घोडाघोडीमा ४२ क्वारेन्टाइन : १७ सय भन्दा बढीलाई आश्रय - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

घोडाघोडीमा ४२ क्वारेन्टाइन : १७ सय भन्दा बढीलाई आश्रय



विशाल पाण्डेय / कैलाली ।
कोरोना भाइरसको संक्रमण तत्काल रोकथाम हुने अवस्था नआएपछि रोजगारी तथा अध्ययनका लागि भारत गएका नेपालीहरु ठूलो संख्यामा स्वदेश फर्किरहेका छन् ।

स्थानीय तहहरुले क्वारेन्टाइन व्यवस्थापन गरिरहेपनी ठूलो संख्यामा नेपाली भित्रिने क्रम नरोकिएपछि व्यवस्थापनमा समस्या देखिएको छ । यसै क्रममा घोडाघोडी नगरपालिकामा पनि चैत १६ गतेदेखि हालसम्म करिब २१ सय जना मानिसहरु नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा आश्रय लिएका छन् । जसमध्ये आइतबार मध्याह्न सम्म करिब १७ सय भन्दा बढी मानिसहरु क्वारेन्टाइनमा रहेका छन् भने करिब ४ सय जतिको रिपोर्ट नेगेटिभ आएर घर फर्किएका हुन् ।

कोरोनाको जोखिम क्षेत्र बाट आएका आफ्ना नागरिकहरुलाइ सुरक्षीत राख्न र समाजमा भाइरसको संक्रमण फैलीन नदिन नगरपालिकाले ४२ ओटा स्थानमा क्वारेन्टाइन स्थापना गरेको नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले बताए । प्रत्येक वडाहरुमा रहेका सामुदायीक विद्यालयहरुलाइ वडा अध्यक्षको संयोजकत्वमा क्वारेन्टिनका लागि व्यवस्थापन गरिएको नगर प्रमुख चौधरीले बताए । उनले भारतबाट आउने क्रम नरोकिने हुँदा व्यवस्थापन गर्न कठिनाइ भइरहेको जानकारी दिए । उनले भने, ‘दैनिकजसो सीमामा रहेका आफ्ना नागरिकलाई लिन नगरपालिकाले सवारीसाधन पठाउने गरेका छौं ।’ सयौंको संख्यामा मानिसहरू आउँदा क्वारेन्टाइन व्यवस्थापन भने जस्तो गर्न सकेका छैनौं । उनले थपे ,’ त्यै पनि हामी राम्रो व्यवस्थापनमा लागि रहेका छौं ।’

४ सय ४३ जनाको स्वास्थ्य परिक्षण

घोडाघोडी नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा हालसम्म जम्मा ४ सय ४३ जनाको मात्र स्वास्थ परिक्षण गरिएको छ । त्यो मध्य ५२ जनाको पिसिआर प्रविधि बाट परिक्षण गरिएको छ भने ३३८ जनाको र्‍यापिड टेस्ट गरिएको घोडाघोडि नगरपालिकाका स्वास्थ शाखा संयोजक कैलाश कुमार रावतले बताए । जसमध्ये ५३ जनाको स्वाब संकलन गरेर लगिएको र रिपोर्ट आउन बाकी रहेको रावतले बताए । उनले हालसम्म पिसिआर र र्‍यापिड टेस्ट गरि ३ सय ९० जनाको परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको समेत जानकारी दिए । किडको अभाव र पिसिआर बाट स्वाब संकलन गरेर पठाए पनि परिक्षणमा ढिलाइ हुँदा अन्य व्यक्तिहरुको स्वास्थ परिक्षण गर्न ढिला हुने गरेको रावतले बताए ।

४०० जनाको स्वास्थ्य परिक्षणको तयारी

नगरको विभिन्न वडामा संचालनमा आएका क्वारेन्टाइनमा आश्रय लिइरहेका करिब ४ सय जनाको सोमबार स्वास्थ परिक्षण गर्ने तयारी रहेको स्वास्थ शाखा संयोजक कैलाश रावतले बताए । उनले करिब १४ दिनसम्म क्वारेन्टाइनमा राखेर आरडिटि टेस्ट गर्नुपर्ने भएपनी भारतबाट दैनिक सयौंको संख्यामा मानिसहरू आइरहेको हुँदा क्वारेन्टाइन व्यवस्थापनमा समस्या देखिएपछि करिब १० दिन पुगेका मानिसहरुलाई र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) किटबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गरि रिपोर्ट नेगेटिभ आएपछी घरमा एकान्तबास बस्ने सर्तमा घर पठाइने बताए ।