वामदेव गौतमले बोली फेरे - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

वामदेव गौतमले बोली फेरे



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको बोली फेरिएको छ । उनले आफूले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको राजीनामा नमागेको दाबी गरेका छन् । तर सचिवालय बैठक र स्थायी कमिटि बैठकमा भने वामदेवले प्रधानमन्त्री ओलीलाई दुवै पदमा बस्न लायक नभएको भन्दै राजिनामा मागेका थिए।

बुधबार एक टेलिभिजनसँग कुराकानी गर्दै उपाध्यक्ष गौतमले नेकपाभित्र कसैले पनि प्रधानमन्त्रीको राजीनामा नमागेको बताएका हुन् । ‘मैले प्रधानमन्त्रीको राजीनामा मागेको छैन् । र पार्टीबाट कसैले पनि मागेको छैन् । मेरो विषय राजीनामाको होइन’, उनले भने ।

पछिल्लो समय नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, भीम रावललगायतका अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । तर, उपाध्यक्ष गौतमले कसैले पनि प्रधानमन्त्रीको राजीनामा माग नगरेको दाबी गरेका छन् ।

त्यस्तै उपाध्यक्ष गौतमले आफू केपी ओलीको गुटमा नरहेको दाबी गरेका छन् । तत्कालिन एमालेमा उपाध्यक्ष निर्वाचित भएदेखि नै गुटबाट बाहिरिएको बताएका छन् ।

‘म केपीकै गुटबाट नेकपा एमालेको उपाध्यक्षमा निर्वाचित भएर आएको । निर्वाचित भएर आएपछि स्थायी कमिटीको पहिलो बैठकपछि मैले केपीलाई गएर भने– अब म गुटमा छैन् । निर्वाचित हुँदासम्म हामी अलगअलग ठाउँबाट आएका हौं । अब कसैले गुट चलाउनु हुँदैन म कसैको पनि गुटमा छैन् । त्यसबेला देखि आजसम्म म कसैको गुटमा छैन्’, उनले भने ।

त्यस्तै उनले चैतमा नेकपाको महाधिवेशन हुने ठोकुवा गरेका छन् । प्रधानमन्त्री अ‍ोलीले मंसिरमा महाधिवेशनको प्रस्ताव ल्याए पनि चैतमा महाधिवेशन हुने उपाध्यक्ष गौतमले दाबी गरेका छन् ।