घोडाघोडीमा र्‍यापिड टेष्टमा थप ३६ जनाको रिपोर्ट पोजेटिभ , आइसोलेसन स्थापना - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

घोडाघोडीमा र्‍यापिड टेष्टमा थप ३६ जनाको रिपोर्ट पोजेटिभ , आइसोलेसन स्थापना



विशाल पाण्डेय / सुखड ,कैलाली ।
घोडाघोडी नगरपालिकामा थप ३६ जनाको रिपोर्ट पोजिटिभ आएको छ । शुक्रबार नगरका विभिन्न वडामा भएको र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) मा ३६ जनाको रिपोर्ट पोजिटिभ आएको घोडाघोडी नगरपालिकाका अहेव मानबहादुर बोहराले बताए । यो संगै घोडाघोडीमा आरडिटि पोजेटिभ देखिनेको संख्या ५२ जना पुगेको छ ।

भारतबाट आइ क्वारेन्टाइनमा आश्रय लिइरहेका वडा नं ३, ४ , ५ , ६ ,८ ,९ मा गरि शुक्रबार ४५५ जना मानिसहरूको
आरडिटि परिक्षण गर्दा ३६ जनाको रिपोर्टि पोजेटिभ आएको हो भने यसअघि ३ सय ७१ जनाको आरडिटि प्रविधि बाट कोरोना परिक्षण गर्दा १६ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका अहेव बोहराले हिमाल पोस्टलाई बताए ।

आरडिटीमा रिपोर्ट पोजेटिभ आएका सबैलाई घोडाघोडी क्याम्पसमा अलग्गै क्वारेन्टाइनको व्यवस्थापन गरि राखिएको र चाडै नै पिसिआर रिपोर्टको लागि स्वाब संकलन गरिने घोडाघोडी नगरपालिकाका स्वास्थ शाखा संयोजक कैलाश कुमार रावतले बताए ।

आइसोलेसनको स्थापना

घोडाघोडी नगरपालिकाले आईसोलेशन वार्डको स्थापना गरेको छ । नगरपालिकाले घोडाघोडी बहुमुखी क्याम्पसमा आईसोलेशन वार्डको रुपमा सोमबार स्थापना गरेको हो ।

सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै स्थानिय तहमा आईसोलेशन वार्डको स्थापना गर्न निर्देशन समेत दिएको थियो । सोही निर्देशन अनुसार नगरपालिकाको विपद् व्यवस्थापन समितिले घोडाघोडी बहुमुखी क्याम्पसमा २० बेडको आईसोलेशन वार्ड स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक कैलाश कुमार रावतले जानकारी दिए ।

पिसिआर रिपोर्टमा पोजेटिभ देखिएपनि स्वास्थमा केहिपनी लक्षण नदेखिएको र स्वास्थ्यमा समस्या नभएकाहरुलाई राख्नको लागि सिसि क्यामरा सहितको आइसोलेसन निर्माण गरिएको रावतले बताए । उनले बिहिवार पिसिआरमा पोजेटिभ देखिएका ३२ वर्षिय पुरुषलाई पनि त्यहीँ राखेको जानकारी दिए ।

६१ क्वारेन्टाइनमा ३१ सय भन्दा बढी

कोरोना भाइरसको संक्रमण तत्काल रोकथाम हुने अवस्था नआएपछि रोजगारी तथा अध्ययनका लागि भारतबाट फर्किएका नागरिकहरुलाई राख्नको घोडाघोडी नगरपालिकाले नगरका ६१ ठाउँमा क्वारेन्टाइन संचालनमा ल्याएको छ ।

नगरका विभिन्न वडामा गरि शनिबार मध्याह्न सम्म ३१ सय ३० जना जना मानिसहरु नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा आश्रय लिइरहेको नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले जानकारी दिए । उनले मानिसहरू भारतबाट आउने क्रम नरोकिएको हुँदा व्यवस्थापन गर्न कठिनाइ भइरहे पनि राम्रो व्यवस्थापनका लागि आफुहरु लागिपरेको बताए ।