व्यवसायीमाथि गोली हान्ने अभियुक्त सार्वजनिक - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

व्यवसायीमाथि गोली हान्ने अभियुक्त सार्वजनिक



नौ महिनाअघि भैरहवाका उद्योगी तथा सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेलाई गोली प्रहार गरी हत्याको प्रयास गर्ने अभियुक्तलाई प्रहरीले आइतबार भैरहवामा सार्वजनिक गरेको छ ।
भारतको मोतीहारी जिल्ला, रक्सौल–१ घर भएका ५० वर्षीय अरबिन्द भन्ने बब्लु तिवारीलाई प्रहरीले सार्वजनिक गरेको हो । गत मंसिर २१ गते साँझ न्यौपानेको घरमै गोली प्रहारबाट गरिएको हत्या प्रयासको घटनामा तिवारीकै संलग्नता रहेको दाबी प्रहरीको छ । प्रहार गरिएको गोली भित्तामा लाग्नाले न्यौपाने बचेका थिए ।
तिवारीले दर्जनौं उद्योगी व्यवसायी र सर्वसाधारणलाई मोबाइलबाट धम्क्याएर आतंकित पारेर पैसा असुल्ने र गोली प्रहार गरी हत्याको प्रयास गर्ने गरेको दाबी प्रहरीको छ । प्रहरीका अनुसार, बब्लु तिवारीलाई खोजतलाश गर्ने क्रममा तिवारीले आफूलाई रुपन्देहीमा खोजी भइरहेको जानकारी पाएकाले गत पुस २९ गते लागूऔषधसहित लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले काठमाडौंमा पक्राउ गर्दा अपराधबाट बच्न आफ्नो नाम ठेगाना फरक पारी अरबिन्द यादव लेखाएका थिए ।
यसअघि २०६६ असार २ गते यिनै व्यक्तिमाथि रुपन्देहीमा लागूऔषध र हातहतियारसम्बन्धी मुद्दा चल्दा आफ्नो नाम ठेगाना भारतको महाराजगंज थाना सुनौलीग्राम जुगौली बस्ने बब्लु तिवारी नाम लेखाएका थिए ।

उक्त मुद्दाबाट छुटेपछि तिवारी लागूऔषधको कारोबार, मोबाइलबाट व्यवसायी तथा सर्वसाधारणलाई धम्क्याउने र गोली प्रहार समेत गरेर आतंक मच्चाउँदै पैसा असुल्ने गरेको दाबी प्रहरीको छ ।
रुपन्देहीका एसपी श्याम ज्ञवालीले बब्लु तिवारी नाम लेखाउँदाको र अरबिन्द यादव नाम लेखाउँदाको दुवै कागजको औंलाछाप परीक्षण गर्दा एउटै व्यक्ति भएको पुष्टि भएको बताए ।
थप अनुसन्धान र कारबाहीका लागि उनलाई कारागार कार्यालय जगन्नाथ देवल काठमाडौंबाट भैरहवा ल्याइएको हो ।