आयुचोरः सङ्स अफ् मिलारेपा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आयुचोरः सङ्स अफ् मिलारेपा



– कुमार नगरकोटी

समयको कुनै कालखण्डको कुरा हो। हिन्दुहरूको पवित्र ग्रन्थ रामायणबाट केही पात्रहरू होलिडेज सेलिब्रेट गर्न बालुवाको सहरमा आउने भए।
अतिथि गणको आगमनलाई भव्य बनाउन तथा सेवासुविधामा कुनै पनि प्रकारको कैफियत नहोस् भन्ने हेतुले सिटी अफ् स्यान्डका चान्सलर एडोल्फ विचित्रवीर्य क्याल्भिनोले एकनास तालको किनारमा लहरै सत्ताइसवटा अतिथि–गृह निर्माण गर्न लगाए।
सत्ताइस अतिथिहरूको अभूतपूर्व स्वागत भयो। सम्मानमा कुनै पनि सम्झौता गरिएन।
एक दिन देवतुल्य पाहुनाहरूका निम्ति चान्सलरद्वारा एउटा भव्य प्रीतिभोजको आयोजना गरियो। रामायणका गन्यमान्य पात्रहरू आकर्षक पौराणिक वस्त्र, आभूषणहरूद्वारा सुशोभित भई भोजमा सरिक भए।
पात्रदलले धार्मिक ग्रन्थभित्र वर्जित गरिएका मदिरा तथा मांसजन्य परिकारहरूको भरपुर आनन्द उठायो। नर्तकीहरूको कटाक्षपूर्ण नृत्य, कविजनहरूको काव्यधारा तथा सङ्गीत उस्तादको शास्त्रीय राग इत्यादि मनोरञ्जनले पाहुनाहरूको चित्त अपहरण गर्यो।
प्रीतिभोजको अन्त्यतिर चान्सलर एडोल्फ विचित्रवीर्य क्याल्भिनोले पाहुनाहरूलाई एकेकवटा सङ्स अफ् मिलारेपा उपहारस्वरूप प्रदान गरे। पाहुनाहरूले किताबलाई आ–आफ्नो आराम कुर्सीमा बसी रातको तेस्रो प्रहरमा बडो मनोयोगका साथ पढे।
अर्को बिहान अनर्थ भयो। विस्मयकारी घटना घट्यो।
कुर्सीमा पाहुनाहरू थिएनन्। बालुवाको थुप्रो मात्र थियो। थुप्रोमा सङ्स अफ् मिलारेपा नामक किताब थियो। बालुवाको सहरमा होलिडेज मनाउन आएका रामायणका सम्पूर्ण सत्ताइस पात्रगणहरू बालुवामा परिणत भएका थिए।
आफ्ना अतिथिहरूको त्यस्तो अवस्था देखी चान्सलर एडोल्फ विचित्रवीर्य क्याल्भिनो विलाप तथा औडाहामा बेस्सरी छट्पटाए। पवित्र ग्रन्थका पात्रहरूको सामूहिक विनाशमा उनले आफैंलाई दोषी करार गरे।
पात्रहत्याको अभियोग आफ्नो टाउकोमा लिई घोर प्रायश्चितको अग्निकुण्डमा जल्दै चान्सलर एडोल्फ विचित्रवीर्य क्याल्भिनो त्यही बिहान एकनास तालमा झ्वाम्म हामफाले। उनको शरीर कहिल्यै भेटिएन।
पेद्रो चित्राङ्गद विल्सनले बेसिनमा बान्ता गरी फ्याँकेको दुई मग कथा यति नै थियो। नट मोर, नट लेस। बाँकी कथा त उसलाई थाहा नै थियो। उसले मलाई धन्यवाद दियो र आफ्नो अनुहार पखाल्यो।
त्यसपछि ऐनाबाट म गायब भएँ।
पेद्रो चित्राङ्गद विल्सन आफ्ना श्रोतामाझ गयो। वासरुममा धेरै समय गुजारेकोमा क्षमा माग्दै –सङ्स अफ् मिलारेपा– को कथा कहीँ कतै केही नबिराई डिट्टो सुनायो। चान्सलर एडोल्फ विचित्रवीर्य क्याल्भिनो एकनास तालमा झ्वाम्म हामफाल्दाको प्रसङ्ग सुनाउँदा उसलाई कफी पिउन मन लाग्यो।
– गायज्, कमन लेट्स ह्याभ कफी। ओके?– उसले भन्यो।
श्रोताले ओके भने। कफी आउँदै गर्दाको मौका छोपी एउटाले सोधी पठायोः
– सिटी अफ् स्यान्डमा आचोमाको कुनै युवतीसित प्रेम भएन?
– भएन।
– कुनै युवतीले उसलाई मन पराइन?
– पराइन।
– आचोमा दारु खान्थेन?
– खान्थेन।
– मैथुन गर्थेन?
– गर्थेन।
– चुरोट खान्थेन?
– बेसिकल्ली खान्थेन तर गोदाममा पाँच वर्षको कारावासमा चाहिँ खायो। जम्मा छत्तीस हजार चार सय उनान्सयवटा। बाँकी एउटा चुरोटचाहिँ मैले खाइदिएको हुँ। मेयर खालिद शान्तनु मुराकामीको डेड बडीछेउ। लौ कफी पनि आइपुग्नुभयो। एनि क्वेस्चन गायज्? अदरवाइज् कथाको बीचमा मलाई एट एनि कस्ट डिस्टर्ब गर्न पाइने छैन। कथाको लय भत्कन्छ। त्यसो त अहिले पनि डिस्टर्ब गर्न पाइँदैनथ्यो तर अकस्मात् चुरोटको जुठो धुवाँले बान्ता गराइदिएकाले मात्र तपाईंहरूलाई एक्सक्युज गरेको हुँ। लौ त, अब आचोमाको कथा जारी गरूँ क्यारे! ओके?
श्रोताले कोरसमा एकसाथ ओके भने। पेद्रो चित्राङ्गद विल्सन कथा सुनाउन थाल्यो।
साँझपख घरबेटीबाट छुट्टिएर घर फर्कँदै गर्दा आचोमाले एउटा क्लु फेला पार्यो। सङ्स अफ् मिलारेपाको कथामा उसको आगामी योजना सुषुप्त रूपमा नै किन नहोस्, चलमलाएजस्तो लाग्यो। सहरको चरित्र पहिल्याउने उपव्रmममा उसलाई के कुराको प्रत्यक्ष आभास भएको थियो भने नगरबासीहरू पोयट्रीप्रति विशेष अनुराग दर्साउँछन्।
पोयट्री पढ्नु बालुवाको सहरको एक लोकप्रिय फेसन थियो।
एक अकाट्य स्टेटस सिम्बोल थियो। यही स्टेटस सिम्बोलमा टेकेर आचोमाले अब आफ्नो गुप्त योजनालाई साकार रूप प्रदान गर्नु थियो। सामूहिक आयु चोर्नु थियो। एकमुष्ट। एकैपटक। त्यसका निम्ति आचोमासित जम्मा एक वर्ष, एक महिना, एक दिन मात्र बाँकी थियो। यही अवधिभित्र उसले त्यस्तो काम गर्नुपर्ने थियो, जुन तपाईंहरूका निम्ति अल्मोस्ट असम्भव थियो तर आचोमा असम्भव काम गर्न रुचाउने असम्भव प्राणी हो। नपत्याए यत्रैसिति! सुन्दै जानुस्।
आचोमाले आफूलाई काव्यकारिताको साँचोमा ढाल्यो।
कविता लेख्न थाल्यो। काव्यसाधनामा तन्मयसाथ लाग्यो। चुर्लुम्म डुब्यो। काव्यगर्भमा बीजहरू छर्यो, रोप्यो।
बर्सातमा बलेँसीमा तपतप चुहिने अक्षरहरूलाई बाल्टीमा थाप्यो। घाँसहरूमा शीतका दानाहरूलाई छेडेर टुसुक्क उम्रिएका शब्दहरूलाई टिप्यो। पतझडमा वृक्षहरूबाट झर्ने अनुभूतिहरूलाई सँगालेर राख्यो। हिउँदमा फुसफुस झर्न एकान्तका हिमदानाहरूलाई ह्विल ब्यारोमा सङ्ग्रह गर्यो।
प्रत्येक अक्षरहरूमा श्वास भर्यो।
हरेक शब्दहरूमा प्राण भर्यो।
र, अन्तमा एउटा किताब तयार भयो– सिटी अफ् स्यान्ड। एउटा त्यस्तो काव्य सङ्ग्रह, जसलाई उसले मसीले नभई श्वास र प्राणद्वारा लेखेको थियो।
उसले सोच्यो ऊ –सिटी अफ् स्यान्ड– एक सय प्रति मात्र छाप्नेछ। किताबलाई एउटा भव्य समारोहमा विमोचन गर्नेछ। सय जनाले किताब लैजानेछन्।
उता मानिसहरू व्यग्र, अधीर भई किताब पढ्नेछन्। यता घरमा आई उसले आफ्नो ब्रिफकेसबाट आयु बुटी निकाल्नेछ र व्यग्र, अधीर भई बुटीमा ट्रान्सफर भइजाने उनीहरूको आयु नियाल्नेछ।
उता सहरमा कुनै युवती क्याफेमा बसी –सिटी अफ् स्यान्ड– पढ्ने छे। पढ्दापढ्दै अथवा पढ्नासाथ ऊ बालुवाको थुप्रोमा परिणत हुने छे। यता आचोमाको आयु बुटीमा युवतीको आयु ट्रान्सफर हुनेछ। उता क्याफेको बेयराले कुर्सीमा थुप्रिएको बालुवालाई बगैँचामा लगी कन्टेनरमा मिल्काइदिनेछ।
उता कुनै प्रोफेसरले –सिटी अफ् स्यान्ड–लाई ओछ्यानमा सुतेर पढ्नेछ। पढ्दापढ्दै अथवा पढ्नासाथ ऊ पनि बालुवाको थुप्रो बन्नेछ। यता आचोमाको आयु बुटीमा प्रोफेसरको आयु सर्नेछ। उता प्रोफेसरकी कचकचे जहानले बालुवाको थुप्रोलाई तन्नामा बेर्ने छे। घरपछाडि लगी सिमेन्टको मसलासितै बालुवा घोल्ने छे र त्यसबाट एउटा बलियो चर्पी बनाउने छे।
यसैगरी एवम् रीतले ती सम्पूर्ण एक सय जना मानिसहरू बालुवाको थुप्रोमा परिणत हुनेछन् र ती सबैको आयु उसले प्राप्त गर्नेछ। एकमुष्ट। एकैपटक।
तर आचोमालाई आफ्नो यो विचार उति प्रीतिकर लागेन। यसरी आयु चोर्ने काइदा उसलाई त्यति उपयुक्त लागेन। अज्ञात युवती तथा प्रोफेसरप्रति उसमा हठात् दयाको भाव जागृत भयो। नो, दे सुड नट डाई सच अ डेथ एट द कस्ट अफ् अ पोयट्री बुक।
अज्ञात युवती तथा प्रोफेसरप्रति ऊ भावुक भयो। उसमा अनायास करुणा पलायो। त्यसलगत्तै ती सय जना निर्दोष मानिसहरूप्रति ऊ समहाउ गम्भीर भयो। सोचमग्न भयो। ऊ यति घिनलाग्दो कसरी हुन सक्छ? यति व्रmुर काम कसरी गर्न सक्छ? यति निर्दयी र निर्मम हुनु आवश्यकै छ र?
तसर्थ उसले आफ्नो योजनामाथि पुनरावलोकन गर्यो। विचार बदल्यो। उसको मन बदलियो अनि नयाँ सोचमाथि आत्मविमर्श गर्न थाल्यो।
अब आचोमाले आफ्नो आगामी कदम नयाँ योजना मुताबिक चाल्ने भयो। अघिल्लोको तुलनामा यो पछिल्लो योजना केही कम व्रmुर थियो। धेरै सोचविचार तथा क्याल्कुलेसनपश्चात् आचोमा यो निचोडमा पुग्यो कि उसले –सिटी अफ् स्यान्ड– सय होइन, बरु एक सय असी थान छाप्नेछ।

यो पनि हेर्नुहोस् 

भट्टीका साहुजी रक्सी थपिरहन्थे, नगरकोटी लेखिरहन्थे

आचोमाले –सिटी अफ् स्यान्ड– को मूल्य एक महिना राख्यो। मात्र एक महिना। न घटी, न बढी। न कुनै छुट। नो डिस्काउन्ट एट अल। एक महिना आयु तिर्नुस् र किताब पढ्नुस्। सिम्प्ली अ फेयर डिल। क्वाइट अ रिजनेबल प्राइस, इजन्ट इट?
आचोमासित अब जगेडा आयु जम्मा एक हप्ताको मात्र थियो।
यही एक हप्ताको सेकेन्ड लास्ट डेमा आचोमाले दीर्घ प्रतीक्षा गरेको पल उद्घाटित भयो। सिटी हलमा निमन्त्रित स्ट्रिक्टली वान हन्ड्रेड एन्ड असी काव्यप्रेमीहरूमाझ –सिटी अफ् स्यान्ड– को विमोचन भयो। निम्तालु काव्यप्रेमीहरू अधिकांश युवावयका थिए। उनीहरूलाई किताबको मूल्यचाहिँ केही अनौठो तथा उट्पट्याङ लाग्यो।
– कस्तो विचित्र प्राइस! – एउटी युवतीले भनी।
– बडो अनौठो! – अर्की युवतीले भनी।
तेस्री युवतीले भनीः
– समय मूल्य हो। मूल्य समय हो। आफ्नो किताब मूल्यवान् देखाउन कविले रचेको यो एक साहित्यिक स्टन्ट मात्र हो।
चौथी युवतीले भनीः
– हरेक किताबको एक निश्चित आयु हुन्छ। केही किताब चिरायु हुन्छन्, केही किताब अल्पायु। यो किताबको आयु एक महिनाको हुनुपर्छ। कविलाई आफ्नो रचनामाथि विश्वास नभएको उदाहरण हो यो।
सिटी म्युजियमबाट निस्कँदै गरेको भिडमा चार युवतीहरू मिसिए। त्यो भिड –सिटी अफ् स्यान्ड– पढ्दै सडक, गल्ली, फुटपाथ, बस्तीतिर गई तितर–बितर भयो।
आचोमाले घर गई त्यो साँझ आयु बुटी निकाल्यो। बुटीमा एक सय असी जनाको आयु एक महिनाको दरले क्रमशः ट्रान्सफर हुँदै गयो।
आचोमाले बालुवाको शहरबाट जम्मा पन्ध्र वर्षको आयु चोर्यो।
त्यसको भोलिपल्ट उसले एउटा बग्गी भाडामा लियो। घरको ढोकामा ताल्चा झुन्ड्याइदियो र साँचोलाई एकनास तालमा हुर्याइदियो। आफ्ना सामानहरू केही नबोकी आचोमा त्यसपछि उत्तरतर्फको लामो यात्रामा लाग्यो।
(नगरकोटीको पुस्तक ‘घाटमान्डु’ को कथा आयुचोरको एक अंश। घाटमान्डु बुक–हिलद्वारा असोज पहिलो साता सार्वजनिक हुँदैछ।)
source:setopati