गजल-विजय योजित
उफ्रेर जित्नुपर्ने खेलकाे नियम निकाले
पासाे तयार छ झर्न खुट्टाहरू उचाले ।
थाेत्राे लुगासरी हाे नाता टुटे पछाडि,
देखिन्छ लाज छाेडे टालाे देखिन्छ टाले ।
तालिम दिने महलकै मान्छे रहेछ सायद
संसार के हाे भन्दा पिँजडा भन्याे सुगाले ।
चुपचाप बेचिनेछ बस्तीहरूकाे माटाे
मान्छे तलाउ बन्ने साेचेर खन्नथाले ।
देखिन्छ चाेटजस्ताे लाग्याे झिकेर हेर्दा
छाेपेर राखियाे घाउ घाउमै बरु छुराले ।
मन्दिर पुगेर जुत्ता चप्पल लुकाउनेछन्
फेदी तिरै ज-जसले धुमधाम धूप बाले ।
भन्छन् सबै सुनामी आयाे गजलहरूकाे
तर्साइरहेछ शायर हानेर बाछिटाले ।
-विजय योजित
झापा, हाल दोहा कतार