घानाबाट फैलियो अर्को नयाँ भाइरस: निकै खतरनाक भएको पुष्टि - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

घानाबाट फैलियो अर्को नयाँ भाइरस: निकै खतरनाक भएको पुष्टि



काठमाडौं- पश्चिम अफ्रिकी देश घानाले आधिकारिक रूपमा मारबर्ग भाइरसको संक्रमण फैलिएको पुष्टि गरेको छ । यस महिनाको शुरुमा देखा परेको इबोला जस्तै अत्यधिक संक्रामक मारबर्ग भाइरसको संक्रमण दुई जनाको मृत्युसमेत भइसकेको त्यहाँको स्वास्थ्य सेवाले आइतबार जानकारी दिएको हो ।

घानामा गरिएका परीक्षणहरू जुलाई १० मा सकारात्मक देखिएको भए पनि विश्व स्वास्थ्य संगठनका अनुसार केसहरू पुष्टि गर्न सेनेगलको प्रयोगशालाले नतिजाहरू प्रमाणित गर्नुपर्ने थियो ।

‘सेनेगलको डाकारको इन्स्टिच्युट पाश्चरमा थप परीक्षणले नतिजालाई पुष्टि गरेको छ,’ घाना स्वास्थ्य सेवा (जीएचएस) ले एक विज्ञप्तिमा भनेको छ ।

जीएचएसले भाइरस फैलिने कुनै पनि जोखिमलाई कम गर्न काम गरिरहेको बताएको छ । पहिचान गरिएका व्यक्तिहरुको सम्पर्कमा आएका सबै व्यक्तिहरुलाई आईसोलेट गरिएको अहिलेसम्म कसैमा लक्षण नदेखिएको बताइएको छ ।

पश्चिम अफ्रिकामा मारबर्गको यो दोस्रो प्रकोप हो । गत वर्ष गिनीमा पनि संक्रमण फैलिएको थियो ।

मारबर्ग भाइरसले मानिस र घरपालुवा जनावरहरूमा मारबर्ग भाइरस रोग निम्त्याउँछ । एक किसिमको भाइरल हेमोरेजिक ज्वरो निम्त्याउने यो भाइरसलाई निकै खतरनाक मानिन्छ ।