गोला प्रथाबाट नेतृत्व चयन गर्दै नेपाली कांग्रेस - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गोला प्रथाबाट नेतृत्व चयन गर्दै नेपाली कांग्रेस



नेपाली कांग्रेसले सहमतिकै आधारमा भदौ २० भित्र अन्तरिम संरचना बनाइसक्ने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अन्तरिम संरचना निर्माणबारे निर्देशिका पारित गरेको छ ।

यसअनुसार अन्तरिम संरचना निर्माणका क्रममा कतै पनि चुनाव हुने छैन, बरु गोला प्रथाबाट नेतृत्व चयन हुनेछ ।

पार्टीलाई संघीय ढाँचामा लैजानका लागि कांग्रेसले संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय समिति, प्रदेश निर्वाचन क्षेत्रीय समिति, स्थानीय तह र वडा तहमा अन्तरिम संरचना बनाउनुपर्छ ।

क्षेत्रीय सभापति चयन गर्दा यदि १३ औं महाधिवेशनबाट चुनिएका एक जना मात्र क्षेत्रीय सभापति छन् भने उनी स्वतः सभापति हुनेछन् ।

यदि दुई वा सो भन्दा बढी क्षेत्रीय सभापति छन् भने कार्यकालको वरिष्ठताका आधारमा चयन हुनेछ ।

कार्यकाल बराबर भए क्षेत्रीय प्रतिनिधि संख्या र त्यो पनि बराबर भए क्रियाशील सदस्य संख्याका आधारमा चयन गरिनेछ । यो पनि बराबर भए गोला प्रथा हुनेछ ।

स्थानीय तहको प्रमुख, केन्द्रका आधारमा छनोट हुनेछ । जुन स्थानमा केन्द्र छ, त्यही तत्कालीन गाविस वा नगरपालिकाका प्रमुख अन्तरिम संरचनाको प्रमुख हुनेछ ।

यसैगरी वडाको हकमा पुरानो गाविस, जेष्ठताका आधारमा अन्तरिम संरचनाको प्रमुख चुनिनेछ । ‘अन्तरिम संरचनाहरु सहमतिकै आधारमा बन्ने भएको छ’ केन्द्रीय सदस्य महेन्द्र यादवले भने, ‘२० भदौसम्म अन्तरिम संरचना बनिसक्छ । २४ भदौबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु हुन्छ ।’