पर्यटनका लागि घर- घरमा ‘जय बुद्ध' - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पर्यटनका लागि घर- घरमा ‘जय बुद्ध’



हिमाल पोष्ट / भैरहवा, १३ पुस ।  सबैको घरको भित्तामा एउटै रंग । घरमाथि बुद्धको प्रतिक झन्डा । एकले अर्कालाई सम्बोधन गर्दा जय बुद्ध †भैरहवा केही वर्षभित्रै अहिलेजस्तो प्रत्येक घर फरकफरक रंग र छतमा हुनेछैनन् । राजनीतिक दलका झन्डा पनि घरका छतमा फहरिनेछैनन् । बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न अब भैरहवाको सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान सुरु भएको छ । अभियानअन्तर्गत हरेक व्यक्तिका घरमा बौद्ध झन्डा राख्ने अभियान सुरु भएको छ भने घरका भित्ता र छत पनि बौद्ध संस्कृति झल्कने गरी एकै रंग र स्वरूपमा बनाउन सुरु भएको छ ।

buddha-aviayan-1

बुद्धमय नगरी बनाउन पहिलो चरणमा यहाँको व्यस्त बजार बैंकरोडका घरघरमा बौद्ध झन्डा राख्ने अभियान मंगलबारबाट सुरु भएको हो । बुद्धको जन्मभूमिको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्न अब एकले अर्कालाई भेट्दा नमस्कार या अन्य अभिवादनको सम्बोधनको सट्टा जय बुद्ध भन्नुपर्ने नियम पनि स्थानीयको पहलमा सुरु भएको छ । हाल भैरहवास्थित बुद्धचोकमा बुद्धमूर्ति र लुम्बिनी गेटमा वैदिक सनातन धर्म सेवा समितिले निर्माण गरेको लुम्बिनी गेटबाहेक बुद्धसँग सम्बन्धित अन्य वास्तुकला र प्रचार छैनन् ।

शाक्यमुनि गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारमा रहेको सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियानस्वरूप एउटै रंगका झन्डा र घरमा रंग प्रयोग गर्ने गरी अभियानको थालनी भएको हो । भैरहवा मर्निङवाक ग्रुपको अगुवाइमा केही वर्षभित्रै भैरहवाका मुख्य चोक, बजारमा एउटै रंग र बुद्ध झन्डा हुनेगरी अभियान थालिएको हो । अभियानमा सिद्धार्थनगर नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै अब छिट्टै भैरहवाका सबै आवसीय भवन एउटै रंगका हुनेछन् । ‘सिद्धार्थनगर नगरपालिका गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हो ।सोहीअनुसार भैरहवाको पहिचान र बाहिरी बनावट हुनुपर्छ भनेर यो अभियान सुरु भएको छ,’ सिद्धार्थनगर नगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले भने ।

उनका अनुसार घरहरूलाई एउटै रंग र छतका बनाउन एवं हरेक घरमा बुद्धको झन्डा राख्न नगरवासीलाई प्रोत्साहन गर्ने गरी विशेष कार्यक्रमसमेत तय भएको छ । ‘बुद्ध कुनै धर्म र जात विशेषका नभई साझा भएकाले उनको नगरीलाई पनि बुद्धमय बनाउनुपर्छ भनेर अभियानमा हामीले साथ दिने भनेका हौं,’ रेग्मीले भने ।

प्रवेशद्वारमा बौद्धात्मक झल्किने कुनै क्रियाकलाप नभएको कारण सहरको प्रत्येक घरघरमा बुद्धको झन्डा लगाउने अभियानको थालनी गरेको अभियानका संयोजक ओमकार गौचनले बताए । बुद्ध झन्डा शान्तिको प्रतीक रहेको र सो झन्डा सहरको प्रत्येक घरघरमा राखिएमा जन्मस्थानको प्रवेशद्वार सिद्धार्थनगरमा बौद्धात्मक प्रतीक झल्किने तथा पर्यटनको विकासमा पनि थप टेवा पुग्ने उद्देश्यले अभियानको थालनी गरिएको भैरहवा मर्निङवाक गुप्रका अध्यक्ष विजय सागरले बताए ।

सिद्धार्थनगर नगरपालिकाले नगरमा निर्माण हुने सम्पूर्ण घरमा पहेंलो रंग लगाउनुपर्ने निर्णय गरिसकेको छ । निलो, पहेंलो, रातो, सेतो र कलेजी रंग मिश्रित बौद्ध झन्डालाई प्रचारको प्रमुख माध्यम बनाउँदै यस्तो अभियान सुरु भएको हो । पाँचवटा रंगमध्ये निलोले बुद्धको कपाल, पहेंलोले छाला, रातोले रगत, सेतोले दाँत र कलेजी रंगले बुद्धको कलजोलाई जनाउने भएकाले सो अनुसारको झन्डा प्रयोग हुँदै आएको छ । भैरहवा क्षेत्रका विभिन्न समाजिक संघसंस्था र नागरिक समाजका अगुवाहरूको पहलमा मंगलबार बैंकरोडका घर पसलहरूमा बुद्धको झन्डा राखिसकिएको छ ।