गीतसंगीत क्षेत्र हेर्दा जति सहज छ,काम गर्दा त्यति नै गाह्रो छ : सोनु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गीतसंगीत क्षेत्र हेर्दा जति सहज छ,काम गर्दा त्यति नै गाह्रो छ : सोनु



धौलागीरी अञ्चलमा जन्मिएर आज भन्दा करिब नौ / दश वर्ष पहिलाबाट नेपाली गीत सङ्गीतको क्षेत्रमा लागिपरेका गायक, सर्जक पछिल्लो समय निर्देशनमा पनि देखिन थालेका चट्ट मिलेको जिउडाल पछाडि पट्टि हल्ला लामो कपाल पालेका धेरै विधामा हात हाले पनि आफूलाई गायक भन्न रुचाउने प्रेम सापकोटा सोनु हाल रोजगारीको सिलसिलामा जापान छन् ।

प्रस्तुत छ परदेशमा रहेर आफ्नो काम पछिको समय निकालेरै भए पनि गीत सङ्गीतमा सक्रिय देखिँदै आएका सोनु सँग हिमाल पोस्टका लागि समीर प्रकाश पाण्डेले गरेको कुराकानी ।

 प्रेम जी हिमाल पोस्ट डट कममा तपाईँलाई स्वागत छ?
– धन्यवाद, समीर जी।

आज भोलि के मा व्यस्त हुनुन्छ?
– प्रदेशमा छु प्राय त खानाको जोहो गर्न काममै व्यस्त हुन्छु। त्यसपछि गीतसंगीतको काम पनि गरिराछु।

तीज गीतहरू आइरहेको बेला प्रेम सँग जोडिएका कति र कस्ता गीत सुन्न पाउछन् दर्शक श्रोताले यसपालि ? 
– तीज आइसक्यो तर पनि व्यस्तताले गर्दा आफ्नै गीत बजारमा फाल्न सकिरहेको छैन।यति बेला मेरो स्वरमा एउटा मात्र गीत हुन्छ”बच्चाको साथी” ।सँगै मित्र अमृत रेग्मीको शब्दमा रहेको गीत “जहाजैमा चढेर” मा सङ्गीत भरेको छु।जुन गीत अमृत रेग्मी र सम्झना भण्डारीको आवाजमा बजारमा आइसक्यो दर्शक श्रोताहरूले माया गरिरहनुभएको छ।

 परदेशबाटै गीत सङ्गीतमा निकै व्यस्त देखिनु हुन्छ कसरी मिलाउनु हुन्छ समय ?
– गीतसंगितमै त्यति व्यस्त छैन सर। त्यसरी व्यस्त हुने दिन आए त बरु जसो तसो समय मिलाउने थिएँ नि।अहिलेपनि यही काम बाहेकको समय जुन फ्रेस र रमाइलोको लागि हो त्यही समय सदुपयोग गरेर निरन्तरता मात्रै दिएको।

तपाईँ शब्द कोर्नु हुन्छ, सङ्गीत भर्नु हुन्छ गायन त छँदै छ पछिल्लो समय निर्देशनमा नि देखिन थाल्नु भएको छ आफूले आफूलाई के नाम दिन चाहनु हुन्छ ?
– हाहाहा ! नजान्ने  मान्छे धेरै तिर हात हाल्छ अनि जताततै बिग्रिन्छ।त्यसैको फल होला अहिलेसम्म केही बन्न सकेको छैन। तर गायक बन्ने ठुलै सपना छ।

कतिको गाह्रो हुँदो रैछ एउटा गीतलाई पात्र लिएर कथामा ढाल्न ?
– पहिलो त गीत बनाउनै गाह्रो त्यसपछि यो प्रदेशमा गीतलाई पात्रमा उतार्न झन् गाह्रो।आँफुसंग गीतसंगित निर्माणको लागि पर्याप्त सामाग्री नै हुँदैन।सामाग्री जोडेर गरौँ भने यही क्षेत्र मात्र अङ्गाल्न सकिएको छैन ।

 यो क्षेत्रमा प्रवेश गर्दा क्षण सम्झँदा कस्तो लाग्छ? यो स्थानमा अाईएला जस्तो लागेको थियो?
– मैले के स्थान लिएको छु र ? यो क्षेत्र हेर्दा जति सहज छ ,गर्दा त्यति नै गाह्रो।मलाई त लाग्थ्यो यति धेरै मेहनत गर्न पर्दैन होला,यति गर्ने हो भने त चारैतिर चर्चा हुन्छहोला तर वास्तविकता उल्टो रहेछ।

यो क्षेत्रमा लागेर के के पाउनु भो र के गुमाउनु भो ?
– यो क्षेत्रमा लागेर केही मात्रामा दर्शक श्रोता र माया पाएको छु।गुमाउन त्यति धेरै परेको छैन ५-७ लाख दाम बाहेक।

गीत सङ्गीतमा विकृति आयो भन्छन् के कारणले विकृति आए होला ?
– खै कता कसरी आयो र विकृति म त मेसै पाउँदिन।के हो र विकृति भनेको? यस्तो विकृति हो भनेर कसैसँग भनिहालेँ भने विकृति हैन विकसित रूप हो भन्दिन्छन्।आँफु त यो क्षेत्रको  बालकक्षामा भर्ना भएको मान्छे त्यसैले परिभाषा नै थाहा नभएपछि केही बोल्दिन।

अन्त्यमा ..
– अन्त्यमा यो क्षेत्रमा कसैले कसैलाई नगन्नि।अनुजले नमस्कार र सम्मान गरेकै भरमा अग्रज भएर बस्न पाइने,अनुजलाई माया,सल्लाह हौसला दिए घाटा हुन्छ कि भन्ने अग्रजको सङ्कुचित र असन्तुलित सोच ।धेरै बोले नराम्रो भईन्छ।यत्ति कुरा राख्ने अवसर दिनुभयो मन हलुका भयो ।हार्दिक धन्यवाद समीर जी अनि हिमालपोष्ट डट कमलाई।मलाई माया गर्नुहुने मेरा भगवानरुपि मनहरूलाई हार्दिक नमस्कार र सम्मान व्यक्त गर्दै आगामी दिनमा अझै माया पाउनेमा विश्वस्त छु।

https://youtu.be/3DCERtoMdeE