोधी थिए भन्न सकिन्न । उनको अहिंसा राजनैतिक हिंसा विरुद्ध थियो । अहिंसा र असहयोगको प्रयोग गरेर उनले स्वतन्त्रता प्राप्तिमा योगदान दिए । एउटा धोति, लट्ठी र दुब्लो शरीर भएका बृद्धले तेसवखतको विश्वलाई चकित बनाए । सत्य, अहिंसा, ब्रह्मचर्या, अचौर्य, अपरिग्रह जस्ता नियमहरूको पालन गर्दै एउटा “निस्काम योगी”को पथ स्थापित गरे ।

नेपालमा महात्मा गान्धीको सत्य, अहिंसा तथा असहयोग आन्दोलनको ठूलो प्रभाव परेको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले अङ्ग्रेजी कविता “बापू” लेखेर गान्धीलाई सम्झेका छन् भने कविशिरोमणि लेखनाथले “सत्य-स्मृति” नामक दूईभागको कवितालेखेर श्रद्धान्जली व्यक्त गरेका छन् । तेसैगरी सिद्द्धिचरण श्रेष्ठले पनि कविता मै अभिन्दन गरेका छन् । तेस बाहेक काठमाडौँका रैथाने नेवार “तुलसी मेहर” त झन् महात्मा गान्धीका प्रत्यक्ष शिष्य नै थिए । मेहरले राणाकालमै चर्खागूठी स्थापित गरेर स्वदेशी उत्पादनलाई प्रश्रय दिएका थिए । श्री मेहर नेपाली गान्धीका रूपमा प्रसिद्ध थिए ।

भारतमा गान्धीको सम्मान गर्ने पनि छन्, नगर्ने पनि छन् । गोडसे ठीक छन् कि वेठीक ? निर्णय तेहाका जनताले गरूँन् तर “हिंसा” हिंसा नै हो । ज्यान लिने कसैलाई अधिकार छैन । कविशिरोमणि लेखनाथका शब्दमा “मण्डलीको बीच बाट एउटा पातकी”ले उनको हत्या गर्यो । उनी अहिंसाका पूजारी थिए । उनीमा मानवीय कमजोरी थिए होलान् किनभने उनी मान्छे नै थिए । तर उनले महावीर, बुद्ध, गीता र महाभारतले देखाएको बाटो समाउन भारतवर्षमात्र
होइन विश्वलाई उत्प्रेरित गरे । तेसैले महात्मा गान्धी सम्झन र अपनाउन योग्य छन् ।

विश्व अहिंसा दिवस मनाउँदै गर्दा, हामी मान्छेले दसैँको रमाइलो गर्दा अवोध पशुको हत्या रोकियोस्, मन, बचन तथा कर्ममा अर्को र आफैप्रति कुनै प्रकारको हिंसा नहोस् र हामी नेपालीहरूका वीच सहृदयताको सम्वन्ध विस्तार होस् – भन्ने चाहन्छु । हरेक प्राणीका लागि उसको शरीर नै उसको अस्तित्व हो । उसले आफ्नो प्राकृतिक अस्तित्वको समुचित उपभोग र उपयोग गर्न पाउनुपर्छ । हरेक प्राणी निर्भय भएर बाँच्न पाओस् । आफुसहित अरु पनि निर्धक्कसँग बाँच्न सक्ने वातावारण तयार गर्नुनै अहिंसा हो । नेपाल र नेपालीमा एस्तो भावशक्तिको विकास होस् ।

अन्त्यमा, अहिंसा महात्मा गान्धीको मात्र होइन हामी सबैको जीवन दर्शन हो । हिंसा नकारात्मक जीवनशैली हो जसले नकारात्मकता प्रवाहित गर्छ । महात्मा गान्धीले आफ्नो मौलिक जीवनशैलीमा रहेर अहिंसाको दर्शन विश्वभरि फैलाउन सफल भए । आफ्नो जरोकिलोमा टम्म अडिएर विश्वलाई “सत्य, अहिंसा, ब्रहमचर्या, अस्तेय तथा प्रेमजस्ता संदेश दिए । हामी सबै नेपालीमा दुर्गा-भवानीले एस्तै शक्ति प्रदान गरूँन् । प्राणीमा दया होस् ।