गरिबी निवारण कोषका सातवटा गाडी नै गायब, एक हजार १५ जिन्सी सामान चोरी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गरिबी निवारण कोषका सातवटा गाडी नै गायब, एक हजार १५ जिन्सी सामान चोरी



काठमाडौं । गरिबी निवारणका लागि विश्व बैंक र सहयोगी दातृ निकायबाट आएको २९ अर्ब अनुदानबाट कति गरिबको जीवन उत्थान भयो भन्ने यकिन छैन । कोषले नै आफ्नै कार्यक्रमको अनुगमन गरेको छैन ।

तर, पदाधिकारी र कर्मचारीको जीवन उत्थान भएको मान्न सकिन्छ किनकि कोषको कार्यालयबाट पेनड्राइभ, ल्यापटप, कुर्सी, सोफा, ग्यास सिलिन्डर र हिटरदेखि मोटरसाइकल र गाडीसमेत गायब भएका छन् ।

अनुदानमा आएको २९ अर्बमध्ये १० अर्ब प्रशासनिक काममा खर्च भएको र लगानी भएको भनिएको १९ अर्बको पनि जवाफदेही कोही नभेटिएको भनेर राष्ट्रिय सतर्कता केन्द्रले नै थप छानबिनको सिफारिस गरेको छ ।

केन्द्रको छानबिन समितिले कोषमा भएको बेथिति उजागर गर्दै भनेको छ– कोषको कार्यालयबाट सातवटा गाडीसहित एक हजार १५ जिन्सी सामान नै गायब गरिएका छन् ।

गरिबी निवारण कोषको आव ०६२/६३ देखि ०७४/७५ सम्मको जिन्सी निरीक्षण प्रतिवेदनमा जम्मा दुई हजार चार सय ३१ प्रकारका जिन्सी सामग्री रहेको रेकर्डबाट देखिन्छ ।

तर, तीमध्ये एक हजार १५ सामान कोषबाटै गायब गरिएको ठहर छानबिन समितिको छ । यसरी गरिबको नाममा आएको अनुदानबाट किनिएका चार करोड १४ लाख ७२ हजार दुई सय ४८ रुपैयाँका सामान कसले लग्यो रु यस विषयमा छानबिन समितिले गम्भीर प्रश्न उठाएको छ ।

छानबिनले कोषमा आश्चर्य लाग्ने गरी अनियमितता हुने गरेको उजागर गरेको छ । यतिसम्म कि कोषमा पंखा, टी–टेबल, ह्वाइटबोर्ड, कुर्सी, प्रिन्टर, सोफा, र्‍याक, टेलिफोन, मोबाइल, क्यालकुलेटर, पेनड्राइभ, कम्प्युटर, ल्यापटप, क्यामेरा, ग्यास सिलिन्डर, स्पिकर, हिटरलगायत सामान नै गायब भएको फेला पार्‍यो ।

सतर्कताको प्रतिवेदनअनुसार कोषबाट दुई करोड ३२ लाख ९४ हजार रुपैयाँ मूल्यका गाडीसमेत गायब छन् ।

४३ लाख ९७ हजारका दरले किनिएका दुईवटा हुन्डाई टेरोक्यान जिप, ३६ लाखका दरले किनिएका तीनवटा निसान पिकअप, १८ लाखका दरले किनिएका दुईवटा टोयोटा इको कार गरी सातवटा गाडी कोषबाट गायब भएका छन् ।

त्यस्तै, ९९ हजार नौ सयमा किनिएको यामाहाको एउटा मोटरसाइकल पनि नभेटिएको प्रतिवेदनमा उल्लेख छ । सुवास भट्टले नयाँ पत्रिकामा लेखेका छन् ।