पेसेवर अपहरणकारी समूह र प्रहरीबीच गोली हानाहान - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पेसेवर अपहरणकारी समूह र प्रहरीबीच गोली हानाहान



काठमाडौँ, फागुन २२ गते । 

नयाँबजार खुसिबु टाउनप्लानिङस्थित भ्याली कोल्डस्टोर नजिकै खोला किनारामा शनिबार दिउँसो पेसेवर अपहरणकारी समूह र प्रहरीबीच गोली हानाहान भयो ।  महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले सात जना अपहरणकारीमध्ये अन्दाजी ४० वर्षीय दुर्गाबहादुर तामाङलाई घुँडामुनि तीन राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

अपहरण घटनाका योजनाकारसमेत रहेका तामाङको साथबाट एउटा पेस्तोल र तीन राउन्ड गोली बरामद भएको महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले जानकारी दिनुभयो ।  तामाङ नियन्त्रणमा आएसँगै गत बिहीबार बौद्धबाट अपहरणमा परेका नुवाकोटका मनदोर्जे तामाङ, विशाल तामाङ र आङदोङ तामाङ मुक्त भएका छन् ।  अपहरणकारीले ती तीन जना युवकका आफन्तसँग जनही छ लाख रुपियाँ फिरौती मागिरहेका थिए ।  सात जना अपहरणकारीमध्ये बिहान फिरौती रकम बुझाउने क्रममा ठमेल गल्कोपाखा क्षेत्रबाट दुई जना पक्राउ परेका थिए ।

महाशाखाका अनुसार पक्राउ पर्नेहरूमा सचिन खवास र वीरबहादुर तामाङ छन् ।  ती दुई पक्राउ परेलगत्तै अपहरण घटनाका मुख्य योजनाकार नुवाकोटका माइला लामा पनि पक्राउ परेका छन् ।  लामा गोङ्गबु बसपार्क क्षेत्रमा गुण्डागर्दी फिरौती उठाउँदै आएका गुण्डाका नाइके हुन् ।  उनकै योजनामा आर्थिक विवादमा नुवाकोटकै ती तीन जना युवाको अपहरण गरेको प्रहरीले जनाएको छ ।

गोली खाने र पक्राउ पर्ने चारै जना पेसेवर अपराधी भएको जनाइएको छ ।  महाशाखाका एस्पी कार्कीले भन्नुभयो, यिनीहरू विभिन्न मुद्दामा केही वर्ष जेल सजाय भुक्तान गरी छुटेका व्यक्ति हुन् ।   पक्राउ परेका खवास र तामाङले दिएको बयानका आधारमा महाशाखाका प्रहरी नायव उपरीक्षक अजय केसीको कमान्डमा खटेको विशेष टोलीले तामाङलाई घेरा हाली नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि गोली प्रहार गरी भागेपछि घँुडामुनि गोली हान्नु परेको महाशाखाका एस्पी कार्कीले बताउनुभयो ।

उनको नियन्त्रणपछि बन्धक बनाइराखेका तीन जना भने अपहरणमुक्त भएका थिए ।  घाइते तामाङको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा प्रहरीको सुरक्षा निगरानीमा उपचार भइरहेको छ ।

विभिन्न अपराधमा जेल सजाय भुक्तान गरी छुटेका दुर्गा, खवास र वीरबहादुर तामाङ लगायतको समूहले जेलमा बस्दा नै पैसाका लागि अपहरण लगायत विविध अपराध गर्ने योजना बनाएको भनाइ प्रहरीको छ ।