एकैदिन ह्वात्तै घट्यो सुनको मूल्य - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एकैदिन ह्वात्तै घट्यो सुनको मूल्य



काठमाडौं- नेपाली बजारमा बहुमूल्य पहेँलो धातु सुनको भाउ एकैदिन ६ हजार २ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन तोलाका १ लाख १ हजार ६ सय रुपैयाँमा किनबेच भएकोमा बुधबार ९५ हजार ४ सयमा झरेको हो।

गत शुक्रबार हालसम्मकै उच्च विन्द‌ुमा पुगेर सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। पछिल्ला चार दिनमा सुनको भाउ लगातार घटिरहेको छ।

महासंघका अुनसार नेपाली बजारमा छापावाला सुनको भाउ मंगलबार ८ सय, सोमबार २ सय र आइतबार ९ सय रुपैयाँले घटेको थियो। सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा किनबेच भएकोमा आइतबार सुन तोलाको १ लाख २ हजार ६ सय रुपैयाँ भाउ थियो।

महासंघका अनुसार तेजाबी सुनको भाउ बुधबार तोलाको ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन मंगलबार तोलाको लाख १ हजार १ सय, सोमबार १ लाख १ हजार ९ सय र आइतबार १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार तेजाबी सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा किनबेच भएको थियो। चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार बुधबार चाँदीको भाउ तोलाको १ हजार २ सय १० रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदीको भाउ तोलाको ४० रुपैयाँले बढेर १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदीको भाउ तोलाको १५ रुपैयाँले घटेर १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।

चाँदी आइतबार तोलाको १ हजार ४ सय १० रुपैयाँमा किनबेच भएको थियो भने शुक्रबार १ हजार ४ सय ५ रुपैयाँ थियो।