'घामड शेरे' विवादित, फिल्म चलाउन नदिइने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

‘घामड शेरे’ विवादित, फिल्म चलाउन नदिइने



काठमाडौं । कलाकार तथा निर्देशक आसिफ साहले  शनिबार फिल्म ‘घामड शेरे’ को पोष्टर र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फोटोसँगै राखेर आफ्नो फेसबुक पेजमा पोष्ट गरेपछि विवादमा तानिएका छन् । 

कांग्रेसको शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन देउवा पार्टी कार्यालय पुग्दा नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले नेविसंघ नेतृत्व चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै नारावाजी गरेका थिए । विधान मिचेर देउवाले नेविसंघमा उमेर नाघेका व्यक्तिलाई जिम्मेवारी दिन खोजेकोभन्दै केही व्यक्ति असन्तुष्ट बनेका थिए । सोही समयमा देउवाले आन्दोलनरत विद्यार्थी नेताप्रति आक्रोस पोखेका थिए ।

निर्देशक साहले उक्त तस्बिर र आफ्नो फिल्मको पोस्टरलाई जोडेर शनिबार फेसबुकमा राखेपछि उनको निकै विरोध भएको हो ।

निर्देशक नै गैरजिम्मेवार रुपमा प्रस्तुत हुँदा…

साह फिल्मका निर्देशक हुन् । उनी जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्थ्यो । एक निर्देशकले देशको पूर्वप्रधानमन्त्री भइसकेका व्यक्तिको चरित्र हत्या हुने गरी त्यस्तो पोस्ट गर्नु हुन्थेन ।

कलाकार सबैको साँझा व्यक्ति हो । देउवा पनि कुनै दिन साहको फिल्म हेर्न हल पुग्छन् होला । कलाकारले आफ्नो कलाको माध्यमबाट समाजमा सकरात्मक सन्देश दिने हो । तर, आफ्नो फिल्म चलाउनकै लागि अराजक क्रियाकलाप गर्नु हुँदैन ।

सुदूरपश्चिममा घामड शेरे चल्न नदिने चेतावनी

नेविसंघका सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेताहरूले घामड शेरे सुदूरपश्चिममा चल्‍न नदिने चेतावनी दिएका छन्। 

नेविसंघका निवर्तमान वरिष्ठ केन्द्रीय उपाध्यक्ष पुष्पकुमार शाहीले शुभदिनसँग कुरा गर्दै आफ्नो कलाको माध्यमबाट समाजमा मनोरञ्जन प्रदान गर्नुका साथै सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने कलाकारले देशको विशिष्ट व्यक्तिलाई घामड भनेर स्वयम् आफ्नो घामडता प्रस्तुत गरेको आरोप लगाए । 

उनले साह नसच्चिए उनको फिल्म सुदूरपश्चिममा मात्र नभएर देशै भरी चल्न नदिने चेतावनी दिए । उनले एक कलाकारलाई कसैको व्यक्तिगत चरित्र हत्या गर्ने अधिकार नभएको बताए ।

 यस्तै, नेविसंघ बैतडीका जिल्ला सभापति कपिल केसीले एक स्टाटस लेख्दै फिल्म घामड शेरे सुदूरपश्चिमका कुनै पनि हलमा चल्न नदिने उद्घोष गरेका छन् ।

‘कलाकार जगतको कलङ्क आसिफ शाहले सार्वजनिक रुपमा आममाफी माग्नुपर्छ । होइन भने सुदूरपश्चिमको कुनै पनि हलमा फिल्म चल्न दिइने छैन र सुप प्रवेशमा त्यस्ता कलंकलाई पूर्ण निषेध गरिनेछ । जय नेपाल।’ उनले लेखेका छन् ।