घुस लिएको अभियोगमा तत्कालीन एमालेका सभासद डिबी कार्की पक्राउ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

घुस लिएको अभियोगमा तत्कालीन एमालेका सभासद डिबी कार्की पक्राउ



काठमाडौं– तत्कालीन नेकपा एमाले पार्टीबाट स‌ंविधानसभा सदस्य (सभासद) रहेका डोलबहादुर (डीबी) कार्की पक्राउ परेका छन् ।

घुस लिएको अभियोगमा सर्वोच्च अदालतले ६ महिना कैद र १ लाख जरिवानाको सजाय सुनाइएका कार्कीलाई बिहीबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पक्राउ गरेको हो ।

घुस लिएको अभियोगमा स्याङ्जाका कार्कीलाई सर्वोच्च अदालतले गत असार २४ गते जेल सजयासहित जरिवानाको फैसला गरेको थियो ।

उनलाई काठमाडौंको सतुङ्गलबाट पक्राउ गरिएको व्यूरोले जनाएको छ । पक्राउपछि उनलाई अदालतमा उपस्थित गराइनेछ ।

कार्की पहिलो स‌ंविधानसभामा तत्कालीन नेकपा एमालेको तर्फबाट संविधानसभा सदस्य थिए । उनले नेपाल प्रहरीको निरीक्षक (इन्सपेक्टर) भर्ना गरिदिने भन्दै १ लाख रुपैयाँ घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६७ फागुनमा कार्की र उनका सहयोगी स्वामी ब्रह्मानन्द उदासिनलाई प्रहरीको इन्सपेक्टर बनाइदिन्छु भन्दै पैसा असुलिरहेका बेला १ लाख रुपैयाँ घुससहित र‌ंगेहात पक्राउ गरेको थियो । कार्की काठमाडौंको भिमसेनगोलास्थित आफ्नै घरबाट पक्राउ परेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध १ लाख रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले कार्कीविरुद्ध १ लाख रुपैयाँ जरिवाना र ६ महिना कैदको सजाय सुनाएको थियो ।

विशेषको फैसलाविरुद्ध कार्कीले सर्वोच्च अदालतमा पुनरावलोकन रिट दायर गरेका थिए । पछि सर्वोच्चले पनि विशेष अदालतकै फैसलालाई सदर गरेको थियो ।