घडेरी किन्दै हुनुहुन्छ ? सक्कली जग्गा र जग्गाधनी यसरी चिनौं - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

घडेरी किन्दै हुनुहुन्छ ? सक्कली जग्गा र जग्गाधनी यसरी चिनौं



काठमाडौं । बहुचर्चित सरकारी जग्गा ललिता निवास प्रकरणको मुद्दा अझै अदालतमा विचाराधीन छ । उच्चपदस्थ व्यक्तिहरूसमेत मुछिएको उक्त घटनामा प्रधानमन्त्री निवास बालुवाटारको जग्गासम्म बेचियो, कतिपय सर्वसाधारण पनि यसमा फसे ।

गत साउनमा मात्रै जाली स्रेस्ता खडा गरी हुँदै नभएको १ रोपनी ६ आना जग्गा ८ पटकसम्म किनबेच भएको घटना बाहिरियो ।

केही वर्षअघि काठमाडौंमा नक्कली जग्गा किनबेचका थुप्रै घटना बाहिरिएका थिए ।

घडेरी किनेर घर बनाउने काम जिन्दगीमा बारम्बार गरिँदैन र जिन्दगीभरको पसिना यसमै परेको हुन्छ । जीवनभरको कमाइ जग्गामा खन्याउँदा हुँदै नभएको जग्गा किनियो र ठगीमा परियो भने आफ्नो पसिना डुब्न सक्ने त छँदै छ, अड्डा अदालत धाउने दुःख पनि भोग्नुपर्ने हुन्छ । यसकारण जग्गा किन्दा मुख्य कुरामा ध्यान दिन जरुरी छ ।

जग्गा खरिद गर्दा सर्वप्रथम त तपाईंले किन्न लागेको जग्गाधनीसँग प्रत्यक्ष भेटेरै कुरा गर्न आवश्यक छ । आफन्त, तेस्रो व्यक्तिसँग नभएर वास्तविक जग्गाधनी पुर्जा भएको व्यक्तिसँग नै भेटेर सबै कागजात जाँच गर्न आवश्यक हुन्छ । जग्गा वास्तविक धनीले बेच्न लागेको हो कि होइन बुझ्नुपर्छ । त्यसपछि जग्गाको लालपुर्जा हेरेर पूर्व, पश्चिम, उत्तर, दक्षिणमा भएको जग्गा, घर एवं बाटोको विवरण, गाउँपालिका/नगरपालिका, वडा नम्बर र जग्गाको कित्ता नम्बर आदि सबैको विवरणको जानकारी लिनुपर्छ ।

जग्गाको कित्ताकाट गर्नुपर्ने छ कि छैन, घरपरिवारमा जग्गाको कोही अंशियारी भए/नभएको बुझेर र कित्ताकाट गर्नुपर्ने÷नपर्नेबारे जानकारी लिनैपर्छ । त्यसपछि मालपोतमा बुझाएको करको रसिद, कर चुक्ता प्रमाणपत्र पनि हेर्न आवश्यक छ ।

जग्गाधनीसँग जग्गा खरिदका लागि कुरा भइसकेपछि तपाईं मालपोत कार्यालय जान आवश्यक हुन्छ । मालपोत कार्यालय गएर खरिद गर्न लागेको जग्गाको मोठ, स्रेस्ता, कित्ता नम्बर, जग्गाधनीको फोटो हेर्नुका साथै तीनपुस्ते विवरणसमेत सही भए/नभएको जाँच गर्नुपर्छ । किन्न लागेको जग्गाको रुजु गराउन जग्गाधनीको लालपुर्जा र नागरिकतासहित मालपोत कार्यालय जानुपर्ने हुन्छ । मालपोत कार्यालयमा अभिलेख जाँच गर्ने क्रममा जग्गा रोक्का भए÷नभएको बुझ्नुपर्छ । यसका साथै जग्गाको नक्सामा भएअनुसार बाटो तथा जग्गाको विवरण, साँधसिमानाको अवस्था आदि मिल्छ/मिल्दैन हेर्न नभुल्नुहोस् ।

यति गरेपछि सबै कुरा ठीकठाक छ भने तपाईंले जग्गा खरिद प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ । जग्गा खरिदका लागि मालपोत कार्यालय जानु अगाडि जग्गाधनीलाई लालपुर्जा, नागरिकता, वडामा वार्षिक कर बुझाएको रसिद, राजीनामा लिखतको कागज र वडाको सिफारिस बोक्न लगाउनुहोस् । याद गर्नुहोस्, यति गरिरहँदा आफ्नो नागरिकता बोक्न भने नबिर्सिनुहोस् ।

(कानुन व्यवसायी अञ्जली पोखरेलसँग आर्थिक अभियानले गरेको कुराकानी )