गाण्डु ! « Himal Post | Online News Revolution
Logo

गाण्डु !



-दीपक घिमिरे

फलामको एंगलले बनेको दुई तले बेड माथि सुतेको रनेदाईले मलाई सोधे “ चिया खबुस खान्चस ? ”

जीवनमा पहिलो पटक खबुसको नाम सुने । चिया त गाउँ घरमै खाएको हो , अब यो खबुस चैँ के रहेछ ? एक छिन सोच्दै थिए , रनेदाईले फेरि सोधे “ ओए ! भोक छ कि नाई ? ”

हिजो आउँदा प्लेनमा खाएको एक पोको फ्राई राईसले म अघायको थिएन । एयरपोर्टबाट सिधै रुममा आईपुग्दा रातीको एक बजिसकेको थियो । तै पनि आफ्नो कर्तव्य निभाउदै रनेदाईले उतिबेलै केही खान भनेका थिए । तर मन त्यसै चञ्चल ! न भोक थियो न त तिर्खा । म भोकै सुतेको थिए ।

रनेदाईको दोस्रो प्रश्नको उत्तर दिँदै उल्टै प्रश्न गरे “ खाने त हो तर यो खबुस भन्या के हो रन्दाई ? ”

रुममा सुतेकाहरु सबै गललल हासे , सबै उठेका रहेछन् । एउटै कोठा भित्र चार वटा त्यस्ता एंगल वाला बेड थिए । जस्मा तल माथि गरेर आठ जना सुत्न मिल्थ्यो ।

रनेदाईले हास्दै भने “ बासी रोटी र च्या हो ! खान्चस ? ”

नाई भन्ने कुरै भएन । भोकले लखतरान थिए ।

रनेदाई जुरुक्क उठेर बाहिर गए । सुपो जत्रो रोटी अनि एक गिलास दूध चिया लिएर मलाई दिँदै भने “ ल खा ! यो खाडीमा फिरीमा पाइने यै हो खाजा । ”

हेर्दै अचम्म लाग्ने खबुस देखेर फिस्स हासे अनि चिया र खबुस टन्न खाए ।

यो मेरो पहिलो खानपिन थियो परदेशको । यस्तै खानपिन हो भने ज्यान लाग्ने छाटकाट थिएन तर मैले सोच्या परदेशको खानपिन अर्कै थियो ।

एकै छिन त्यो परदेशको कल्पना गर्न मन लाग्यो । जुन परदेश आउनका लागी म मरिहत्ते गरे ।

सन २००६ मा दुबई छिरेको किस्नेदाईले अस्ति फेसबुकमा कुख्राको सपेटा खादै गरेको फोटो पोष्टिदै लेखेका थिए “ ईटीङ ब्रेक्फास्ट एट केएफसी इन दुबई मल ! ”

अलिसान बिल्डिङमा चट्ट बसेर कुखुराका सपेटा , आलु चिप्स अनि जुस पिउदै गरेका फोटा देखेसी मनमनै सोचे “ वा रे लाईफ ! विदेश त जानै पर्छ यार । ”

त्यति बेला फोटोमा कमेन्ट पनि गर्दिएकै हु “ यस्तो मस्ती छ अनि किन नलागोस त जिउ किस्ने दाइ ! ”

रिप्लाईमा खिस्स हासेका किस्ने दाइ आज पल्लो बेडमा मस्तले सुतेका छन् । मैले चिया र खबुस खाई नसक्दै उनी उठे अनि उन्ले पनि लिएर आए एक माना चिया अनि एउटा खबुस ।

नास्ता या खानाले मलाई परदेशमा लोभ्याएको चैँ पक्कै होइन । यहाँ आउनु मेरा आफ्नै बाध्यता थिए । म खाडी छिर्न लालायित थिए ।

एकातिर मोज मस्ती अनि अर्को तिर टन्न कमाइको एकसुरे सपना हरेक रात देख्न थालेसी म पासपोर्ट बोकेर एयरपोर्टको लाइनमा उभिएको हु । दलालले मलाई बेचेर कति कमायो त्यो सरोकार राख्दिन । मात्र अब मैले कति कमाउछु त्यो मुख्य विषय हो ।

म चिया खबुस खाएर फेरि बेडमै ढले । म ढले सँगै अरू सबै उठे । कोही गीत गाउदै उठे त कोही मोबाइलको आलार्म बन्द गर्दै उठे । जति थिए सबै हतारिदै उठे ।

म सँग फेसबुकमा जोडिएका अरू तीन जना थिए यो रुममा । रनेदाई , किस्नेदाई अलि नजिकका थिए भने बाले र बिस्ने हेल्लो हाईका दोस्त थिए ।

सबै सँग हेल्लो हाई अनि सञ्चो बिसञ्चो भैसकेपछी डिउटीको तयारी सुरु भयो । म पनि पहिलो दिनको डिउटीका लागी तयार हुन थाले ।

वान–पिस वाला लेबर ड्रेस शरीरमा घुसाएपछी सबै लेबर क्याम्प बाट बाहिरियौ । म खुसी थिए , अरू सबै दुखी । बालेले जिस्किदै भन्यो “ साला जिन्दगी पनि परदेशमै जानेभो यार , उठ्यो खायो अनि हिड्यो । अनि फेरि एक्लै सुत्यो सिरानी च्यापेर । ”

सबै गलल हासे । बुट बजाउदै पार्किङमा राखेको बस तर्फ सबै लम्किय ।

टाटा कम्पनीको थोत्रो बस । भित्र फलामका सिट भएका । न झ्यालमा सिसा छन् न त ढोका । यो बस देखेर फेरि एक पटक उहीँ पुरानो याद आयो ।

करिब दुई महिना अघि बिस्नेले फेसबुकमा एउटा फोटा पोष्टेका थिए । कालो मर्सीडीजबेन्ज कारको अघि उभिएर खिचेको त्यो पोस्टको क्याप्सन थियो “ डिप्टी जाँदै ! ”

आज त्यो पोस्ट सम्झिन मन लाग्यो । सम्झिदै खित्का छाडेर हास्न मन लाग्यो ।

थोत्रो बसमा बसेर डिप्टि जाने बिस्नेहरुको यस्तै पोस्टले गर्दापनी मलाई यो खाडीले मोहनी लगाएको थियो ।

बस भित्र बसेर एकैछिन हासो मजाक भए । म चैँ रोमान्चक मुडमै थिए ।

आज मेरो जीवनमा जे हुँदैछ सबै पहिलो पटक हुँदै थियो । ड्राईभर सिटमा बसेका मकवानपुरका तामाङ गुरुले मिठो गीत बजाए “ चालिस कटेसी रमाउला ! ”

यो चालिस कटेसी रमाउला भन्ने कुरा पनि ब्यर्थै जस्तो लाग्छ रे नेपालका एक जना युवा उधमी किरण कार्कीलाई । नाताले मेरो भिनाजु पर्ने किरणले एक दिन भन्नू भो “ पैतिस कटेकै छैन , घर–व्यवहारले च्यापेर तरुनी तिर ध्यान जानै छाड्यो । अझ चालिस कटेसी के हाल होला ? ”

उतिबेला किरण भिनाका कुरा सुनेर मजाले हासेको थिए तर वास्तविक कुरा त्यही हो ।

चालिस कटेसी रमाउला भनेर गायक हेमन्त राना र गीतकार कालीप्रसाद बास्कोटाले परदेशीलाई झुक्याउने काम गरेका रैछन । पैतिस कटेसी रमाउने , मोजमस्ती गर्ने ताकत शरीरबाट फुत्त उडेर गैजान्छ । अनि कुन दैबिय शक्तिले चालिस कटेसी रमाउने हो ? किरण भिनाको यो कुरा कहिल्यै भुल्दैन ।

करिब आधा घण्टा रफ्तारमा कुदेपछि आयो हाम्रो कर्मथलो ।

खाडीमा कर्मको पहिलो दिन ।

पाकिस्तानी फोरम्यानले मेरा गाला मुसार्दै भन्यो “ आदमी चिक्ना हे , काम मजे से कर्ना ! बाकी मे देखलुङ्गा । घबराना मत जानु । ”

उसको गाला मुसार्ने स्टाईल अनि बोल्ने शैलीले म डराए । पछि रनेदाईले भने “ त्यो साला पाकिस्तानी गाण्डु हो ! बचेर काम गरेस , धेरै नजिक नभएस । ”

रनेदाईले के भने मैले बुझेन ।

आफ्नो फोरम्यानलाई गाण्डु भनेको के हो ? बुझ्नै सकेन । उनीहरू सबै यो पाकिस्तानी फोरम्यान सँग डराउदा रैछन । म पनि अलि अलि डराए ।

मेरो हातमा बेल्चा आईपुग्यो अनि रनेदाईले सिमेन्टका ब्लक बोक्दै भने “ खाडीको मस्ती यसैमा छ केटा ! अब रुखमा फल्या पैसा टिप्न सुरु गर । ”

म किच्च हासे , बेल्चाले बालुवा खेलाउदै साथी बाले ले अस्ति फेसबुकमा ‘ इट्स डिउटी टाइम ! ’ भनेर हालेको फोटो सम्झिए ।

लुलु हाईपर मार्केटको अघिल्तिर चट्ट उभिएको फोटो फेसबुकमा पोष्टेको बाले ले सिमेन्टका ब्लक बोकेर तीन तला माथि उक्लिन्छ होला भनेर कल्पना सम्म गरेको थिइन । तर आज आफ्नै आँखा ले देख्न पाए ।

धन्य प्रभु ! बाच्न मात्र पर्छ , अनेक देख्न पाइन्छ ।

आधा घण्टा बेल्चा खेलायपछी म गले , पिउनको लागि पानी नजिकै थिएन । अलि पर जाँदा फोरम्यानलाई सोध्न पर्ने बाध्यता । फोरम्यान यति फटाहा कि उसलाई सबैले गाण्डु किन भन्दा रैछन बल्ल चाल पाए ।

गाण्डु को अर्थ थाहा पाएपछी म थकानमै भएनि हासे । उसको सही नाम जे सुकै होस , हामी नेपाली माझ उ गाण्डु थियो । नेपाली केटाहरुको नजरमा ‘ सबसे बडा गाण्डु ! ’ बनेर बसेको पाकिस्तानी फोरम्यानको हेला अनि पीडा सहदै सुरु भए दैनिकी । जुन दैनिकीमा म हरेक दिन नोट छाप्ने प्रयास गर्दछु ।

बाकी गाण्डु सँगको दैनिकी अर्को हप्ता ।
क्रमशः