स्वतन्त्रहरूले चुनाव जित्नु राम्रो संकेत होइन : अध्यक्ष तिमिल्सिना - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

स्वतन्त्रहरूले चुनाव जित्नु राम्रो संकेत होइन : अध्यक्ष तिमिल्सिना



काठमाडौँ- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलेको निर्वाचनबाट आएको नतिजाले खतरा उत्पन्न गरेको प्रतिक्रिया दिएका छन् । उनले यो नतिजा सुखद् नरहेको संकेत गरेका थिए ।

स्वतन्त्रहरूप्रति आकर्षण बढ्नु राम्रो संकेत नरहेको उनको भनाइ थियो । ‘मंसिर ४ गते सम्पन्न निर्वाचनबाट आएको नतिजा सुखद् छ त ? संघीय लोकतान्त्रिक गणतन्त्र तथा अहिलेको बहुदलीय प्रतिस्पर्धामा दलको विकल्प हुँदैन। स्वतन्त्रप्रतिको आकर्षण बढ्नु राम्रो संकेत होइन,’ तिमिल्सिनाले भने ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष तिमिल्सिनाले, नेपालमा लामो संघर्षपछि प्राप्त उपलब्धिमाथि अहिलेको निर्वाचनको नतिजाले केही खतरा रहेको संकेत देखिएको बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले अहिलेको व्यवस्था जोगाउने दायित्व राजनीतिक दल र बौद्धिक समुदायको पनि भएको प्रतिक्रिया दिएका थिए । यस क्रममा उनले राजनीतिक शुद्धिकरणका लागि बौद्धिक जगतको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

‘सुशासन, भ्रष्टाचार र देशमा भएको बेथिति रोक्नका लागि नेता र राजनीतिक दललाई निष्पक्ष सुझाव दिनुहोला । दलप्रति वितृष्णा बढ्नु राम्रो होइन,’ तिमिल्सिनाले भने । यस्तै उनले अब बन्ने सरकार पनि नयाँ नहुने भन्दै स्वतन्त्र उम्मेदवारहरूप्रति कटाक्ष गरेका थिए ।