घोडाघोडी पर्यटन वोर्डको बदमासी : प्रचारप्रसारको नाममा बिज्ञापन नै नगरी लाखौं झ्वाम ! - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

घोडाघोडी पर्यटन वोर्डको बदमासी : प्रचारप्रसारको नाममा बिज्ञापन नै नगरी लाखौं झ्वाम !



दर्ता नभएका मिडियामा पनि बिज्ञापन गरेको प्रतिबेदन पेश’

कैलाली – कैलालीको बृहत घोडाघोडी पर्यटन बिकास बोर्डले प्रचार प्रसारको नाममा लाखौ रुपैयाँ झ्वाम पारेको खुलेको छ । घोडाघोडी तालक्षेत्रको प्रचार प्रसार गर्ने नाममा बिज्ञापन नै नगरी कागजी प्रकृया पुरा गरेर ठुलो रकम घोटाला गरेको फेला परेको हो ।

पर्यटन बिकास बोर्डले मिडियालाई प्रभावमा पार्न दर्ता नभएका अनलाईनहरुमा बिज्ञापन नै नगरी प्रतिबेदनमा बिज्ञापन गरिएको उल्लेख गर्दै लाखौँ रकम निकासा गरिएको हो । घोडाघोडी पर्यटन बिकास बोर्डको गत आर्थिक वर्ष २०७६÷०७७ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत घोडाघोडी ताल क्षेत्रको संरक्षण एमं पर्यटन प्रबद्र्धनका लागि प्रचार प्रसार तथा मिडिया कार्यक्रमका नाममा धनगढी स्थित त्रिशक्ती इभेण्ट एण्ड मिडिया प्रा.लि. लाई १ लाख ९४ हजार ९ सय ९९ रुपैयाँ बुझायो । तर, त्रिशक्तिले केहि मिडियामा बिज्ञापन नै नगरी वोर्डलाई कागजी प्रकृया पुरा गरेर रकम लिएको खुलेको छ ।

घोडाघोडी ताल क्षेत्रको प्रचार प्रसार सामाग्री तयार पारी रेडियो धनगढी, लम्की एफ.एम, कोशेली एफ.एम, काईट्स एफ.एम, दैनिक पत्रिकाहरु समाधान न्युज, हाईवे टाईम्स, अनुमोदन दैनिक तथा अनलाईनमा सुदुरपोष्ट डट कम, सुदुरपत्र डट कम र घोडाघोडी खवर डट कममा प्रकाशन प्रशारण गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ । तर, भुक्तानी लिदा पेश गरिएको कागजातले हाईवे टाईम्स दैनिक र समाधान न्युज दैनिक बाहेक अन्य पत्रिकामा बिज्ञापन नछापिएको पुष्टि गरेको छ ।

रेडियोहरुमा पनि बिज्ञापन प्रसारण पश्चात व्रोडकास्टिङ सर्टिफिकेट दिनुपर्ने प्राबधान रहेको छ । तर, प्रतिबेदनमा उल्लेख गरिएका कुनै पनि रेडियोहरुले बिज्ञापन प्रसारण गरेको भन्दै व्रोडकास्टिङ सर्टिफिकेट दिएका छैनन् ।
यस्तै दर्ता नै नभएको सुदूरपोष्ट डट कम र घोडाघोडी खबर डट कममा बिज्ञापन नै गरिएको छैन । तर, प्रतिबेदनमा भने ती दुबै अनलाइनमा बिज्ञापन गरिएको उल्लेख छ ।

यता पत्रकार महासंघले गरेको अध्यन प्रतिबेदनमा पनि कोरोनाको अति जोखिम अवस्थामा कैलालीका युगअस्त्र दैनिक, अनुमोदन दैनिक, टीकापुर दैनिक र हाम्रो सेती साप्ताहिक पत्रिका बाहेक अन्य पत्रिका प्रकाशित नै नभएको उल्लेख छ । मिडियालाई प्रभावमा पार्न वा मिलोमतो गर्न पर्यटन बोर्डले प्रक्रिया समेत पुरा नगरी हचुवाकै भरमा लाखौ रकम निकासा गरेको बुझिएको छ । तर, बोर्डका उपाध्यक्ष दयाराम चौधरीले भने कुनै मिलोमतो नभएको दाबि गरेका छन । बारम्बार सबै कागजात माग गर्दा समेत उपलब्ध गराईएन । उनले भने, ‘आर्थिक वर्ष सकिनै लागेकाले यसो गरिएको हो ।’