घोडाघोडीमा सामुदायिक विद्यालयको अनुगमन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

घोडाघोडीमा सामुदायिक विद्यालयको अनुगमन



विशाल पाण्डेय / घोडाघोडी ।
घोडाघोडी नगरपालिकाका दुई सामुदायिक विद्यालयको अनुगमन गरिएको छ । वडा नं १ लक्ष्मिपुरमा रहेको कपिलमुनी आधारभुत विद्यालय तथा वडा नं ८ पशुपतिनगरमा रहेको जनप्रगतिशिल आधारभुत विद्यालयको मंगलबार संयुक्त रूपमा अनुगमन गरिएको हो ।

वडा नं १ लक्ष्मिपुरमा रहेको कपिलमुनी आधारभुत विद्यालयले प्रारम्भिक कक्षा कार्यक्रम अन्तरगत सहयोग रकम पाएको विद्यालय हो भने वडा नं ८ पशुपतिनगरमा रहेको जनप्रगतिशिल आधारभुत विद्यालय प्रारम्भिक कक्षा कार्यक्रम अन्तरगत सहयोग रकम नपाएको विद्यालय हो ।

विद्यालयमा पढाई शिक्षा कार्यक्रम लागु भएपछि विद्यार्थी,शिक्षक तथा अभिभावकमा के कस्ता परिवर्तन भएको छ भन्ने जानकारी लिनको लागी अनुगमन गरिएको घोडाघोडी नगरपालिकाका विद्यालय निरीक्षक उमेश राज रेग्मीले बताए । उनले प्रारम्भिक कक्षा कार्यक्रम लागू भइ सहयोग गरिएको विद्यालय र सहयोग नगरेको विद्यालयमा शैक्षिक स्तर के कस्तो छ भन्ने अवलोकन गर्नको लागि अनुगमन गरिएको बताए । साथै रेग्मीले कपिलमुनी आधारभुत विद्यालयलाई नमुना विद्यालय छनोट गर्नको लागि नगरपालिकाले ५ लाख रकम सहयोग गरेको समेत बताए ।

अनुगमनका क्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले प्रत्येक बर्ष सबै भन्दा बढी शिक्षा क्षेत्रमा बजेट बिनियोजन गरिएको बताए । घोडाघोडी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गर्ने तयारी भएको नगर प्रमुख चौधरीले बताए । नगरपालिकाले शिक्षा क्षेत्रमा बढी लगानी र राम्रो व्यवस्थापन गरेको हुँदा परिणाम पनि राम्रो आउने अपेक्षा गरेको चौधरीले बताए । बालबालिकाको शिक्षाको लागि विद्यालय र शिक्षकले मात्र नभई बढी समय अभिभावकहरुले बिशेष ध्यान दिनु पर्ने समेत नगर प्रमुख चौधरीले बताए ।

कपिलमुनी आधारभुत विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष पुर्ण बहादुर बिष्टले प्रारम्भिक कक्षा कार्यक्रम लागू गरेपछि विद्यालयमा धेरै नै सुधार भएको बताएका छन् । विद्यालयमा डिजिटल प्रविधिबाट पढाई हुँदा समयमै विद्यार्थी तथा शिक्षकहरु विद्यालय पुग्ने गरेको बताउदै अध्यक्ष बिष्टले बालबालिकालाई अभिभावकले घरमा पढ्ने बाताबरण मिलाए मात्र बालबालिकाले राम्रो संग पढ्ने बताए ।

त्यस्तै वडा नम्बर ८ पशुपतिनगरमा रहेको जनप्रगतिशिल आधारभुत विद्यालयको अनुगमनको क्रममा विद्यालयमा बालबालिकाहरुको शिक्षा प्रती शिक्षक तथा अभिभावकहरु खासै गम्भीर भएर नलागेको पाइएको छ । विद्यालयका प्रअ लक्ष्मी ओझाले विद्यालयमा शिक्षकहरुबाट नै केही गल्ती भएको स्वीकार गरिन । उनले शिक्षकले मात्र पढाएर बालबालिकाले ज्ञान हासिल गर्न नसक्ने बताइन् । विद्यालयमा सिकेका कुराहरु घरमा अभिभावकले चासो देखाएर पढाए मात्र बालबालिकाहरुले राम्रोसंग पढ्ने बताइन् ।

प्रारम्भिक कक्षा पढाई कार्यक्रम कक्षा १ देखी ३ सम्म पढ्ने सम्पुर्ण विद्यार्थीको पढाई सीप सुधार गर्नको लागी यु.एस.आई.डी नेपालको आर्थिक सहयोगमा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयद्धारा संचालित पाँच वर्षे कार्यक्रम हो । घोडाघोडी नगरपालिकामा रहेका ५१ ओटा सामुदायिक विद्यालय मध्ये करिब १८ वटा विद्यालयमा प्रारम्भिक कक्षा पढाई कार्यक्रमका लागि रकम अनुदान दिइएको छ ।

अनुगमनमा घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा, निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंह, प्रारम्भिक पढाई कक्षा कार्यक्रमका व्यवस्थापक भोज सिंह खड्का, अनुगमन मुल्याङ्कन दस्ताबेज संयोजक दिनेश भट्ट लगायतको उपस्थिति रहेकोे थियो ।