गर्मी लागेपछि कोरोना सङ्क्रमण ह्वात्तै घट्ने - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

गर्मी लागेपछि कोरोना सङ्क्रमण ह्वात्तै घट्ने



काठमाडौं- विश्वभर महामारी बनेको कोरोना सङ्क्रमणले कैयौँ देशहरू आक्रान्त बनेका छन् । बिहीबारसम्म संसारभरका एक लाख २६ हजार तीन सय ८० व्यक्तिहरूमा यसको संक्रमण देखिएको छ भने चार हजार ६ सय ३४ जनाको मृत्यु भएको छ।

विश्व आक्रान्त भैरहेका बेला कोरोनाबारे अध्ययन गरिरहेका विज्ञहरूले खुशीको खबर सुनाएका छन्। विज्ञहरूका अनुसार, गर्मी बढेसँगै कोरोना भाईरसको संक्रमणको गति कम हुनेछ।

हङकङ विश्वविद्यालयका प्याथोलोजिस्ट प्रा.डा. जोन निकोल्सका अनुसार कोरोना भाईरस सूर्यको किरण, तापक्रम र आर्द्रतामा लामो समय बाँच्न सक्दैन। ‘सूर्यको किरणले भाईरसको बृद्धिदरलाई आधा मात्रामा कम गर्छ, त्यसैकारण यो भाईरसलाई मार्न सूर्यको किरण उपयुक्त मान्न सकिन्छ,’ प्रा.डा.जोनले भनेका छन्।

त्यस्तै जर्मनीको प्रायोगिक तथा क्लिनिकल इन्फेक्सन अनुसन्धान केन्द्रका भाइरोलोजिस्ट थोमस पिट्सम्यानले पनि यसमा सहमति जनाएका छन्। ‘धेरै तापक्रममा कोरोना भाईरस बाँच्न सक्दैन। त्यसैकारण तापक्रम बढेलगत्तै यो भाईरसको संक्रमण पनि कम हुँदै जान्छ,’ उनले भनेका छन्।

जोन हप्किन्स विश्वविद्यालयका इपिडेमोलोजी विशेषज्ञ डा.स्टेफन बरालले पनि गर्मी बढेसँगै कोरोना भाइरसको संक्रमण कम हुनेमा आशावादी छन्। उनले बोस्टन हेराल्डसँग भनेका छन्, ‘गर्मी बढेसँगै आफै कोरोना भाइरसको संक्रमण घट्दै जानेछ।’ यो गर्मीमा फैलिन नसक्ने उनको भनाइ छ।

विज्ञहरूले गर्मी बढेसँगै भाईरसको संक्रमणमा कमि आउने भएपनि मौसममा मात्र निर्भर नरहन सल्लाह दिएका छन्। विश्वव्यापी फैलिएको कोरोना भाईरसको रोकथाममा प्रत्येक देशले आ–आफ्नै तरिकाले उपायहरू अपनाउनु पर्ने उनीहरूको भनाइ छ।

नेपाललगायत कतिपय विकासोन्मुख देशहरूमा स्वास्थ्य सेवा पर्याप्त मात्रामा उपलब्ध छैनन्। तसर्थ कुनै पनि देशमा आवश्यक पूर्वाधार बलियो छ वा छैन त्यसमा पनि यो भाईरसको नियन्त्रण निर्भर रहने उनीहरूको भनाइ छ। त्यसैले मौसममा मात्रै निर्भर नरहेर यसको रोकथाम र नियन्त्रणका लागि लाग्नु पर्ने उनीहरूले सुझाएका छन्।

कोरोना भाइरसको संक्रमणलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी महामारी घोषणा गरिसकेको छ। स्वास्थ्य क्षेत्रलाई ध्यानमा राख्दै डब्लूएचओले उच्च जोखिम रहेका पाँच देशमा नेपाललाई पनि राखेको छ।

जर्मनीमा गरिएको एक अनुसन्धानले कोरोना भाइरस २५ डिग्री सेल्सियसमा पनि बाँच्न सक्ने देखाएको छ। सेरामिक र स्टिल सतहमा भने २१ डिग्री सेल्सियसमा समेत पाँच दिनसम्म बाच्न सक्ने जनाएको छ। केही विज्ञहरूले भने कोरोना भाईरस सतहमा रहेपनि यसले मानिसमा भने केही असर नपार्ने बताएका छन्।

हङकङ विश्वविद्यालयका सरुवा रोग विशेषज्ञ डा.मिचेल चि वाइ चानले चिसोमा भन्दा गर्मीमा यसको संक्रमण कम देखिएको बताएका छन्। अहिले चीनभन्दा गर्मी रहेका इन्डोनेसिया, फिलिपिन्स र भारतमा यसको संक्रमण दर कम देखिएको उनको भनाइ छ।

विश्व स्वास्थ्य संघका अनुसार, बिहीबारसम्म इन्डोनेसियामा २६ जनामा संक्रमण देखिएको छ भने एक जनाको मात्रै मृत्यु भएको छ। त्यस्तै, फिलिपिन्समा ४९ जनामा संक्रमण देखिएको छ भने एक जनाको ज्यान गएको छ।

भारतमा ५० जनामा संक्रमण देखिएको भने कसैको पनि ज्यान गएको छैन। उनीहरू पनि संक्रमण फैलिएका देशबा आएका व्यक्ति हुन्। ति व्यक्तिबाट अन्य स्थानीय व्यक्तिमा सरेको पाइएको छैन।

यससँगै व्यक्तिगत सरसफाइ र खानपिनमा ध्यान दिनुपर्ने डा.चानको भनाइ छ। नियमित साबुनले हात धुने, हाछ्यूँ आउदा टिस्यूको प्रयोग गर्ने, संक्रमितबाट टाढा रहने, भीडभाडमा नजाने, सन्तुलित भोजन खाने हो भने कोरोना भाईरसको संक्रमणबाट बच्न सकिने डा.चानले बताएका छन्।