घोडाघोडी बहुमुखी क्याम्पसलाई क्यूएए प्राप्त - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

घोडाघोडी बहुमुखी क्याम्पसलाई क्यूएए प्राप्त



कैलाली । घोडाघोडी नगरपालिका- १ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसलाई विश्व विद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता प्रमाण पत्र (क्यूएए) प्रदान गरेको छ । विश्व विद्यालय अनुदान आयोगले घोडाघोडी क्याम्पस लाई सोमबार एक समारोहका बीच (क्यूएए) प्रमाणपत्र प्रदान गरेको हो ।

गुणस्तर सुनिश्चितता प्रमाण पत्र प्राप्त गरे पछि घोडाघोडी क्याम्पसमा आवश्यक भौतिक पूर्वाधार तथा सुविधा हुनुका साथै गुणस्तरीय पढाई तथा शैक्षिक क्रियाकलाप हुने कुरा लाई प्रमाणित गरेको छ । बि.स. २०६२ सालमा सामुदायिक क्याम्पसको रुपमा स्थापित यस क्याम्पसले गुणस्तरीय तथा दक्ष जनशक्ति उत्पादनमा योगदान दिंदै आएको छ । क्यूएए पाउनका लागि क्याम्पसले नीति तथा प्रक्रिया, पाठ्यक्रम, अध्ययनअध्यापन तथा मूल्याङ्कन, अनुसन्धान, परामर्श तथा विस्तार, पूर्वाधार तथा सिकाई स्रोत, भौतिक सुविधा तथा पाठ्य सामग्री, विद्यार्थी माग निर्देशन, सूचना प्रणाली र जनसम्पर्क गरी आठ शीर्षकमा आफूलाई अब्बल साबित गरेको छ ।

विश्व विद्यालय अनुदान आयोग (युजीसी)ले यस अघि घोडाघोडी बहुमुखी क्याम्पसको प्रिभिजिट गरेर सुधार गर्नुपर्ने केही कामहरु औंल्याएको थियो । प्रध्यापक डा. चन्द्रलाल श्रेष्ठले नेतृत्वको युजीसीको अनौपचारिक निरीक्षण कमिटिले क्याम्पसको स्थलगत अनुगमन गरेको थियो ।

डाक्टर भिम प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिती प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरी , प्रदेश सांसद अमर साउद ,घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो । घोडाघोडी क्याम्पससंगै अन्य दुईवटा क्याम्पसले क्यूएए प्राप्त गरेका छन् । जसमा म्याग्दी बहुमुखी क्याम्पस म्याग्दी र मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस रामेछाप रहेका छन् ।