संसद पुनःस्थापना नभए न्यायपालिकामाथि आक्रमण सुरु हुन्छ: भुसाल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

संसद पुनःस्थापना नभए न्यायपालिकामाथि आक्रमण सुरु हुन्छ: भुसाल



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल पक्षका नेता घनश्याम भुसालले संसद् विघटनलाई अदालतले सदर गरे हालको व्यवस्था प्यारालाइज्ड हुने र न्यायपालिकामाथि आक्रमण सुरु हुने बताएका छन् । मंगलबार रुपन्देहीको ड्राइभरटोलमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थायी कमिटी सदस्य भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विधायिकाको हत्या गर्न खोजेकाले अदालतले त्यसलाई सदर गर्न नहुने बताएका हुन् ।

‘संसद् विघटन सदर भयो भने यो व्यवस्था प्यारालाइज्ड हुन्छ र न्यायपालिकामाथि आक्रमण सुरु हुन्छ,’ पूर्व कृषि मन्त्रीसमेत रहेका भुसालले भने । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासँग बदला लिन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले संविधानको रक्षा गर्दै कार्यपालिका र व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने दायित्व अदालतको भएको बताए । ‘संसद् पुनस्र्थापनाले मात्रै संविधान जोगिन्छ र भविष्यमा अर्को केपी ओलीको जन्म हुन्न,’ उनले भने ।

अदालतको स्वतन्त्रता र स्वच्छताका लागि आफ्नो पार्टीले आन्दोलन गरेको उल्लेख गर्दै उनले थपे, ‘कुनै प्रकारको सेटिङले अदालतलाई प्रभावित नगरोस् भन्ने मात्रै हाम्रो आशय हो, सेटिङ नै भएको छ भन्ने दाबी होइन ।’ सिद्धान्त, विचार, दृष्टिकोण र व्यवहारमा ओली समूहभन्दा आफूहरू बेटर र प्रगतिशील रहेको उनले दाबी गरे । भुसालले एमालेको नवौं महाधिवेशनले विचार एउटाको पास गरेर नेता अर्को निर्वाचित गर्दा अहिलेको दुर्घटना भएको पनि उल्लेख गरे ।

अन्तरक्रियामा केन्द्रीय सदस्य ठाकुर गैरेले अहिलेको आन्दोलन संविधान, गणतन्त्र र राष्ट्रियता रक्षाको आन्दोलन भएको बताए । कार्यक्रममा अग्रज पत्रकार बालकृष्ण चापागाईं, प्राध्यापक डा. माधव पन्थी, लेखक ऋषि आजाद, मदनलाल पौड्याल, लीलावल्लभ ढकाल, सिद्धिचरण भट्टराई, पत्रकार माधव नेपाल, शरण कर्माचार्य, भुवन कार्की, गुनाराम घिमिरेलगायतले बोल्दै यसअघिका संसद् विघटन अलोकतान्त्रिक भए पनि संवैधानिक भएको तर यस पटकको विघटन असंवैधानिक र प्रतिगामी भएकाले संयुक्त आन्दोलनमा जोड दिए ।