गजल - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

गजल



मुस्काए ओंठ आफ्नै आँखा रसाइदिन्छ
यस्तो पनि कसैले माया लगाइदिन्छ !!

ऐना दिनेहरू हो के अर्थ लाऊँ मैले ?
दायाँ म हेर्न खोज्छु बायाँ देखाइदिन्छ !!

सन्तुष्टि प्राप्त गर्छिन् काटेर गाँस आफ्नो
आमाको पेट कस्तो ? सित्तै अघाइदिन्छ !!

सोचेर के बुबाले होँचो बनाए ढोका
जाँदा र आउँदा शिर हर्दम झुकाइदिन्छ !!

आँगन छ टेँढो भन्ला नाच्नै नजान्ने मुखले
बोल्ने कला हुनेले आँगन नचाइदिन्छ !!

लालकाजी श्रेष्ठ
धादिङ, हाल: काठमाडौँ